Connect with us

POLITICS

भक्तपुरका नयाँ प्रहरी प्रमुख थापाद्वारा पदभार ग्रहण

Avatar

Published

on

कार्यभार सम्हाल्दै महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापा । तस्बिरहरु : इन डेप्थ

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरमा तेस्रोपटक महिला प्रहरी प्रमुख आएकी छन् । प्रहरी उपरीक्षक सविन प्रधानको ठाउँमा प्रहरी उपरीक्षक तारादेवी थापा भक्तपुरको प्रहरी प्रमुखको रुपमा आएकी हुन् ।
उनी सोमबार भक्तपुर परिसर पुगेर आफ्नो कार्यभारसमेत सम्हालेकी छन् । यसअघि काठमाडांैंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत प्रहरी उपरीक्षक थापा प्रहरी उपरीक्षक प्रधानलाई विस्थापित गर्दै भक्तपुर आएकी हुन् ।
प्रहरी उपरीक्षक प्रधान उनै प्रहरी उपरीक्षक थापा कार्यरत रहेको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान पुगेका छन् ।
सोमबार कार्यभार सम्हाल्नुअघि प्रहरी उपरीक्षक थापालाई परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीलगायतले पुष्प गुच्छासहित भक्तपुरमा स्वागत गरेका थिए ।


उनको स्वागतकै बीच निवर्तमान प्रहरी उपरीक्षक प्रधानलाई बिदाईसमेत गरिएको थियो । भक्तपुर प्रहरीकी नयाँ प्रहरी उपरीक्षक थापाले निवर्तमान प्रहरी उपरीक्षक प्रधानलाई भक्तपुर दरबार क्षेत्रको चित्रकला सप्रेम उपहार दिएर बिदाइ गरेकी थिइन् ।
भक्तपुरमा प्रहरी उपरीक्षक थापाअघि महिला प्रहरी प्रमुखको रुपमा हाल वरिष्ठ प्रहरी उपरीक्षक रहेका किरण बज्राचार्य र किरण राणाले भक्तपुर प्रहरीको नेतृत्व गरेका थिए । हाल भक्तपुरमा महिला प्रमुख जिल्ला अधिकारी रहेकाले पनि नयाँ आएकी प्रहरी उपरीक्षक थापालाई जिल्लाको शान्ति सुरक्षाको क्षेत्रमा काम गर्न सहज हुने विश्वास गरिएको छ ।

प्रहरी उपरीक्षक प्रधानको बिदाई : सहायक प्रजिअ ढकालको स्वागत


यसैबीच भक्तपुर उद्योग वाणिज्य संघले भक्तपुर जिल्लाको सेवा कार्यकाल सम्पन्न गरी सरुवा भएका प्रहरी उपरीक्षक सविन प्रधानलाई बिदाई गर्दै भक्तपुर जिल्लामा नयाँ कार्यकालका लागि आएका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकाललाई स्वागत गरेका छन् ।
संघका वरिष्ठ उपाध्यक्ष शिवप्रसाद मानन्धरले प्रहरी उपरीक्षक प्रधानलाई बिदाई गर्दै सहायक प्रमुख जिल्ला अधिकारी ढकाललाई भक्तपुरमा स्वागत गरेका हुन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com