Connect with us

POLITICS

सरकारभित्र अमेरिकाको घूसपैठ : बिजुक्छे

Avatar

Published

on

वागीश्वरी माविको ६१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे । तस्बिर : इन डेप्थ

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाल सरकारभित्र अमेरिकाको घूसपेठ भएको दावी गरेका छन् ।
अमेरिकाका एजेन्ट (दलाल) हरुको घूसपैठकै कारण नेपाल सरकार उत्तर कोरियाविरुद्ध अघि बढेको उनले स्पष्ट पारे ।
भक्तपुर नगरपालिका ९ स्थित वागीश्वरी माध्यमिक विद्यालयको ६१ औं तथा वागीश्वरी कलेजको १२ औं वार्षिकोत्सव सोमबार उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले भने, ‘नेपाल सरकार उत्तर कोरियाविरुद्ध कडा रुपमा प्रस्तुत हुनु निन्दनीय र गलत छ ।’
उनले सरकार अमेरिकी साम्राज्यवाद र फासीवादको चंगुलमा पर्दै आएकोसमेत जिकिर गरे ।
अध्यक्ष बिजुक्छेले नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा पैदा हुनु खतराको संकेत भएको बताउँदै पद र पैसाको बलमा चुनाव जित्ने कार्य गलत भएको औंल्याए ।
निर्वाचनमा केही पैसाको लोभमा मतदान गर्नु देशलाई नै कमजोर पार्ने काम भएकोसमेत उनको भनाइ थियो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले सरकार निजी विद्यालय सञ्चालक एवं शैक्षिक माफियाको चंगुलमा फस्दै गइरहेको बताए ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता सुवालले संविधानमा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने उल्लेख भए पनि यसतर्फ सरकारको ध्यान नपुगेको उल्लेख गरे ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष बिजुक्छेले विद्यालयका शिक्षकहरु कृष्णमान मलेपती, सुन्दर बासीजु, मीना प्रजापति, शोभालक्ष्मी गोसाई र प्रमिला ढुंगानालाई दोसल्ला ओढाएर दीर्घसेवा पदक वितरण गरेका थिए ।
त्यस्तै गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति सँगसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारीलाई पुरस्कृत गरिएको थियो । कार्यक्रमपश्चात विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।
वागीश्वरी प्रदेश नं. ३ सरकारबाट नमुना विद्यालयमा छनोट भएको सामुदायिक विद्यालय हो । वागीश्वरी एसईई परीक्षामा सबैभन्दा बढी विद्यार्थीहरुलाई सहभागी गराउने भक्तपुरकै उत्कृष्ट विद्यालयसमेत हो ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com