Connect with us

POLITICS

निर्वाचन आयोगलाई नै झुक्याइयो !

Avatar

Published

on

भक्तपुर । निर्वाचन आयोग झुक्किएको छ । आयोगलाई गैरसरकारी संस्थाद्वारा सञ्चालित भक्तपुर क्यान्सर अस्पताल सरकारी अस्पताल भएको भन्ने भ्रममा पारेर झुक्याइएको हो ।
जसले गर्दा आयोगले अस्पतालमा मंसिर ८ गते गरिएको नियुक्ति निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै उक्त नियुक्ति बदर गराउने निर्णय गरेको थियो ।
अस्पताल व्यवस्थापन समितिले मंसिर ८ गते अस्पतालको निमित्त मेडिकल निर्देशकमा डा. दीपेश धिताल, नायब मेडिकल निर्देशकहरुमा डा. अजयकुमार झा र डा. उत्सवमान श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृतमा रुपेश शिलाकारलाई नियुक्त गरिएको थियो । नियुक्ति पाएका पदाधिकारीहरुले सोही दिन आआफ्नो नियुक्तिपत्र बुझेका थिए ।
उक्त नियुक्ति निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै निवेदन दिने अरु कोही नभई भक्तपुर क्यान्सर अस्पतालकै प्रशासक राजाराम तजले थिए ।

प्रशासक तजलेको निवेदनको आधारमा निर्वाचन आयोगले भक्तपुर क्यान्सर अस्पतालमा गरिएको नियुक्ति निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै उक्त नियुक्ति २४ घन्टाभित्र बदर गर्न अस्पतालको नाउँमा मंसिर १० गते स्पष्टीकरण सोधेको थियो ।
तजलेको निवेदनको आधारमा आयोगले अस्पताललाई सरकारी अस्पताल ठानेको थियो । जसले गर्दा उसले जुनसुकै तरिकाले नियुक्ति गरिएको भए पनि निर्वाचन आचारसंहिताविपरीत भएकाले बदर गर्न अस्पताल व्यवस्थापनलाई निर्देशन दिएको थियो ।
तर अस्पताल व्यवस्थापनले अस्पताल प्रशासक तजलेले अनधिकृत रुपमा नक्कली लेटर हेड र छाप प्रयोग गरी व्यवस्थापनलाई जानकारी नै नदिई आयोगमा निवेदन दिएको भनी जानकारी दिएपछि आयोगको भ्रम निवारण भएको हो । भ्रम निवारण भएपछि आयोगले बिहीबार आफूलाई भ्रममा पारेको भन्दै भक्तपुर क्यान्सर अस्पतालका प्रशासक तजलेसँग स्पष्टीकरण सोधेको छ ।
आयोगका उपन्यायाधिवक्ता रुद्रप्रसाद सुवेदीले पत्र काट्दै प्रशासक तजलेलाई २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएका छन् ।
आयोगले भक्तपुर क्यान्सर अस्पताललाई सरकारी अस्पताल ठानेर अस्पतालमा गरिएको नियुक्ति बदर गर्ने निर्णय गरिएको बताएको व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष महेश श्रेष्ठले जानकारी दिए ।
‘हामीले अस्पताल सरकारी होइन भन्दा आयोगका पदाधिकारीहरुले ‘हो र ?’ भनी आश्चर्य व्यक्त गर्नुभयो’, कार्यबाहक अध्यक्ष श्रेष्ठले भने ।
उनका अनुसार आयोगलाई भ्रममा पारेर झुक्याउनेलाई कानुनी कारबाही गर्ने आयोग पदाधिकारीहरुले बताएका छन् । जसअनुसार आयोगले अस्पतालका प्रशासक तजलेसँग अनधिकृत रुपमा अस्पतालको लेटर हेड र छापको प्रयोग गरी आयोगलाई भ्रम उत्पन्न गराइएको हो होइन भनी स्पष्टीकरण दिन भनिएको छ ।
तर प्रशासक तजलेले आयोगको पत्र बुझ्न नमानेको निर्वाचन आयोग स्रोतले बताएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com