Connect with us

SOCIAL

माघ १ गते सम्यक महादान पर्व

Avatar

Published

on

सम्यक महादान पर्वबारे जानकारी दिँदै सम्यक महादान व्यवस्थापन सहयोग समितिका सदस्य देवचन्द्र बज्राचार्य । तस्बिरहरु : ईश्वरकाजी खाइजू

भक्तपुर । भक्तपुरका बौद्ध धर्मावलम्बीहरुले बुधबार माघ १ गते सम्यक महादान पर्व मनाउने भएका छन् । सम्यक महादान बौद्ध धर्मावलम्बीहरुको पञ्चदान पर्वपछि सबैभन्दा ठूलो पर्व हो ।
भक्तपुर नगरपालिका १ स्थित थथुबही जयकीर्ति महाविहारमा भक्तपुरका पाँच दीपंकर बुद्धलगायतलाई भूमिमा उब्जाउ हुने सबै प्रकारका अन्न, गेडागुडी, फलफूल र मिठाइ दान दिने पर्व नै सम्यक महादान हो ।
सम्यक महादान व्यवस्थापन सहयोग समिति भक्तपुरका अध्यक्ष गणेश बज्राचार्यले सम्यक महादानमा धान, चामल, लड्डु (रोटी र सख्खर मिलाई बनाएको विशेष प्रकारको लड्डु) पुरी र दक्षिणासमेत दान गरिने जानकारी दिए ।
समितिले नेवाः पत्रकार राष्ट्रिय दबु भक्तपुर शाखासँगको सहकार्यमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष बज्राचार्यले बौद्ध धर्ममा सम्यक महादान ऐतिहासिक एवं सांस्कृतिक रुपले मौलिक पर्व भएको स्पष्ट पारे ।
‘सम्यक महादान बुद्ध हुने बोधिसत्वहरुमा नभई नहुने दस पारमिता गुणमध्ये प्रथम (दान पारमिता) गुण पुरा गर्ने मार्ग हो’, उनले थपे, ‘सम्यक दानसँगै दस पारमिता चर्या गरी कालान्तरमा दस पारमिता पूर्ण भइसकेपछि बोधिसत्व बुद्ध हुने विश्वास गरिन्छ ।’
उक्त पर्व मनाउन माघ १ गते आउनु एक हप्तादेखि दाताहरुले दानका लागि आवश्यक सामग्रीहरु तयार गरिरहेका छन् । यस वर्ष पालो परेका जुलुमकाजी बज्राचार्यको नेतृत्वमा जयकीर्ति महाविहारमा महादानका सामग्री तयार भइरहेको हो ।
बौद्ध ग्रन्थहरुका अनुसार दाताले परम्परागत रुपमा स्थापना भएका बौद्ध विहारहरुमा दीक्षित भई गृहस्थ बौद्ध भिक्षुहरु शाक्य र बज्राचार्य बन्देहरुलाई भोजन, अन्न र दक्षिणादि दान गर्नु नै सम्यक महादान हो ।
सम्यक महादान पर्व बुद्धको पालादेखि नै चल्दै आएको इतिहास छ ।

‘सम्यक दान बुद्धको पालादेखि नै चल्दै आएको मानिन्छ’, समितिका सचिव रविकिरण बज्राचार्यले भने, ‘तर ऐतिहासिक प्रमाणको रुपमा लिच्छवि राजा वृषदेवको पालादेखि सम्यक दान दिँदै आएको पाइएको छ ।’
उनका अनुसार काठमाडौंमा प्रत्येक १२ वर्षमा एकपटक स्वयम्भूको भुइख्यलमा र ललितपुरमा ५ वर्षमा एकपटक नागबहालमा गरिने सम्यक महादान पर्व भक्तपुरमा भने प्रत्येक वर्ष नियमित रुपमा चल्दै आएको छ ।
भक्तपुरमा प्रत्येक वर्ष हुने सम्यक दानमा सहभागी हुन भक्तपुरलगायत काठमाडौं, ललितपुर, बनेपा, साँखु, ठिमीका सर्वसाधारण र संस्कृतिकर्मीहरु गुँलाबाजा, दाफा भजन, ज्ञानमाला भजन, धाबाजालगायतसहित भेला हुने गरेका छन् ।
सम्यक दानमा भक्तपुरस्थित क्वाठण्डौं प्रशन्नशील महाविहार, साकोठाको चतुब्र्रम्ह महाविहार, गोल्मढीको मङ्गल धर्मदीप विहार, इताछेंको जयकीर्ति महाविहार र भार्वाचोको बौद्ध समकृत विहारका पाँच दीपंकर बुद्ध र प्रशन्नशील महाविहारका क्वाचपाल देवता, सम्यक दान दाताको कूल देवता, थासंद्यो (सूवर्ण चैत्य), चार लुँद्यो (सुवर्ण दीपंकरहरु) तथा प्रशन्नशील महाविहारका स्थविर आजु, गुणकीर्ति महाविहार (ठिमी) का उपाध्याय गुरुजू एवं मूल पुरोहित गुरुजुहरु सहभागी हुँदै आएको सचिव बज्राचार्यले जानकारी दिए ।
सम्यक दानमा दाता परिवारका सदस्य, आफन्तलगायतले आआफ्नो गच्छेअनुसार दान दिने प्रचलन रहँदै आएको छ । यसरी दान प्रदान गर्दा पुण्य प्राप्त हुने तथा बोधी ज्ञानको मार्गमा प्रतिष्ठित गरी निर्वाणमा पु-याउने, राग, द्वेष, लोभ आदि मारगुण नाश गरिदिने जनविश्वास रहँदै आएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com