Connect with us

POLITICS

संविधान संशोधन देशकै लागि खतरा : बिजुक्छे

Avatar

Published

on

फाइल तस्बिर

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अहिलेको स्थितिमा संविधान संशोधन गर्ने कदम देशकै लागि खतरा हुनसक्ने जिकिर गरेका छन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संविधान संशोधनको लागि कार्यदल बनाएको खबर बाहिरिइरहेको बेला अध्यक्ष बिजुक्छेले दुईतिहाइ भएको केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान संशोधनको नाउँमा देश हितविपरीतका ऐन–कानुन पारित गर्ने सम्भावना बढेको बताए ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनियिरिङ कलेजमा सोमबार भएको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन र इन्डो प्यासिफिक स्ट्राटेजी’ विषयक प्रवचनमा उनले उक्त जिकिर गरेका हुन् ।
अध्यक्ष बिजुक्छेले एमसीसी सम्झौता संसदबाट अनुमोदन भए नेपालका ऐन–कानुन नै नचल्ने दावी गरे ।
चीनसित लड्न संयुक्त राज्य अमेरिकाले एमसीसी रणनीति अगाडि सारेको उनको भनाइ थियो । उनले विदेशीको पैसाले चुनाव जितेका शासक दल र त्यसका नेताहरुले विदेशीकै इसारामा एमसीसी सम्झौतालाई अगाडि बढाएको आरोप लगाए ।
‘संयुक्त राज्य अमेरिकाले चीनसित लड्न एमसीसी रणनीति अगाडि सारेको हो’, अध्यक्ष बिजुक्छेले भने, ‘संसदबाट एमसीसी सम्झौता अनुमोदन भए नेपालको ऐन–कानुन नै नचल्ने खतरा हुन्छ ।’
उनले एमसीसी कुनै पनि हालतमा संसदबाट पारित गराउन नहुनेमा जोड दिए ।
उनले लडाइँबाट नहारेसम्म अमेरिकाले साम्राज्यवादी सोच नत्याग्ने स्पष्ट पारे ।

मंगलबार नेमकिपाको विरोध प्रदर्शन

अध्यक्ष बिजुक्छेले एमसीसीविरुद्ध नेमकिपाले मंगलबार राजधानीमा विरोध प्रदर्शन गर्न लागेकोसमेत जानकारी दिए ।
काठमाडौंको रत्नपार्कदेखि विरोध जुलुस गर्दै अमेरिकी दूतावासमा एमसीसीविरुद्ध पार्टीले विरोधपत्र बुझाउने कार्यक्रम रहेको उनको भनाइ थियो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले एमसीसी सम्झौता नेपालजस्तो सानो मुलुकको लागि चुनौतीपूर्ण रहेको बताए ।
संसदबाट एमसीसी सम्झौतालाई अनुमोदन गराउन विदेशी दलालहरु सक्रिय रहेको उनको भनाइ थियो ।
‘अमेरिकाले भारतको प्रस्तावमा एमसीसी सम्झौताको नाउँमा नेपाललाई सहयोग गर्न लागेको हो’, प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता सुवालले भने, ‘इन्डो प्यासिफिक स्ट्राटेजी र एमसीसी सम्झौता एउटै हो । एमसीसीमा नेपाल सहभागी हुनु भनेको अमेरिकी नेतृत्वको सैनिक गठबन्धनमा सामेल हुनु हो ।’
भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले सरकारले एमसीसी जस्ता विनासर्तका सहयोग स्वीकार गर्न नहुने धारणा राखे ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com