Connect with us

HEALTH

सकियो दोस्रो राष्ट्रिय आईजी सम्मेलन : चारबुँदे चितवन घोषणापत्र जारी

Avatar

Published

on

एचआईभी संक्रमितहरुको लागि आयआर्जन कार्यक्रमसम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनका सहभागीहरु । तस्बिरहरु : इन डेप्थ

सौराहा (चितवन) । केन्द्रदेखि स्थानीय तहको नीति निर्माण तहमा एचआईभी संक्रमितहरुको सहभागिता सुनिश्चित गर्नुपर्ने मागसहितको चारबुँदे चितवन घोषणापत्र जारी गर्दै दोस्रो राष्ट्रिय आयआर्जन अभिवृद्धि (इनकम जेनेरेसन–आईजी) सम्मेलन सोमबार सकिएको छ ।

राष्ट्रिय एचआईभी एड्स महासंघ नेपाल (एनएपीएन) को संयोजनमा भक्तपुरस्थित सुरुवात सामुदायिक उपचार तथा पुनःस्थापना केन्द्रले आयोजना गरेको सम्मेलनले केन्द्रदेखि स्थानीय तहको नीति तथा कार्यक्रममा जिविकोपार्जनको लागि एचआईभी संक्रमितहरुलाई आत्मनिर्भर बनाउने सीपमूलक तालिम, लघु उद्यमलाई समावेश गर्न माग गरेको हो ।

त्यस्तै तीन तहको सरकारले एचआईभी संक्रमित तथा प्रभावित परिवारको सामाजिक सुरक्षाको प्रत्याभूति गर्नुपर्नेमा सम्मेलनले जोड दिएको छ ।

‘विशेषतः एचआईभी संक्रमित बालबालिका र एकल महिलाहरुलाई आर्थिक तथा  सामाजिक सुरक्षा प्रदान गर्न यो सम्मेलन स्थानीय सरकारहरुसँग जोडदार माग गर्दछ’, सम्मेलनपछि जारी घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रमा आयआर्जन कार्यक्रमले एचआईभी संक्रमितहरुको जिविकोपार्जनसँगै गुणस्तरीय स्वास्थ्य सेवा तथा परिवारको शिक्षादीक्षामा टेवा पुगेकाले यसलाई निरन्तरता दिन आफूहरु प्रतिबद्ध रहेको घोषणा गरेका छन् ।

सम्मेलनमा सहभागी एचआईभी संक्रमितहरुले संक्रमितहरुको पहिचान गरी उनीहरुको क्षमता, रुचि र आवश्यकतानुसार सीपमूलक तथा आयमूलक तालिम दिन माग गरेका छन् । तालिमपछि स्वरोजगार हुन न्यूनतम बीउ पूँजीको रुपमा आर्थिक अनुदान दिनसमेत उनीहरुले जोड दिएका छन् ।

‘सीप र तालिममात्रै भएर गरिब संक्रमितहरुलाई केही उपलब्धि हुँदैन’, उनीहरुको भनाइ थियो, ‘सीप र तालिमअनुसार स्वरोजगार हुन बीउ पूँजीको रुपमा आर्थिक अनुदान दिनु जरुरी छ ।’

सम्मेलनमा भक्तपुर, काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, नवलपरासी, रुपन्देही, कास्की, कैलाली, डडेलधुरालगायतका संक्रमितसँगै राष्ट्रिय एचआईभी एड्स महासंघ नेपालका प्रतिनिधिहरुले आयआर्जन कार्यक्रमबारे आआफ्नो प्रस्तुतीकरण प्रस्तुत गरेका थिए ।

सम्मेलन उद्घाटन गर्दै रत्ननगर नगरपालिकाकी उपप्रमुख विमलादेवी दुवाडीले एचआईभी संक्रमितहरुको सामाजिक तथा आर्थिक सुरक्षाको ग्यारेन्टी दिनुपर्ने स्पष्ट पारिन् ।

