Connect with us

POLITICS

पार्क भन्दै डम्पिङ साइट बनाउन लागेपछि स्थानीयद्वारा विरोध (भिडियोसहित)

Avatar

Published

on

इको पार्कको नाउँमा डम्पिङ साइट नबनाउन विरोधमा उत्रिएका मध्यपुर थिमि नपा ९ टिगनीका स्थानीय । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । धार्मिक स्थल नीलबाराही मन्दिर परिसरमा इको पार्क भन्दै डम्पिङ साइट बनाउन लागेपछि भक्तपुरको मध्यपुर थिमि नगरपालिका ९ टिगनीका बासिन्दा विरोधमा उत्रिएका छन् ।
मध्यपुर थिमि नगरपालिकाले सुरुमा नीलबाराही मन्दिर परिसरमा इको पार्क बनाउने योजना अघि सारेको थियो । रोटरी क्लव अफ मध्यपुरमार्फत जापानको रोटरी क्लव अफ फुकुवका साउथ इस्टले उक्त पार्क बनाउन आर्थिक तथा प्राविधिक सहयोग गर्दै छ ।
सुरुमा इको पार्क बन्ने भएपछि खुसी भएका स्थानीय अहिले डम्पिङ साइट बनाउने भएपछि विरोधमा उत्रिएका हुन् ।
मध्यपुर थिमि नपाले जापानस्थित रोटरी क्लवको एक करोड आठ लाख र आफ्नो एक करोड लागतमा करिब पाँच टन क्षमताको डम्पिङ साइट बनाउन लागेको हो । उक्त साइट निर्माणसम्बन्धी मंगलबार भक्तपुर नपा ३ बाराहीस्थानस्थित होटल हेरिटेजमा छलफल कार्यक्रमसमेत गरिएको थियो । नपाका निर्वाचित जनप्रतिनिधि, पूर्वजनप्रतिनिधि र नपाका प्रबुद्ध व्यक्तिहरुको उपस्थितिमा उक्त योजनाबारे छलफल चलिरहेकै बेला होटल बाहिर स्थानीय वासिन्दाले विरोध प्रदर्शन गरे ।
उनीहरुले नीलबाराही क्षेत्रको वन तथा वातावरणलाई प्रभाव पार्ने गरी डम्पिङ साइट बनाउन नदिने चेतावनी दिए ।
मध्यपुर थिमि नपाले डम्पिङ साइट बनाउन लागेको क्षेत्र काठमाडौं उपत्यकावासीले खानेपानी प्रयोग गर्दै आएको मुहान क्षेत्रसमेत हो । उक्त योजना निर्माण गर्ने क्षेत्रबाट करिब २० मिटरको दूरीमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका इनारहरु रहेका छन् । त्यस्तै एकसय मिटर दूरीमा खानेपानी प्रशोधन केन्द्र रहेको छ ।
त्यसैले नीलबाराही क्षेत्रमा फोहर व्यवस्थापन गर्दा त्यसले उपत्यकावासीले उपभोग गर्दै आएको खानेपानी नै दूषित हुनसक्ने स्थानीय सानुकाजी राजवाहकले जानकारी दिए ।
‘नीलबाराही धार्मिक आस्थाको केन्द्र हो । यहाँ फोहर व्यवस्थापन गर्ने डम्पिङ साइट निर्माण गर्नु कदापि हुँदैन’, उनले भने, ‘यसले नीलबाराही क्षेत्रको वन तथा वातावरणमा मात्रै होइन काठमाडौं उपत्यकावासीले उपभोग गर्दै आएको खानेपानी समेत प्रदूषित बनाउन सक्छ ।’
डम्पिङ साइट निर्माण गर्ने प्रसंग उठेदेखि स्थानीयले विरोध गर्दागर्दै पनि नपाले जबरजस्ती योजना लाद्न खोजिरहेको अर्का स्थानीय विष्णु खड्काले गुनासो गरे ।
‘नीलबाराही मन्दिर परिसरमा डम्पिङ साइट निर्माण गर्ने कुरा उठाएलगत्तै हामीले विरोध गरेका थियौं’, उनले भने, ‘अब उप्रान्त यो मुद्दा उठाउँदिनँ भनेका नगर प्रमुखले फेरि यहीं मुद्दालाई उठाउनु जबरजस्ती हो ।’
उनले स्थानीयको सहमतिविना कुनै पनि हालतमा नीलबाराही मन्दिर परिसरमा डम्पिङ साइट बनाउन नदिने जिकिर गरे ।
त्यस्तै नीलबाराही सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नीलबहादुर खड्काले समितिलाई जानकारी नै नदिई नपाले वन क्षेत्रमा डम्पिङ साइट बनाउन लागेको भन्दै आपत्ति जनाए ।
उनले वनका उपभोक्ताहरुलाई जानकारी नै नदिई कसैले पनि वन क्षेत्र प्रयोग गर्न नपाइने बताए ।
सरकारले हालै देशभरका एकसय पर्यटकीय गन्तव्यमा नीलबाराही मन्दिर परिसरलाई पनि समेटेको छ तर स्थानीय सरकारले भने डम्पिङ साइट बनाउने योजना अघि सारेको छ ।

