Connect with us

SOCIAL

भक्तपुरमा सत्यमोहनलाई नागरिक अभिनन्दन (फोटोफिचरसहित)

Avatar

Published

on

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई शुक्रबार भक्तपुरमा नागरिक अभिनन्दन गरिँदै । तस्बिरहरु : ईश्वरकाजी खाइजू

भक्तपुर । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई शुक्रबार भक्तपुरमा नागरिक अभिनन्दन गरिएको छ । यहाँका ५० भन्दा बढी सामाजिक तथा संस्थागत संघसंस्थाहरुले उनलाई भक्तपुर र मध्यपुर थिमी नगर परिक्रमासहित नागरिक अभिनन्दन गरेका हुन् ।
सत्यमोहन जोशी नागरिक अभिनन्दन समारोह समिति भक्तपुरको संयोजनमा भएको उक्त अभिनन्दनअन्तर्गत नगर परिक्रमा गराइँदा भक्तपुर र मध्यपुर थिमीका नगरवासीहरुले शताब्दी पुरुष जोशीलाई नेवारी परम्पराअनुसार सगुन दिएका थिए । कसैले फूलमाला र रातो टीका लगाइदिए भने कसैले खादा ओढाएर सम्मान व्यक्त गरेका थिए ।
त्यस्तै स्थानीय बाजा खलःहरु आआफ्नो मौलिक एवं परम्परागत बाजागाजासहित ¥यालीमा सहभागी भएका थिए । स्कुलका शिक्षक, विद्यार्थीहरु तथा विभिन्न टीम, क्लव, संघसंस्थासमेत आआफ्नो ब्यानरसहित ¥यालीमा सहभागी भएका थिए ।
मध्यपुर थिमीको बहाखाबजार र भक्तपुरको दत्तात्रय क्षेत्रबाट छुट्टाछुट्टै सांस्कृतिक झाँकीसहितको सम्मान ¥याली गरिएको हो । दुवै नगरमा गरिएको शोभायात्रामा उल्लेख जनसहभागिता रहेको थियो । भक्तपुरको दत्तात्रयबाट सुरु गरिएको ¥याली गोल्मढी, सुकुलढोका, दरबार क्षेत्र, टौमढी क्षेत्र, गःहिटी, नासमना, वंशगोपाल हुँदै बाराहीस्थानमा नागरिक अभिनन्दन गरिएको थियो ।
भक्तपुरका संघीय सांसदहरु र प्रदेश सांसदहरु, जिल्ला समन्वय समिति तथा चार वटा नगरपालिकाका प्रमुखहरुले पुरातत्वविद् जोशीलाई नागरिक अभिनन्दन गरेका हुन् ।
करिब पाँच फिट अग्लो कलात्मक काष्ठकलाको फ्रेमयुक्त अभिनन्दनपत्र प्रदान गरिएको थियो । त्यस्तै भक्तपुर वरिष्ठ साहित्यकार तेजेश्वरबाबु ग्वंगले नेवारी परम्पराअनुसार जोशीको शीरमा बेताली बाँधिदिएका थिए । वरिष्ठ भाषाविद् रमापतिराज शमाले दोसल्ला ओढाउनुका साथै वरिष्ठ साहित्यकार पूर्ण वैद्यलगायतले फूलमाला लगाइदिएर जोशीको नागरिक अभिनन्दन गरेका थिए ।

जिल्ला समन्वय समिति भक्तपुरले छुट्टै सम्मानपत्र प्रदान गरेको अभिनन्दित व्यक्तित्व जोशीले भक्तपुरमा समेत आफू सम्मानित हुँदा गौरवान्वित महसुस भएको सुनाए ।
उनले आफू नजानिँदो ढंगले कला, संस्कृति र पुरातत्वमा मोडिएको स्मरण सुनाउँदै नेपालमा संरक्षण गर्नुपर्ने धेरै अमूल्य निधिहरु रहेको बताए ।
त्रिचन्द्र क्याम्पसमा अध्ययन गर्दा क्याम्पससँगै रहेको वीर पुस्तकालयमा रहेका नेपालमा ऐतिहासिक एवं पुरातात्विक महत्वका पौभाचित्र, मूर्तिलगायत संरक्षणको अभावमा कुनामा थन्क्याइएको उनले सुनाए ।
कार्यक्रममा संघीय संसद महेश बस्नेत, वरिष्ठ पत्रकार भैरव रिसाल, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले शताब्दी पुरुष नेपाली इतिहासका जिउँदो प्रमाण भएको धारणा राखे ।
जोशी नेपाली राजनीतिमा राणाशासन, सक्रिय राजतन्त्र, पञ्चायत, प्रजातन्त्र र लोकतन्त्र हुँदै गणतन्त्रका जिउँदोजाग्दो प्रमाण भएको उनीहरुको भनाइ थियो ।
नागरिक अभिनन्दन समारोहका संयोजक नरेन्द्रभक्त हाडाले नेपाली भाषाको उद्गमस्थल कर्णाली सभ्यता, अरनिकोलाई राष्ट्रिय विभूति घोषणा गराउन र नेपाली कला–संस्कृतिको महत्व बढाउने कार्यमा जोशीले पु¥याएको अतुलनीय योगदानको कदरस्वरुप नागरिक अभिनन्दन गरिएको जानकारी दिए ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com