Connect with us

POLITICS

प्रहरीलाई छलेर नेपालबाट बाहिरिए दुर्गा प्रसाईं

Avatar

Published

on

फाइल तस्बिर

भक्तपुर । झापास्थित बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई भक्तपुर प्रहरीले अझैसम्म भेट्टाउन सकेको छैन । प्रसाईंविरुद्ध गएको माघ २ गते जिल्ला प्रशासन कार्यालय भक्तपुरले अभद्र व्यवहारको मुद्दाअन्तर्गत पक्राउ पुर्जी (वारेन्ट) जारी गरेको थियो ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले महानगरीय प्रहरी परिसर भक्तपुरको मागबमोजिम प्रसाईंलाई पक्राउ गर्न पुर्जी जारी गरेकी थिइन् ।
प्रसार्इंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले गएको माघ २ गते आफूमाथि अभद्र व्यवहार भएको भनी कितानी निवेदन दर्ता गरेका थिए ।
सोही निवेदनको आधारमा प्रसाईंलाई पक्राउ गर्न महानगरीय प्रहरी परिसर भक्तपुरले जिल्ला प्रशासन कार्यालयमा पक्राउ पुर्जी जारी गर्न माग गरेको थियो ।
तर वारेन्ट जारी तीन साता हुन लाग्दा पनि भक्तपुर प्रहरीले प्रसार्इंलाई पक्राउ गर्न सकेको छैन । भक्तपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले प्रसाईंको खोजतलास भइरहेको जानकारी दिए । उनका अनुसार प्रसाईंले प्रयोग गर्ने मोबाइलको स्वीच अफ छ । साथै उनले नेपाल छाडिसकेको प्रहरी अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक प्रधानले बताए ।
‘हाम्रो अनुसन्धानले उहाँ नेपालको सीमाबाहिर जानुभएको देखाएको छ’, उनले भने, ‘तैपनि हामी उहाँलाई नियन्त्रणमा लिएरै छाड्छौं ।’
प्रसाईंले मेडिकल कलेजको सम्बन्धन दिनका लागि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. गिरीले २० करोड रुपैयाँ मागेको भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । आयोगका उपाध्यक्ष प्रा.डा. गिरीले उक्त अभिव्यक्तिको खण्डन गरेपछि प्रसाईंले गएको माघ २ गते भक्तपुरको सानोठिमीस्थित आयोगको कार्यालयमा १५–१६ जना अनधिकृत व्यक्तिको समूह पठाई हुलदंगा मच्चाउन लगाएको प्रहरी अनुसन्धानमा खेलेको भक्तपुर प्रहरीले जनाएको छ ।
उक्त समूहले आयोगका उपाध्यक्ष प्रा.डा. गिरीको मानहानी हुने गरी कार्यालय परिसरमा पोस्टर टाँस्नुका साथै आयोगभित्र पर्चासमेत छरेको थियो । आफूमाथि अभद्र व्यवहार भएको र अनधिकृत समूहले अमर्यादित ढंगले हुलहुज्जत गरेपछि प्रा.डा. गिरीले भक्तपुर प्रहरीमा अभद्र व्यवहारसम्बन्धी किटानी निवेदन दिएका थिए ।
प्रशासनबाट पक्राउको अनुमति प्राप्त भएलगत्तै नियन्त्रणमा लिन परिचालन भएको प्रहरी टोलीले प्रसाईंलाई भेट्टाउन सकेको छैन । विवादित व्यक्ति प्रसाईंले भागेर आफैलाई गलत सावित गरेको प्रहरी उच्च अधिकारीहरु बताउँछन् । यदि आफूले सही अभिव्यक्ति दिएको भए प्रहरीको सम्पर्कमा आएर त्यसको पुष्टि गर्नेतर्फ लाग्दा आफैलाई राम्रो हुने उनको भनाइ छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com