Connect with us

SOCIAL

प्राविधिक शिक्षा पढाउने पैसा जुटाउन महायज्ञ गर्दै चाँगुनारायण मावि

Avatar

Published

on

माघ ११ गतेदेखि सुरु हुने सप्ताहव्यापी ज्ञान महायज्ञबारे जानकारी दिँदै चाँगुनारायण माविका प्रअ दधिराम गेलाल । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । जिल्लाको चाँगुनारायण नगरपालिका १ न्यौपानेगाउँस्थित चाँगुनारायण माध्यमिक विद्यालयले सप्ताहव्यापी श्रीमद्भागवत ज्ञान महायज्ञ गर्ने भएको छ ।
विद्यालयमा प्राविधिक शिक्षा पढाउने पैसा जुटाउन उक्त महायज्ञ गर्न लागिएको हो ।
विद्यालयमा सोमबार गरिएको पत्रकार सम्मेलनमा प्रधानाध्यापक दधिराम गेलालले विद्यार्थीहरुलाई समयसापेक्ष प्राविधिक शिक्षा दिने उद्देश्य पूरा गर्न महायज्ञ गर्न लागिएको जानकारी दिए ।
उनले महायज्ञबाट करिब एक करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको सुनाए ।
विद्यालयमा सिभिल, कम्प्युटर र कृषिसम्बन्धी डिप्लोमा इञ्जिनियरिङ कक्षा सञ्चालन गर्ने तयारी रहेको उनको भनाइ थियो ।
प्रअ गेलालका अनुसार विद्यालयसँग २५ रोपनी जमिन रहेको छ । जसमा प्रयोगात्मक कक्षा गराएर कृषि प्राविधिक उत्पादन गर्न सकिने उनको भनाइ थियो । त्यस्तै विद्यालय नजिकै नेपाल इञ्जिनियरिङ कलेज रहेकाले त्यसको सहयोगमा सिभिल तथा कम्प्युटर इञ्जिनियरिङको डिप्लोमा कक्षा सञ्चालन गर्न सकिने भएरै विद्यालयले प्राविधिक शिक्षा कक्षा सञ्चालन गर्ने महत्वाकांक्षी योजना अघि सारेको उनले स्पष्ट पारे ।
‘बढीभन्दा बढी विद्यार्थीहरुलाई विद्यालयमा आकर्षित गर्न प्राविधिक शिक्षासमेत प्रदान गर्ने विद्यालयको लक्ष्य हो’, प्रअ गेलालले भने, ‘प्राविधिक शिक्षाको व्यवस्थाले शिक्षित बेरोजगारको संख्या घट्ने विश्वास गरेका छांै ।’
महायज्ञ यहीं माघ ११ गतेदेखि सुरु हुँदैछ । नेपालका पहिलो राष्ट्रपति रामवरण यादवले उक्त महायज्ञको उद्घाटन गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उद्धव खड्काले जानकारी दिए ।
महायज्ञमा भागवत भास्कर उपाधि पाएका पण्डित माधवप्रसाद कुइँकेलले प्रवचन र उनको समूहबाट संगीतमय प्रस्तुति हुने उनले बताए ।
चाँगुनारायण नपा वडा नं १ का निर्वाचित वडा सदस्यसमेत रहेका खड्काले विद्यालयलाई चाँगुनारायण नपाको नगर स्कुल बनाउन नगरसभामा प्रस्ताव लगेको सुनाए ।
‘माध्यमिक शिक्षासम्मको जिम्मेवारी नगरपालिकामा आएको हुँदा नपाले क्षेत्रगत रुपमा नमुना विद्यालय सञ्चालन गर्नुपर्ने प्रस्ताव नगरसभामा लगेको थिएँ’, उनले भने, ‘तर नगरसभाको ध्यानाकर्षण भएन । शिक्षा र स्वास्थ्य नपाको प्राथमिकतामा परेन ।’
हाल सहरी विकास तथा भवन विभागका महानिर्देशक वरिष्ठ इञ्जिनियर मणिराम गेलाल यही स्कुलका पूर्वविद्यार्थी हुन् । सचिवद्वय महेश्वर न्यौपाने र शिशिर ढुंगाना पनि यसै विद्यालयका उत्पादन हुन् । वरिष्ठ प्रहरी उपरीक्षक दीपक थापाले यहीं स्कुलबाट एसएलसी उत्तीर्ण गरेका थिए । लगानी बोर्डका सदस्य एवं प्राध्यापक परशुराम गेलाल पनि यसै विद्यालयका उत्पादन हुन् ।
कक्षा १२ सम्म पढाइ हुने विद्यालयमा हाल पाँचसय पाँच जना विद्यार्थीहरु अध्ययनरत छन् । अन्य कक्षाको तुलनामा कक्षा ११ र १२ मा कम विद्यार्थी रहेको प्रअ गेलालले बताए ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेपछि सकेसम्म विद्यालय परिवर्तन गर्ने विद्यार्थीहरुको प्रवृत्ति भएकाले ग्रामीण विद्यालयमा कक्षा ११ र १२ चलाउनै हम्मेहम्मे रहेको उनको भनाइ थियो ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com