Connect with us

HEALTH

एचआईभी संक्रमण ५८ प्रतिशतले घट्यो

Avatar

Published

on

विश्व एड्स दिवसको पूर्वसन्ध्या राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रद्वारा आयोजित पत्रकार सम्मेलनका सहभागी । तस्बिरहरु : ईश्वरकाजी खाइजू

काठमाडौं । नेपालमा एचआईभी संक्रमण नियन्त्रणमा उल्लेख सुधार आएको छ । नयाँ एचआईभी संक्रमणमा ५८ प्रतिशतले कमी आएको हो ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको पूर्वसन्ध्यामा शनिबार पत्रकार अन्तरक्रिया कार्यक्रम गरेर उक्त सुधार आएको जनाएको हो ।
प्रत्येक वर्षको डिसेम्बर १ तारिखमा विश्वभर विभिन्न कार्यक्रम गरी एड्स दिवस मनाइँदै आएको छ । जसअनुसार नेपालमा विभिन्न कार्यक्रम गरी विश्व एड्स दिवस मनाइने भएको छ । यस वर्षको दिवसको नारा ‘एचआईभीको नियन्त्रणमा समुदायको प्रभावकारी भूमिका’ रहेको छ ।
पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डा. अनुज भट्टचनले आठ वर्षको अवधिमा नेपालमा ५८ प्रतिशतले नयाँ संक्रमण घटेको जानकारी दिए ।
विश्वमा नयाँ संक्रमण न्यूनीकरण जम्मा १६ प्रतिशतमात्रै रहँदा नेपालमा भने ५८ प्रतिशतले घट्नु उल्लेखनीय भएको उनको भनाइ थियो ।
‘बच्चाहरुमा भने ७१ प्रतिशतले नयाँ संक्रमणमा कमी आएको छ’, निर्देशक डा. भट्टचनले भने, ‘त्यस्तै दस वर्षको अवधिमा एड्सको कारण मर्नेहरुको संख्या ३८ प्रतिशतले घटेको छ ।’
उनका अनुसार नेपालमा हाल २९ हजार नौ सय ४४ जना एचआईभी संक्रमित रहेको अनुमान छ । जसमा १७ हजार सात सय ३२ पुरुष र १२ हजार दुई सय १२ महिला रहेका छन् । नेपालमा १५ देखि ४९ वर्ष उमेर समूहको जनसंख्यामा एचआईभीको व्याप्ततादर भने ०.१४ प्रतिशत रहेको निर्देशक डा. भट्टचनले जानकारी दिए ।

७६ प्रतिशत एचआईभी संक्रमणको कारण असुरक्षित यौन सम्पर्क


नेपालमा असुरक्षित यौन सम्पर्कका कारण सबैभन्दा बढीलाई एचआईभी संक्रमण हुने गरेको केन्द्रको तथ्यांक छ । तथ्यांकअनुसार एचआईभी संक्रमणमध्ये ७६ प्रतिशत असुरक्षित यौन सम्पर्ककै कारण हुने गरेको छ ।
जसअनुसार जोखिममा रहेका समूहमा एचआईभी संक्रमणदर पाँच प्रतिशतभन्दा बढी रहेको केन्द्रले जनाएको छ ।
नेपालमा रहेका कूल एचआईभी संक्रमितमध्ये ६० प्रतिशतमात्रै एआरभी उपचारमा संलग्न छन् । देशका ६० जिल्लामा ७८ वटा एआरभी औषधि पाइने एआरटी सेन्टर रहेका छन् । सरकारले सन् २०२० सम्ममा ९० प्रतिशतलाई संक्रमितलाई एआरभी उपचारमा ल्याउने लक्ष्य लिएको छ । त्यस्तै सन् २०३० भित्र नेपालमा एचआईभी तथा एड्सको महामारी अन्त्य गर्ने प्रतिबद्धता गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय एचआईभी एड्स महासंघ नेपालका अध्यक्ष राजेश दिदियाले संक्रमित बालबालिकाको क्षेत्रमा बढी काम गर्नुपर्ने आवश्यकता औंल्याए । सरकारले संक्रमित बालबालिकाको जिविकोपार्जनको लागि दिँदै आएको मासिक एक हजार रुपैयाँ अति न्यून भएको उनको भनाइ थियो ।
नेपालमा एकहजार तीन सय ६० जना एचआईभी संक्रमित बालबालिका रहेका छन् ।
एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) नेपालको सहयोग पत्रकार सम्मेलन भएको हो ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com