Posted by Ramesh Rajbahàk on Tuesday, December 10, 2019

सिसडोलजस्तै हुँदैन : प्रमुख श्रेष्ठ

नगर प्रमुख मदनसुन्दर श्रेष्ठले भने नीलबाराही मन्दिर क्षेत्रमा समस्याको रुपमा रहेको भूक्षय नियन्त्रण गर्दै इको पार्क बनाउन सुरुमा फोहरलाई व्यवस्थापन गरिने स्पष्ट पारे ।
‘फोहरलाई माटोले पुरेर उक्सेको ठाउँमा इको पार्क बनाउने हो’, उनले भने, ‘यहाँ नुवाकोटको सिसडोलमा जस्तो अव्यवस्थित रुपमा फोहर फालिँदैन ।’
उनले स्थानीयको सहमतिमै डम्पिङ साइटपछि इको पार्क बनाइने बताए ।
स्थानीयको विरोध भएकै कारण अहिल्यै योजना स्थगित नगरिने उनले सुनाए ।
जापानस्थित रोटरी क्लवले उक्त योजना कार्यान्वयनको लागि छिटोभन्दा छिटो नगरपालिकासँग सम्झौता गर्न चाहिरहेको छ । उसले आजभोलि नै सम्झौता भए आउँदो फेब्रुअरीदेखि काम थाल्न सहज हुने बताउँदै आएको छ ।
सहयोगी संस्थाले सम्झौताको लागि दबाब दिएपछि नगरका बुद्धिजीवी, जनप्रतिनिधि तथा पूर्वजनप्रतिनिधिहरुको सहमति लिन मंगलबार नगर प्रमुख श्रेष्ठले छलफल कार्यक्रम राखेका थिए ।
छलफलमा प्रमुख श्रेष्ठले एकदुई दिनमै उक्त योजना कार्यान्वयनसम्बन्धी सम्झौता हुने जानकारी दिए ।

विरोधबीच योजना नलाद्न सुझाव

उक्त कार्यक्रमका सबैजसो सहभागीले स्थानीयको सहमतिविना योजना अघि नबढाउन नगर प्रमुख श्रेष्ठलाई सुझाव दिए । स्थानीय समुदायको विरोधका बीच योजना अघि बढाइए कुनै हालतमा कार्यान्वयन नहुने उनीहरुको जोड थियो ।
छलफलमा सहभागी प्रदेश नं. ३ सांसद राजेन्द्रमान श्रेष्ठले पनि जनताको सहमतिविना जबरजस्ती योजना लाद्न पाइने बताए ।
त्यस्तै दलका प्रतिनिधिहरु सत्तारुढ नेकपाका जिल्ला अध्यक्ष बचन देउजा, कांग्रेसका पूर्वजिल्ला सभापति गणेशमान चक्रधर, नेमकिपाका पूर्वजिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठ, कांग्रेस मध्यपुर थिमि नगर सभापति सुरेन्द्र श्रेष्ठलगायतले नीलबाराही मन्दिर क्षेत्रको संरक्षणको लागि योजना उपयुक्त भए पनि स्थानीयको विरोधलाई सम्बोधन नगरी कार्यान्वयन नगर्न सचेत गरे ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com