Connect with us

POLITICS

आआफ्नो स्वार्थ हेर्दै चाँगुनारायण र मन्डन देउपुर

Avatar

Published

on

स्वीकृत हुन सकेन नगरकोटमा पर्यटन प्रवेश शुल्क ठेक्का

भक्तपुर । दुई नगरपालिकाबीच अलमल हुँदा नगरकोट क्षेत्र प्रवेश गर्ने विदेशी पर्यटकहरुसँग आर्थिक वर्ष २०७६/७७ को तीन करोड लागि प्रवेश शुल्क लिन आह्वान गरिएको टेन्डर स्वीकृत हुन सकेको छैन । भक्तपुरको चाँगुनारायण नगरपालिका र काभ्रेको मन्डन देउपुर नगरपालिकाले संयुक्त रुपमा गएको जेठ २६ गते सार्वजनिक सूचना निकालेले टेन्डर आह्वान गरेका थिए ।
उक्त आह्वानअनुसार भक्तपुरका आगञ्जा कन्स्ट्रक्सन र निकेश मल्टिपर्पोज प्रालिले टेन्डर फारम भरेर बुझाएका थिए ।
उक्त सूचनाअनुसार गएको असार २४ गते बोलपत्र खोलिसकेको छ । जसअनुसार आगञ्जा कन्स्ट्रक्सनले तीन करोड २० हजार र निकेश मल्टिपर्पोजले तीन करोड २९ लाख रुपैयाँ कबोल गरेर टेन्डर हालेका थिए । बोलपत्रअनुसार बढी रकम कबोल गर्ने निकेशको बोलपत्रमा रीत पुगेको छैन तर रीत पुगेको आगञ्जाको कबोल रकम कम छ ।
भक्तपुरको चाँगुनाराण नपा कम रकम कबोल गरे पनि रीत पुगेको आगञ्जालाई टेन्डर दिने पक्षमा पुगेको छ तर काभ्रेको मन्डन देउपुर नपा रीत पु¥याएर बढी रकम कबोल गर्ने निकेशलाई टेन्डर दिने पक्षमा रहेको छ ।
मन्डन देउपुरले यहीं प्रक्रियामा निकेशलाई टेन्डर दिन नमिल्ने भए पुनः टेन्डर आह्वान गर्न चाँगुनारायण नपालाई भनेको छ तर चाँगुनारायण नपा पुनः टेन्डर आह्वान गर्न तयार नहुँदा बोलपत्र खोलेको एक महिना पूरा हुँदा पनि बोलपत्र स्वीकृत हुन नसकेको हो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी तिम्सिनाले टेन्डर स्वीकृत गर्नेबारे दुइटै नपाको संयुक्त बैठक बस्न नसक्दा निर्णय दिन नसकिएको जानकारी दिए ।
उनका अनुसार दुइटै नपाका प्रमुखसँगै प्रमुख कार्यकारी अधिकृत रहेका छुट्टाछुट्टै समिति बनाइएका छन् । ती समितिको बैठक बस्न नसकिँदा मूल्यांकनसहित टेन्डर स्वीकृत हुन नसकेको उनको भनाइ थियो ।
पटकपटक संयुक्त बैठक आह्वान गरिँदा पनि मन्डन देउपुरका प्रमुख तथा प्रमुख कार्यकारी अधिकृत बैठकमा सहभागी नभएको तिम्सिनाले जानकारी दिए ।
मन्डन देउपुर नपाका प्रवक्ता डिल्लीप्रसाद आचार्यले सार्वजनिक खरिद ऐनअनुसार बढी रकम कबोल गर्नेलाई टेन्डर दिइनुपर्ने पक्षमा आफूहरु रहेको जानकारी दिए ।
बढी रकम कबोल गर्नेको बोलपत्र रीत नपुगेको भए पुनः टेन्डर आह्वान गर्न चाँगुनारायण नपालाई भनेको तर उसले नमान्दा समस्या आएको उनको भनाइ थियो ।
तर टेन्डर हालेका आगञ्जा कन्स्ट्रक्सनका सञ्चालक राजेन्द्र आगञ्जाले नियोजित रुपमा आफूलाई टेन्डर नदिन ढिलासुस्ती गरिरहेको आरोप लगाए ।

नगरकोट क्षेत्र प्रवेश गर्ने विदेशी पर्यटकहरुसँग प्रवेश शुल्क लिन आह्वान गरिएको सूचना ।

दुई टेन्डरमध्ये आफ्नो रीत पुगेको निश्चित भएपछि आफूलाई नियमानुसार पर्यटक प्रवेश कर उठाउन दिइनुपर्ने उनको माग थियो ।
व्यवसायी आगञ्जाले नगरकोटको टेन्डर आफूलाई नदिए दुइटै नपाविरुद्ध अदालतमा मुद्दा हाल्नेसमेत चेतावनी दिए ।
त्यस्तै निकेश मल्टिपर्पोजका सञ्चालक रमेश अधिकारीले आफ्नो बोलपत्रमा कबोल अंक लेख्न छुटे पनि टेन्डर सूचनाअनुसार कबोल रकमको पाँच प्रतिशत रकम नपाको खातामा जम्मा गरिदिएको आधारमा बढी रकम कबोल गर्ने आफूलाई टेन्डर दिनुपर्ने माग गरेका छन् ।
उनले पनि आफूलाई टेन्डर नदिए अदालत जाने चेतावनी दिएका छन् ।
‘मैले बोलपत्रमा कबोल अंक लेख्न भुलेँ पनि सूचनाअनुसार कबोल गरेको रकमको पाँच प्रतिशत रकम नपाको खातामा बुझाएको छु’, अधिकारीले भने, ‘मेरो बोलपत्र रीत नपुगेको दावी गर्ने हो भने टेन्डर आह्वान नै सार्वजनिक खरिद ऐनअनुसार नभएकोविरुद्ध म पनि अदालत जान्छु ।’
आगञ्जा कन्स्ट्रक्सनले यसअघि चाँगुनारायण नपाको र निकेशले मन्डन देउपुरको सोही ठेक्का हात पारेका थिए । जसले गर्दा दुवै पक्षले उक्त ठेक्का पाउनुपर्ने जिकिर गर्दै आएका हुन् ।
उक्त ठेक्का स्वीकृत हुन नसकेपछि दुई नपाले आफ्नै कर्मचारीमार्फत नगरकोट पुग्ने विदेशी पर्यटकहरुसँग शुल्क उठाएका छन् । दुई नपाले एकएक हप्ता प्रवेश शुल्क उठाउने गरेका छन् । नगरकोटमा पर्यटन प्रवेश शुल्क उठाउन नगरकोटस्थित भट्टे डाँडा र सुडालस्थित कलमसीमा दुइटा काउन्टर स्थापना गरिएका छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com