Connect with us

SOCIAL

खुर्पा प्रहारबाट दुई प्रहरीसहित चार जना घाइते

Avatar

Published

on

File Photo

भक्तपुर । एक युवकले जिल्लाको भक्तपुर नगरपालिका १० पाइपलाइनमा अन्धाधुन्ध खुर्पा प्रहार गरी दुई प्रहरी र दुई महिलालाई घाइते बनाएका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार जाजरकोटको नलगाढ नपा १ बस्ने बर्ष २० वर्षीय रामबहादुर विकले शनिबार अन्धाधुन्ध खुर्पा प्रहार गरेर दुई प्रहरीसहित चारजनालाई घाइते बनाएका हुन् ।
बिकले सुरुमा ओखलढुंगा चम्पादेवी गाउँपालिका १० घर भई हाल भक्तपुर नपा १० कमलविनायक बस्ने ६० की भुनामाया थापा र स्थानीय ४५ वर्षीया राजमती जाकिबन्जारमाथि खुर्पा प्रहार गरेको परिसरका प्रहरी निरीक्षक पञ्चलाल गोलेले जानकारी दिए ।
थापा र जाकिबञ्जारमाथि खुर्पा गरेलगत्तै स्थानीयको सूचनाको आधारमा खटिएको प्रहरीमाथि समेत बिकले खुर्पा प्रहार गरेको प्रहरी निरीक्षक गोले बताउँछन् ।
उनका अनुसार बिकले आफूलाई नियन्त्रणमा लिन खोज्ने प्रहरी हबल्दार जीतेन्द्रप्रसाद यादव र प्रहरी जवान टोलबहादुर श्रेष्ठमाथि समेत खुर्पा प्रहार गरेका थिए । प्रहरी हबल्दार यादव र जवान श्रेष्ठ महानगरीय प्रहरी प्रभाग व्यासीमा कार्यरत रहेका छन् ।
खुर्पा प्रहारबाट घाइते थापाको उपचार काठमाडौंको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा भइरहेको छ । सुरुमा भक्तपुरको मध्यपुर थिमिस्थित मध्यपुर अस्पताल लगिएका उनलाई थप उपचारको लागि नेपाली सैनिक अस्पताल रिफर गरिएको प्रहरी निरीक्षक गोलेले जानकारी दिए ।
त्यस्तै घाइते जाकिबञ्जारको भने मध्यपुर अस्पतालमै उपचार भइरहेको छ । दुई प्रहरी भने सामान्य घाइते भएका थिए ।
प्रहरीले नियन्त्रणमा लिँदा पनि बिकले भक्तपुर नपा १० देकोचास्थित बा २ झ १८५ नम्बरको सीआरभी गाडीमा क्षति पु¥याएका थिए । प्रहरी निरीक्षक गोलेका अनुसार बिकले सीआरभी गाडीको अगाडिको सिसा फुटाउनुका साथै सञ्चार बेस सेटमा समेत क्षति पु¥याएका थिए ।
बिकलाई महानगरीय प्रहरी परिसर भक्तपुरको नियन्त्रणमा राखिएको छ । उनीमाथि थप अनुसन्धानको कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com