Connect with us

HEALTH

विश्वव्यापी नेटवर्क युनाइटमा अब नेपाली सांसदहरु पनि पुग्ने

Avatar

Published

on

प्रतीकात्मक तस्बिर

भक्तपुर । विश्वबाटै संक्रमणजन्य रोगहरुको जोखिम अन्त्य गर्ने उद्देश्यले गठित विश्वका सांसदहरुको अन्तर्राष्ट्रिय नेटवर्क युनाइटमा नेपाली सांसदहरुको प्रतिनिधित्व गराउनेबारे पहल सुरु गरिएको छ ।
राष्ट्रिय एचआईभी एड्स महासंघ नेपाल (एनएपीएन) ले उक्त नेटवर्कमा नेपाली सांसदहरुको प्रतिनिधित्वको लागि पहल गरेको हो ।
उक्त नेटवर्कमा छिमेकी देश चीन, भारत र पाकिस्तानका सांसदहरुको प्रतिनिधित्व रहे पनि नेपालको प्रतिनिधित्व हुन सकेको छैन ।
युनाइटले एचआईभी एड्स, क्षयरोग, मलेरियालगायतका संक्रमणजन्य रोगको रोकथाम एवं त्यसको न्यूनीकरणको लागि विश्वव्यापी पैरवी, बहस र परियोजनागत काम गरिरहेको छ । उसले संस्थामा प्रतिनिधित्व गर्ने देशहरुका सांसदहरुको माध्यमबाट ती देशहरुमा स्वास्थ्य, शिक्षा तथा विकासको क्षेत्रमा लगानी गर्दै आएको छ ।
त्यसैले युनाइटमार्फत नेपालका एचआईभी एड्स संक्रमित, लागूपदार्थ दुव्र्यसनी, क्षयरोग र मलेरिया रोगको क्षेत्रमा काम गर्ने र गराउने उद्देश्यले नेपालका संघीय सांसदहरुलाई युनाइटमा प्रतिनिधित्व गराउने पहल थालेको हो ।
एनएपीएनका अध्यक्ष राजेश दिदियाले युनाइटमा नेपालका सांसदहरुको प्रतिनिधित्व गराउन संघीय सांसदहरु पम्फा भुसाल, चित्रलेखा यादव र मनकुमारी जीसीसँग एक चरणको छलफल भइसकेको जानकारी दिए । त्यस्तै भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद महेश बस्नेतसँग समेत छलफल गरिएको उनले बताए ।
‘सांसद महेश बस्नेतसँग युनाइटमा नेपाली सांसदहरुको प्रतिनिधित्व गराउने सम्बन्धमा छलफल ग¥यौं’, उनले भने, ‘उहाँ युनाइटमा सहभागी भएर नेपाली लक्षित समुदायको हितमा काम गर्न सकारात्मक हुनुहुन्छ ।’
सांसद बस्नेतले नेपालका एचआईभी संक्रमित, लागूपदार्थ दुव्र्यसनी, क्षयरोग तथा मलेरियाको क्षेत्रमा विश्वव्यापी कार्यक्रम र बजेट प्राप्त हुने भए युनाइटमा नेपालको प्रतिनिधित्व हुनुपर्ने धारणा राख्नुभएको अध्यक्ष दिदियाले जानकारी दिए ।
उनका अनुसार युनाइटमा प्रतिनिधित्व गर्नेबित्तिकै दक्षिण एसियाको लागि नेपालमा एउटा सचिवालय ल्याउन सकिनेछ । उक्त सचिवालयको नेतृत्व नेपालले गर्न सके नेपालका एचआईभी संक्रमित, लागूऔषध दुव्र्यसनीसँगै क्षयरोग र मलेरियाको क्षेत्रमा धेरै काम गर्न सकिने उनको जिकिर थियो ।
उक्त सचिवालयमार्फत युवाहरुलाई लागूपदार्थ दुव्र्यसनविरुद्ध सचेत गर्दै आर्थिक तथा सामाजिक विकासमा परिचालन गर्न नेटवर्क दरिलो माध्यम हुने अध्यक्ष दिदियाले विश्वास व्यक्त गरे ।
‘नेटवर्कमार्फत नेपालमा एचआईभी, लागूपदार्थ दुव्र्यसन, क्षयरोग र मलेरियाको क्षेत्रमा जनचेतना फैलाउन युवा परिचालन गर्न सकिन्छ’, उनले थपे, ‘यसले युवाहरुलाई कुलतमा फस्न नदिई आर्थिक तथा सामाजिक विकासमा परिचालन गर्न सहयोग पुग्छ । यसले समाज हुँदै मुलुकमै सकारात्मक परिवर्तन आउने विश्वास गर्न सकिन्छ ।’
नेटवर्कमार्फत हाल एचआईभी, लागूपदार्थ दुव्र्यसन, क्षयरोग र मलेरियाको क्षेत्रमा ग्लोबल फण्डबाट प्राप्त हुने सहयोग र त्यसको परिचालनमा देखिएको बेथितिलाई नीतिगत रुपमै सम्बोधन गर्न सहज हुने अध्यक्ष दिदियाको दावी थियो ।
नेटवर्कमा दक्षिण एसियाली मुलुक माल्दिभ्सका सांसदहरुसमेत सहभागी रहेका छन् । त्यस्तै एसियाली मुलुकहरु म्यानमार, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स र अस्ट्रेलियाका सांसदहरुको पनि प्रतिनिधित्व रहेको छ ।
संयुक्त राज्य अमेरिका, क्यानडा, ब्राजिल, अर्जेन्टिना, बोलिभिया, क्युबाका सांसदहरु पनि नेटवर्कमा सहभागी छन् । त्यस्तै २२ वटा युरोपेली मुलुक र ११ वटा अफ्रिकी मुलुकका सांसदहरुले पनि युनाइटमा प्रतिनिधित्व गरिरहेका छन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com