Connect with us

POLITICS

दुर्गा प्रसाईंलाई पक्राउ गर्न आदेश

Avatar

Published

on

दुर्गा प्रसाईं ।

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले झापास्थित बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी गरेको छ ।
प्रशासनले अभद्र व्यवहारको मुद्दाअन्तर्गत प्रसाईंलाई पक्राउ गर्न पुर्जी जारी गरेको हो ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले महानगरीय प्रहरी परिसर भक्तपुरको मागबमोजिम पक्राउ पुर्जी जारी गरिएको जानकारी दिइन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले परिसरमा आफूमाथि अभद्र व्यवहार भएको भनी कितानी निवेदन दर्ता गरेको जानकारी दिए ।
सोही निवेदनको आधारमा प्रसाईंलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयमा पक्राउ पुर्जी माग गरेको र उपलब्ध गराइएको उनले स्पष्ट पारे ।
प्रहरी उपरीक्षक प्रधानका अनुसार बिहीबार प्रसाईंले सानोठिमीस्थित आयोगमा १५–१६ जना अनधिकृत व्यक्तिको समूह पठाई हुलदंगा मच्चाएका थिए । उक्त समूहले आयोगका उपाध्यक्षको मानहानी हुने गरी पोस्टर टाँस्नुका साथै आयोगभित्र पर्चासमेत छरेको थियो ।
‘उक्त अनधिकृत समूहले आयोग उपाध्यक्ष प्रा.डा. गिरीको मानहानी हुने गरी पोस्टर टाँसे । आयोग कार्यालयमा पर्चासमेत छरे’, उनले भने, ‘उहाँमाथि अभद्र व्यवहार गरियो, अमर्यादित रुपमा हुलहुज्जत गरिएको थियो ।’
प्रशासनबाट अनुमति प्राप्त भएलगत्तै प्रसाईंलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए ।
उनले पक्राउ पुर्जीको म्याद नगुज्रनुअघि नै प्रसाईंलाई पक्राउ गर्न प्रहरी लागिपर्ने सुनाए ।
प्रसाईंले मेडिकल कलेजको सम्बन्धन दिनका लागि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. गिरीले २० करोड रुपैयाँ मागेको अभिव्यक्ति दिँदै आएका छन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com