Connect with us

POLITICS

१३,४४९ मत ल्याएर कांग्रेसका भडेल विजयी

Avatar

Published

on

आइतबार निकालिएको विजयी -यालीमा सहभागी हुँदै नेपाली कांग्रेस निर्वाचित उम्मेदवार कृष्णलाल भडेल । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । भक्तपुर क्षेत्र नं १ क प्रदेशको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेलदवार कृष्णलाल भडेल विजयी भएका छन् । उनले १३ हजार चार सय ४९ मत ल्याएर जीतको झण्डा फहराएका हुन् ।
उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं १ को लागि कांग्रेस उम्मेदवार थिए । उक्त निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग पराजित भडेलले यस पटक दोस्रो प्रयासमा ‘माननीय’ बन्न सफल भएका छन् । उनी पेसाले निर्माण व्यवसायी हुन् ।
चुनाव प्रचारप्रसारकै क्रममा मंसिर १ गते भडेलकी माता सेतीमायाको निधन भएको थियो । जसले गर्दा उनी चुनाव प्रचारप्रसार हिँड्न पाएनन् । तर चुनाव नजिकिएसँगै राप्रपा संयुक्तले उनलाई समर्थन गरेपछि उनको जीतको सम्भावना बढेको थियो ।
आइतबार सार्वजनिक अन्तिम निर्वाचन परिणामअनुसार विजयी भडेलका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का देवीप्रसाद ढकालले ११ हजार दुई सय ६ मत ल्याए । नेपाल मजदुर किसान पार्टीका निरज लवजूले पाँच हजार आठ सय २९ मत ल्याएर तेस्रो स्थानमा चित्त बुझाए ।
शनिबार भएको उपनिर्वाचनको अन्तिम मत परिणामअनुसार कमल थापा नेतृत्वको राप्रपाका श्यामप्रसाद नेपालले पाँच सय ७४ मत ल्याए । साझा पार्टीका सुरज प्रधानको तीनसय ९३ मत पाए ।
त्यस्तै नेकपा मालेका सुदर्शन लामिछानेले ३७, समाजवादी पार्टीका सुदर्शनकुमार मुनंकर्मीले ३२, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मिंमार लामाले ५ र नेपाली कांग्रेस बीपीका मधुसुदन न्यौपानेले २ मत ल्याए ।
यस क्षेत्रमा अघिल्लो निर्वाचनमा नेकपाका हरिशरण लामिछानेले जितेका थिए । उनको एक वर्षअघि मस्तिष्काघातबाट निधन भएपछि शनिबार उपनिर्वाचन भएको थियो । अघिल्लो निर्वाचनमा दोस्रो स्थानमा रहेको कांग्रेसले यस पटक नतिजा उल्टाएर आफ्नो पक्षमा पार्न सफल भएको हो ।
विजयी भडेलले आइतबार नै एक कार्यक्रमबीच निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । भक्तपुरका प्रमुख निर्वाचन अधिकृत जगतनारायण प्रधानले विजयी उम्मेदवार भडेललाई प्रमाणपत्र वितरण गरेका हुन् ।
आफ्नो उम्मेदवार विजयी भएपछि नेपाली कांग्रेसले आइतबार नै मतगणनास्थल विद्युत तालिम केन्द्र खरिपाटीदेखि भक्तपुर नपा १० देकोचासम्म विजय ¥याली निकालेको छ ।
कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले सोमबारदेखि निर्वाचन क्षेत्रमा रहेको चाँगुनारायण नपाको १ देखि ९ वडा र भक्तपुर नपाको १० वडामा उम्मेदवारसहित विजय ¥याली गरिने जानकारी दिए ।

सधैं जनतामै रहन्छु : भडेल

विजयी उम्मेदवार भडेलले आफू निर्वाचित भए पनि जनताबाट कहिल्यै नटाढिने वचन दिए ।
आफूलाई जिताउने जनतालाई देवताको संज्ञा दिँदै उनले आफ्नो जीत दुईतिहाइको केपी ओली सरकारको दम्भ, भ्रष्टाचार, कुशासन, मंहगी, हत्याहिंसा र बलात्कारविरुद्ध लोकतन्त्रवादी शक्तिको जीत भएको स्पष्ट पारे ।
‘म यहीं माटोमा जन्में र हुर्कें । हिजो पनि तपाईंहरुकै माझमा थिएँ, आज पनि छु र भोलि पनि रहन्छु’ नवनिर्वाचित उम्मेदवार भडेलले भने, ‘तपाईंहरुले माननीयको रुपमा जिताए पनि मैलै माननीयको रुपमा लिएको छैन । म तपाईहरुको लागि हिजो पनि दाजुभाइ र आज पनि दाजुभाइकै रुपमा रहनेछु ।’
उनले बन्न नसकेको भक्तपुर कमलविनायक सडक अबको ६ महिनाभित्र नबने त्यसका ठेकदारलाई जनताको कठघरामा उभ्याउन आफूले नेतृत्व गर्ने वचन दिए ।
नेता भडेलले भक्तपुरलाई प्रदेश ३ को राजधानी बनाउन पहल गर्ने सुनाए ।
आफ्नो निर्वाचन क्षेत्रलाई भ्रष्टाचार मुक्त बनाउनसमेत अभियान चलाउने उनको उद्घोष थियो ।
सिंगो चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाको १० वडा रहेको यस निर्वाचन क्षेत्रमा कूल ४५ हजार १५ मतदाता रहेकोमा ३२ हजार ३७ मत खसेको थियो । जसमा ४४५ मत बदर हुँदा ३१ हजार पाँचसय ९२ मत सदर भएको थियो ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com