एचआईभी संक्रमितहरुको लागि सरकारले निःशुल्क गरेको जीवन बीमा तथा स्वास्थ्य बीमासम्बन्धी सामग्रीसमेत सार्वजनिकीकरण गर्दै उनले रत्ननगरमा पनि एचआईभी संक्रमित भए तिनीहरुलाई नगरपालिकाको सम्पर्कमा ल्याइदिन माग गरिन् ।

‘हामीकहाँ सहयोगको लागि अहिलेसम्म कुनै पनि एचआईभी संक्रमित आएका छैनन्’, उनले भनिन्, ‘त्यसैले कोही छन् भने हाम्रो सम्पर्कमा ल्याइदिनुहोस् । नगरपालिकाले जिविकोपार्जनको लागि सक्दो आर्थिक सहयोग गर्नेछ ।’

एड्स हेल्थकेयर फाउन्डेसन नेपालका राष्ट्रिय कार्यक्रम व्यवस्थापक दीपक ढुंगेलले अरु क्षेत्रमा जस्तै एचआईभी संक्रमतिहरुको हितमा स्थानीय सरकारले मात्रै दिगो र प्रभावकारी कार्य गर्ने सक्ने धारणा राखे ।

राष्ट्रिय एचआईभी एड्स महासंघ नेपालकी उपाध्यक्ष सावित्रा ज्ञवालीले नेपालकै एचआईभी संक्रमितले सगरमाथाको सफल आरोहरण गरिसकेकाले अरु संक्रमितहरु एचआईभी भयो भनेर लुकेर र झुकेर बस्नुपर्ने अवस्था नभएको बताइन् ।

रत्ननगर नपा १० सौराहाका वडा अध्यक्ष केशव आचार्यले नपाले महिलाहरुलाई सीपमूलक तालिमको लागि आह्वान गर्दा एचआईभी संक्रमित कोही पनि नआएको सुनाए ।

सुरुवातका अध्यक्ष उमेश खड्काले एचआईभी संक्रमण भएपछि जीवन नै सकियो भन्नेहरुलाई नियमित औषधि सेवन गरेर अरु सामान्य नागरिकसरह जिविकोपार्जनको कार्यक्रम गर्न सकिन्छ भन्ने नमुना प्रस्तुत गर्न सम्मेलन आयोजना गरिएको स्पष्ट पारे ।

उनले सम्मेलनमा आयआर्जनसम्बन्धी कार्यक्रम गरिरहेका २२ जिल्लाका ५५ जना संक्रमितहरु र तिनका प्रभावित परिवारका सदस्यहरुको सहभागिता रहेको जानकारी दिए ।

सुरुवातका कार्यकारी निर्देशक एवं राष्ट्रिय एचआईभी एड्स महासंघ नेपालका अध्यक्ष राजेश दिदियाले सन् २०१९ सम्म संस्थाले पाँचसय ६ जना एचआईभी संक्रमितलाई आयआर्जनको कार्यक्रमअन्तर्गत कृषि, कुखुरा तथा पशुपालन र ससाना व्यवसाय सञ्चालन गर्न दस हजारदेखि ४० हजारसम्म आर्थिक अनुदान दिएको जानकारी दिए ।

सुरुवातको सानो सहयोगबाट आफ्नो व्यवसाय विस्तार गर्नेहरुको सफलताको कथा र उनीहरुको अनुभव साटासाट गर्न संस्थाले सम्मेलन गर्दै आएको उनको भनाइ थियो ।

संस्थाले एड्स हेल्थकेयर फाउन्डेसन अमेरिका र नेपालको सहयोगमा एचआईभी संक्रमित र तिनको संघसंस्थाले आयआर्जन कार्यक्रम सञ्चालन गर्न आर्थिक सहयोग गर्दै आएको छ ।

नेपालमा २९ हजार नौसय ९४ जना एचआईभी संक्रमित रहेको अनुमान छ । राष्ट्रिय एचआईभी एड्स महासंघका अनुसार एचआईभी संक्रमितमध्ये १७ हजार नौसय ८७ जनाले मात्रै नियमित एन्टीरेट्रो भाइरल औषधि (एआरभी) खाइरहेका छन् । देशभर ८० स्थानमा एआरटी सेन्टर सञ्चालनमा छन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com