Connect with us

SOCIAL

ङातापोलको ३१७ औं भुसाराङ्ग

Avatar

Published

on

भक्तपुर नपा ५ टौमढीस्थित ङातापोल मन्दिरमा झण्डोत्तोलन गर्दै साहसी अवालहरु । तस्बिर : इन डेप्थ

भक्तपुर । नेपालकै सबैभन्दा अग्लो प्यागोडा शैलीको भक्तपुर टौमढी क्षेत्रस्थित ङातापोल (पाँचतले) मन्दिरको उमेर तीनसय १७ पुगेको छ । मन्दिर निर्माण गरेको तीनसय १७ वर्ष पूरा भएको अवसरमा बुधबार मन्दिरमा वर्ष बन्धन (भुसाराङ्ग) पूजासँगै झण्डोत्तोलन गरिएको हो ।
तत्कालीन मल्ल राजा भूपतीन्द्र मल्लले बनाउन लगाएको ङातापोल नेपाल संवत् ८२२ असार शुक्ल प्रतिपदामा निर्माण पूरा भएको अभिलेख छ । उक्त अभिलेखमा मन्दिर निर्माण पूरा भएको असार शुक्ल प्रतिपदाका दिन पहिलो वर्ष बन्धन पूजा गरेकोसमेत उल्लेख छ ।
मन्दिरको सरसफाइ र मर्मतसम्भार गर्ने उद्देश्यले राजा भूपतीन्द्र मल्लले वर्सेनि वर्ष बन्धन पूजाको परम्परा बसाएको संस्कृतिविद् ओमप्रसाद धौभडेल बताउँछन् । सोही परम्पराअनुसार प्रत्येक वर्ष असार शुक्ल प्रतिपदाका दिन ङातापोलको वर्षबन्धन पूजा नियमित रुपमा चल्दै आएको छ ।
भक्तपुर तलेजुका जोशी, कर्माचार्य, राजोपाध्याय र ताल्चाभँडेल जातका पुजारीहरुले तान्त्रिक विधिअनुसार ङातापोल मन्दिरभित्र रहेकी सिद्धि लक्ष्मी देवीको पूजासँगै मन्दिरको वर्ष बन्धन पूजा गरिएको छ । उक्त पूजाको लागि आवश्यक सम्पूर्ण व्यवस्था गुठी संस्थानबाट हुँदै आएको छ । मन्दिरका पुजारी यज्ञमान कर्माचार्यले मन्दिरमा वर्षबन्धन पूजामा मात्रै बलि पूजा हुने जानकारी दिए ।
उक्त पूजासँगै भक्तपुर नपा ६ तुछिमला निवासी अवालहरुले मन्दिरको गजुरमा झण्डोत्तोलन गरेका छन् । जसअनुसार यसवर्ष पनि तुछिमला टोलसुधार समितिका अध्यक्ष हरिशरण अवालको नेतृत्वमा सवा दुई मिटर सेतो कपडामा रातो कपडाको अर्धचन्द्र अंकित ध्वजा फहराइएको हो ।
अति अग्लो पाँचतले मन्दिरमा गएर ध्वजा फहराउनु अत्यन्त जोखिमपूर्ण मानिन्छ । त्यसैले गुठी संस्थानले पहिलेदेखि नै घर निर्माणमा डकर्मीको काम गर्दै आएका साहसी अवाल जातिहरुलाई उक्त काम गर्ने जिम्मा दिँदै आएको छ । यस वर्ष झण्डोत्तोलन गरेका अवालहरुलाई गुठी संस्थानले १० हजार रुपैयाँ उपलब्ध गराएको छ । गएको वर्ष गुठी संस्थानले कम रकम दिएको विरोधस्वरुप मन्दिरको पहिलो तलाको छानामै झण्डोत्तोलन गरिएको थियो । गत वर्ष गुठी संस्थानले जम्मा चार हजार रुपैयाँमात्रै उपलब्ध गराएको थियो ।

ङातापोलको ३१७ औं भुसाराङ्ग
मन्दिरका पाँच तलामध्ये दुई तलासम्म मन्दिरभित्रबाटै माथि जान सकिन्छ तर गजुरमा पुग्न मन्दिरका बाँकी तीन तला चढ्न बाहिर छानामा आउनुपर्छ । त्यसको लागि मन्दिरको पछाडितिरको छानामा प्वालको व्यवस्था गरिएको छ ।
२०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पले मन्दिरको सबैभन्दा माथिल्लो तलामा सामान्य क्षति पु¥याएको छ । तैपनि सुरक्षित साथ झण्डोत्तोलन गरिएको मन्दिरका पुजारी कर्माचार्यले जानकारी दिए ।
उनका अनुसार भूकम्पले क्षति पु¥याएको मन्दिरको माथिल्लो तलाको मर्मतको लागि भक्तपुर नपाले बजेट विनियोजन गरिसकेको छ । भक्तपुर नपाको जारी पाँचौं नगरसभाले ङातापोल मन्दिर जीर्णोद्धारको लागि ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
ङातापोल मन्दिरमा ध्वजा फहराएपछि बोकाको बलि दिएर वर्षबन्धन पूजा गर्दा राज्यबाट विघ्न बाधा हट्ने जनविश्वास रहेको भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी बताउँछन् । ङातापोल मन्दिर भक्तपुर तलेजुकै एक भाग हो । तलेजुका मूल नाइकेको सिफारिसमा ङातापोलका पुजारी नियुक्ति हुने व्यवस्था रहेको छ ।
वि.सं १९९० सालको भूकम्पमा सबैभन्दा माथिको एकतलामात्रै भत्केको ङातापोल मन्दिरको भक्तपुर नगरपालिकाले २०५५ सालमा पूर्ण रुपमा जीर्णोद्धार गरेको थियो ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com