Connect with us

SOCIAL

हनुमन्तेमा बाढी : एक घाइते

Avatar

Published

on

भक्तपुर हनुमन्ते बाढी) भक्तपुरको मुख्य खोला हनुमन्तेमा आएको बाढी । फोटो : ईश्वरकाजी खाइजू

भक्तपुर । हनुमन्ते खोलामा आएको बढीले बगाएका ३२ वर्षीय सन्तोष पहरीको अवस्था गम्भीर रहेको छ । काभ्रेको कोशीपारि घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका २ बालकोट बस्दै आएका पहरी शुक्रबार हनुमन्ते खोलामा खसेका थिए ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार बाढी आएको हनुमन्ते खोला किनार हुँदै हिँडिरहेका पहरी खोलामा खसेका हुन् । खोला खसेर बगाएको जानकारी प्राप्त हुनासाथ तत्कालै महानगरीय प्रहरी प्रभाग बालकोटबाट प्रहरी टोली खटिएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
प्रहरी टोलीले स्थानीयको सहयोगमा पहरीको उद्धार गरेर उपचारको लागि मध्यपुर थिमी नपाको गट्ठाघरस्थित नागरिक अस्पताल पठाएको उनले बताए । उनका अनुसार हनुमन्ते खोलाले बगाएर घाइते भएका पहरीको अवस्था गम्भीर रहेको छ ।

दधिकोट र नयाँ ठिमी जोड्ने पुल जोखिममा

हनुमन्ते खोलामा आएको बाढीले मध्यपुर थिमि नगरपालिकाको नयाँ ठिमी र सूर्यविनायक नगरपालिकाको वडा नम्बर ४ दधिकोट जोड्ने एक पुल जोखिममा परेको छ । बाढीले पुलभन्दा बाहिर कटान गरेको हो ।
उक्त पुलसँगै नयाँ पुल बन्दै गरेको छ । नयाँ पुल बनाउन खन्ने क्रममा सूर्यविनायक नपातिर भाँसिएर केही महिना आवातजावत प्रभावित भएको उक्त बाटोको अहिले मध्यपुर थिमि नपातिर हनुमन्ते खोलाले कटान गरेको हो ।
हनुमन्ते खोलामा आएकोले कटान गरेर पुललाई खतरा पारेपछि मध्यपुर थिमी नपाले उक्त कटान रोक्ने कार्य अघि बढाएको छ ।
त्यस्तै बिहीबारदेखि आएको अविरल वर्षाले सूर्यविनायक नगरपालिका ७ गुण्डुमा एक घरमा क्षति पुगेको छ । भक्तपुर प्रहरीका अनुसार वर्षाले आएको पहिरोले घरलाई हानेको हो । उक्त पहिरोले घरलाई सामान्य क्षति पु¥याएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए ।

हनुमन्ते खोलामा सतह बढ्यो

बिहीबार रातीदेखि आएको अविरल वर्षाले हनुमन्ते खोलामा पानीको सतह बढेको छ । अहिलेसम्म हनुमन्ते खोलामा आएको बाढी बस्तीमा नपसेको भक्तपुर प्रहरीले जनाएको छ । तर वर्षा हुने क्रम नरोकिएकाले बस्तीमा बाढी पस्ने जोखिम बढेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए ।
उनले हनुमन्ते खोलामा आएको बाढीले डुबानमा पर्नसक्ने सम्भावित क्षेत्रका वासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको बताए ।
यसवर्ष हनुमन्ते कोरिडोर निर्माण कार्य सँगसँगै खोला फराकिलो भएकाले गत वर्ष जस्तो डुबानको समस्या नआएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।
खोला फराकिलो भए पनि खोला उकासिएकाले भक्तपुर नगर क्षेत्रभित्रका हनुमन्ते खोला दायाँबायाँ रहेका विभिन्न घाटहरु भने डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढीले हनुमानघाट, चुपीँघाट, राममन्दिर, मंगलतीर्थ घाट डुबाएका छन् । यी क्षेत्र बढ्दो पानीको वहाबले जलमग्न भएका छन् । हनुमन्तेमा आएको बाढीले ब्रह्मायणी, जगाती, माहेश्वरी, हनुमानघाट, चुपीँघाट, राममन्दिर र मंगलतीर्थ घाटमा रहेका पुल छोएका छन् । जसले गर्दा मंगलतीर्थ घाटस्थित बाराहीस्थान जाने बाटोसमेत अवरुद्ध भएको छ । यो बाटो प्रत्येक वर्षको वर्षामा अवरुद्ध हुँदै आएको छ । बाराहीस्थान जाने पुलमा हनुमन्ते भेल नअटेर वर्सेनि मंगलघाट हुँदै धानखेतमा पसेको छ । जसले गर्दा धानखेत डुबानमा परेको छ । तर अहिलेसम्म कुनै क्षति भएको जानकारी प्राप्त नभएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com