Connect with us

POLITICS

पूर्वसभासद् रामेश्वरप्रसाद ढुंगेल रहेनन्

Avatar

Published

on

स्व. रामेश्वरप्रसाद ढुंगेल ।

काठमाडौं । दोस्रो संविधानसभा निर्वाचन २०७० मा भक्तपुर क्षेत्र नं. २ बाट निर्वाचित सभासद् रामेश्वरप्रसाद ढुंगेलको मंगलबार निधन भएको छ । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारकै क्रममा ब्रेन स्ट्रोक भएर कांग्रेस नेता ढुंगेलको मृत्यु भएको हो ।
नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले क्यान्सर भई उपचारको लागि दुई दिनअघि शिक्षण अस्पतालमा भर्ना भएको बताए । उपचार हुँदै गर्दा ब्रेन स्ट्रोक भई ६१ वर्षीय पूर्वसभासद् ढुंगेलको निधन भएको उनले पुष्टि गरे ।
उनको मंगलबार नै शव -यालीसहित पशुपति आर्यघाट अन्तिम दाह संस्कार गर्ने सभापति थापाले जानकारी दिए । त्यसको लागि कांग्रेसका नेता तथा कार्यकर्ताहरु त्रिवि शिक्षण अस्पतालमा भेला भइरहेको उनको भनाइ छ ।
एकवर्षअघि जीवनी संगिनी गुमाएका ढुंगेल नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत थिए । उनका तीन छोरा छन् ।
भक्तपुरको साविक कटुञ्जे गाविस एवं हाल सूर्यविनायक नगरपालिका ५ कटुञ्जे निवासी उनी २०४३ सालको गाउँ पञ्चायत निर्वाचनमा विजयी भई २४ वर्षकै उमेरमा तत्कालीन कटुञ्जे गाउँ विकास समितिको प्रधानपञ्चमा निर्वाचित भएका थिए । देशमा प्रजातन्त्र पुनःस्थापनापछि २०४९ र २०५४ सालको स्थानीय निकायको निर्वाचनमा पुनः कटुञ्जे गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित भएका थिए ।
विद्यार्थीकालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनी नेपाली कांग्रेसको भक्तपुर क्षेत्र नं. २ को सभापतिसमेत दुईपटक भएका थिए । क्षेत्रीय सभापति हुँदै २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा टिकट पाएका उनले जीतसमेत हात पारेका थिए ।
सरल स्वभावका ढुंगेल भक्तपुरमा विकासप्रेमी नेताका रुपमा चिनिन्थे । उनको सम्मानमा नेपाली कांग्रेस भक्तपुरको कार्यालय तीन दिन बन्द गर्ने तथा तीनै दिन पार्टीको झण्डा आधा झुकाउने जिल्ला सभापति थापाले जानकारी दिए ।
उनले १३ औं दिनमा स्व. ढुंगेलको श्रद्धाञ्जलीसभा राख्ने बताए ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com