Connect with us

POLITICS

भक्तपुर नपाको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम पारित

Avatar

Published

on

भक्तपुर नपाको जारी सातौं नगरसभामा सहभागी प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशी । तस्बिर : इन डेप्थ

११ वटा मुख्य सम्पदा पुनर्निर्माण गरिने

भक्तपुर । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा नगर क्षेत्रका ११ वटा ठूला एवं महत्वपूर्ण सम्पदाहरुको पुनर्निर्माण गर्ने भएको छ । उसले भक्तपुर दरबार क्षेत्रस्थित राष्ट्रिय कला संग्रहालय रहेको सिंहध्वाका दरबार, वत्सला मन्दिर, नपा कार्यालय रहेको थन्थु दरबार, लापाँ देगः (नारायण मन्दिर) पुनर्निर्माण गर्ने भएको छ ।
त्यस्तै पुनर्निर्माण जारी रहेको भक्तपुर नपा १ स्थित रानी पोखरी र भाज्या पुखु (भाज्या पोखरी) पनि काम आउँदो आर्थिक वर्षभित्र सम्पन्न गर्ने भएको हो । भक्तपुर नपा ४ स्थित नरसिंह मन्दिर, चपाल भैरव द्योछें, हाडाछें, च्यासिंद्यो र भक्तपुर दरबार क्षेत्रस्थित नपाको नक्सा शाखा रहेको भवन पनि आउँदो आर्थिक वर्षमा पुनर्निर्माण गर्ने भएको छ ।
भक्तपुर नपाको मंगलबार भएको सातौं नगरसभामा पारित भएको नीति तथा कार्यक्रममा ती सम्पदाहरुको पुनर्निर्माण गर्ने उल्लेख भएको हो । नगर प्रमुख सुनिल प्रजापतिले आइतबार नगरसभामा प्रस्तुत गरेको विभिन्न शीर्षकअन्तर्गत १०७ बुँदे नीति तथा कार्यक्रम मंगलबार भएको नगरसभाको अर्को बैठकले पारित गरेको हो ।
पारित नीति तथा कार्यक्रमअनुसार भक्तपुर नपा ५ स्थित जगन्नाथ क्षेत्रको अध्ययनको लागि इतिहास, संस्कृति र पुरातत्व विज्ञहरूको एक विज्ञ टोली गठन गरिने छ । उक्त टोलीमार्फत जगन्नाथ क्षेत्रको अध्ययन अनुसन्धान प्रक्रिया अगाडि बढाइने प्रमुख प्रजापतिले उल्लेख गरेका छन् ।
२०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको भक्तपुर नपा ५ त्रिपरासुन्दरीस्थित अरनिको सभाभवन वडा नं. ६ देकोचास्थित जग्गामा यसै वर्ष निर्माण सुरु गर्ने उनले जनाए । भक्तपुर नपाले देकोचामा अरनिको सभाभवनसहितको बहुउद्देश्यीय भवन निर्माण गर्न भनेर नगरवासीको जग्गा अधिग्रहण गरेको थियो । तर उद्देश्यअनुसार अरनिको सभाभवन नबनेपछि जग्गाधनी नगरवासीले नपाको विरोध गर्दै आएको छ । नपाले उक्त भवनमा हाल दुई ठूला भवन निर्माण गरेर ख्वप कलेज सञ्चालन गर्दै आएको छ ।
भक्तपुर नपामा जनप्रतिनिधि आएदेखि हालसम्म देकोचामा अरनिको सभाभवन बनाउने योजनालाई नीति तथा कार्यक्रममा समेट्दै आएको छ तर अहिलेसम्म काम भने सुरु भएको छैन ।
२०७२ सालको भूकम्पमा क्षतिग्रस्त सम्पदाहरु निर्माण गर्ने क्रम रोकिएको छैन । भक्तपुरको भक्तपुर नपा र पुरातत्व विभागले भूकम्पमा क्षतिग्रस्त सम्पदाहरुको पुननिर्माण तथा जीर्णोद्धार कार्य गर्दै आएका छन् ।

