Connect with us

POLITICS

भक्तपुरमा कांग्रेस र राप्रपा संयुक्तबीच चुनावी एकता

Avatar

Published

on

मंसिर १४ गते हुने उपनिर्वाचनको लागि कांग्रेस र राप्रपा (संयुक्त) को कार्यगत एकता घोषणा कार्यक्रमका सहभागी । तस्बिर : इन डेप्थ

भक्तपुर । यहीं मंसिर १४ गते भक्तपुर क्षेत्र नं १ क प्रदेशमा हुने उपनिर्वाचनमा नेपाली कांग्रेसलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले सघाउने भएको छ ।
कांग्रेस र राप्रपा भक्तपुरले आइतबार एक कार्यक्रम गरी उपनिर्वाचनमा चुनावी एकता गर्ने घोषणा गरेका हुन् ।
भक्तपुरका कांग्रेसको तर्फबाट कृष्णलाल भडेल चुनावी मैदानमा छन् । राप्रपा संयुक्त भने उम्मेदवारविहीन रहेको छ । उसले पार्टीको भक्तपुर अध्यक्ष रामशरण लामिछानेको उम्मेदवारी दर्ता गरेको थियो तर लामिछाने अघिल्लो प्रदेश निर्वाचनमा समानुपातिकतर्फ बन्दसूचीमा रहेकाले उनको उम्मेदवारी रद्द गरिएको थियो ।
दुई पार्टीले केन्द्रीय तहमा हुने सहमतिलाई प्रदेशसँगै संघीय र स्थानीय तहको निर्वाचनमा आत्मसात गर्ने गरी चुनावी एकता भएको बताएका छन् ।
कार्यक्रममा राप्रपा (संयुक्त) का केन्द्रीय सदस्यत्रय दिनेश श्रेष्ठ, रवीन्द्रप्रताप शाह र रामेश्वर थापाले कांग्रेसका उम्मेदवार कृष्णलाल भडेललाई जिताउने एकसूत्रीय बुँदामा सहमति भएको सुनाए ।
उनीहरुले कांग्रेस, नेकपा र नेमकिपालाई मंसिर १४ गतेको निर्वाचनमा नजिते पनि केही फरक नपर्ने तर राप्रपा (संयुक्त) को लागि निर्वाचन जित्नु जीवनमरणको सवाल रहेको जिकिर गरे ।
‘कांग्रेस, नेकपा र नेमकिपालाई मंसिर १४ गतेको निर्वाचन हार्दैमा केही फरक पर्दैन’, उनीहरुले एकै स्वरमा भने, ‘तर राप्रपा (संयुक्त) लाई असर पर्छ । यो चुनाव हाम्रो लागि जीवनमरणको प्रश्न हो । त्यसैले हाम्रो साझा उम्मेदवारले चुनाव जित्नु अत्यन्त जरुरी छ ।’
उनीहरुले यो कार्यगत एकताले नेपाली लोकतान्त्रिक आन्दोलनमा दूरगामी असर पर्ने दावी गर्दै यसलाई लामो समयसम्म निरन्तरता दिनुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले पनि दुई पार्टीका शीर्ष नेताहरुबीच हुने सहमतिलाई अक्षरसः पालना गर्ने गरी चुनावी तालमेल गरिएको जानकारी दिए ।
सत्तारुढ नेकपाको दुईतिहाइको दम्भ, अधिनायकवादविरुद्ध जनतालाई एकजुट हुन सघाउ पुग्ने गरी चुनावी तालमेल गरिएको उनको भनाइ थियो ।
कार्यक्रममा मातृशोकमा परेका नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भडेलसमेत उपस्थित भएका थिए । उनले आफू मातृशोकमा परेर जनताबीच जान नसकेको अवस्थालाई ख्याल गरेर राप्रपा (संयुक्त) ले साथ दिएकोमा धन्यवाद ज्ञापन गरे ।

सहमति गोप्य

दुई दलले गरेको सहमति भने गोप्य राखिएको छ । निर्वाचनको परिणाम आएपछि उक्त सहमति सार्वजनिक गरिने राप्रपाका एक केन्द्रीय नेताले जानकारी दिएका छन् ।
अहिल्यै सहमति सार्वजनिक गरिँदा नेता तथा कार्यकर्ताहरुमा हानथाप हुनसक्ने र उनीहरुबाट ‘बार्गेनिङ’ हुन सक्ने भएकाले अहिले गोप्य राखिएको उनको भनाइ थियो ।
‘अहिल्यै सहमति सार्वजनिक गरिँदा नेता तथा कार्यकर्ताहरुबाट बार्गेनिङ हुन सक्छ । जसले निर्वाचन प्रभावित हुनसक्ने देखियो’, उनले भने, ‘त्यसैले अहिलेलाई सहमति गोप्य राखेका छौं । निर्वाचन परिणामपछि त्यसलाई सार्वजनिक गर्नेछौं ।’
उनले कसैले नहार्ने तथा कोही तल नपर्ने गरी दुवै पार्टीले जित्ने गरी ‘विनविन’ सहमति गरिएको स्पष्ट पारे ।
यो एकतासँगै प्रदेश निर्वाचनमा कांग्रेस बलियो देखिएको छ । कांग्रेस र राप्रपा संयुक्तका नेताहरुले कम्युनिष्ट तानाशाहीविरुद्ध कमल थापा नेतृत्वको राप्रपालाई समेत कांग्रेसका उम्मेदवार बनेका कृष्णलाल भडेललाई समर्थन गर्न आह्वान गरेका छन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com