आउँदो वर्षभित्रै आदर निकेतन सञ्चालन

प्रमुख प्रजापतिले आर्थिक वर्ष २०७७÷७८ मै भक्तपुर नपाले आदर निकेतन सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रममा उल्लेख गरेका छन् । नपामा जनप्रतिनिधि आएपछि भएको प्रत्येक नगरसभा पनि नपाले आदर निकेतन सञ्चालन गर्ने योजनालाई छुटाएको छैन तर प्रत्येक वर्ष नीति तथा कार्यक्रमभित्र परेर पनि कार्यान्वयन नभएको भन्दै नगरवासीले विरोध गरेपछि आउँदो आर्थिक वर्षभित्रै आदर निकेतन सञ्चालन गर्ने नगर प्रमुख प्रजापतिले उल्लेख गरे ।
भक्तपुर नपाले प्रत्येक वडामा शिशुस्याहार सञ्चालन गर्दै आएको छ । त्यसैले ज्येष्ठ नागरिकहरुको रेखदेख गर्न आदर निकेतन पनि वडा वडामा सञ्चालन गर्नुपर्ने माग गरिँदै आएको थियो ।

कुकुर पाल्न अनुमति लिनुपर्ने

पारित नीति तथा कार्यक्रमअनुसार अब कुकुर पाल्ने नगरवासीले सम्बन्धित वडा कार्यालयबाट अनुमति लिनुपर्ने छ । कुकुर पाल्ने नगरवासीलाई सम्पदा क्षेत्र, नगरको चोक, गल्ली र सडकहरूमा जथाभावी फोहर गर्न निरुत्साहित गरिने उल्लेख छ । काठमाडौं महानगरपालिकाले पनि कुकुर पाल्न नपाको अनुमति लिनुपर्ने नीति तथा कार्यक्रम अघि सारेको छ ।
त्यस्तै नपाभित्रका घरहरूको अभिलेखीकरण तथा तथ्यांक अद्यावधिक गर्ने उद्देश्यले वैज्ञानिक विधिबाट घर नम्बरिङ कार्य थालनी गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

गैससलाई कडाइ यथावत

भक्तपुर नपाले आफ्नो कार्य क्षेत्रमा काम गर्न चाहने गैरसरकारी संघसंस्थालाई आउँदो आर्थिक वर्षमा पनि कडाइ गर्ने भएको छ । नपाको नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) र गैरसरकारी संस्था (एनजीओ) ले भक्तपुर नपाको अनुमतिमा मात्रै नगर क्षेत्रमा कार्य गर्ने व्यवस्था गरिएको छ ।

सामुदायिक विद्यालयको शिशुकक्षा विद्यार्थीलाई खाजा

भक्तपुर नपाले सामुदायिक विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढाउन शिशु कक्षाका विद्यार्थीहरुलाई खाजा खर्च सहयोग गर्ने नीति लिएको छ । अहिले सामुदायिक विद्यालयमा निरन्तर विद्यार्थीहरुको संख्या ओरालो लागिरहेको छ । त्यसैले तल्लो तहदेखि नै विद्यार्थीको संख्या बढाउन सामुदायिक विद्यालयमा सञ्चालित शिशुस्याहार कक्षाका विद्यार्थीहरूलाई खाजा खर्चवापत आर्थिक सहयोग प्रदान गरिने प्रमुख प्रजापतिले जानकारी दिए ।
उनले आउँदो आर्थिक वर्षदेखि कक्षा ५ को वार्षिक परीक्षालाई नगरस्तरीय बनाइने बताए । अहिले नपाले कक्षा ८ को वार्षिक परीक्षालाई मात्रै नगरस्तरीय बनाएको छ ।
त्यस्तै नपाले स्थानीय पाठ्यक्रमलाई आउँदो शैक्षिक सत्रदेखि कक्षा ३ र ८ मा लागू गर्ने जनाएको छ । तीन वर्षअघि कक्षा १ र ६ मा लागू गरिएको स्थानीय पाठ्यक्रम चालू आर्थिक वर्षमा कक्षा २ र ७ मा लागू गरिएको थियो । आउँदो शैक्षिकसत्रभित्र कक्षा ४ र ५ को स्थानीय पाठ्यक्रम निर्माण गरिने नपाले जनाएको छ ।
नपाका अनुसार नगरसभाको र्को बैठक बुधबार बस्नेछ । उक्त बैठकमा नपाको आर्थिक वर्ष २०७७÷७८ को बजेट प्रस्तुत गरिनेछ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com