Connect with us

इन डेफ्ट

लिने होइन त सहुलियतपूर्ण कर्जा ?

Avatar

Published

on

रामकाजी खाइजू

के तपाई कृषि तथा पशुपंछीपालन व्यवसाय गर्ने सोचमा हुनुहुन्छ ?
के तपाई वैदेशिक रोजगारीबाट फर्केको युवा हुनुहुन्छ र विदेशमा सिकेको सीप स्वदेशमा लगाएर व्यवसाय गर्न चाहनुहुन्छ ?
के तपाई कम्तीमा स्नातक तह उत्तीर्ण शिक्षित बेरोजगार युवा हुनुहुन्छ र स्वरोजगार हुन चाहनुहुन्छ ?
यदि त्यसो हो भने सहुलियतपूर्ण कर्जा तपाईका लागि वित्तीय सहयोगी हुनसक्छ ।
के हो सहुलियतपूर्ण कर्जा ?
सरकारले व्याज अनुदान दिने र घरजग्गाको धितोविना पनि बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने कर्जालाई सहुलियतपूर्ण कर्जा भनिन्छ । नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत ‘सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ अनुसार नेपालका बैंक तथा वित्तीय संस्थाहरुले लक्षित ऋणीहरूलाई ब्याज अनुदान प्राप्त हुने गरी विभिन्न ७ प्रकारका सहुलियतपूर्ण कर्जा प्रवाह गर्न सक्नेछन् । यसअन्तर्गत प्रतिऋणी रु.५ करोडसम्म प्रवाह हुने व्यावसायिक कृषि तथा पशुपंछी कर्जा, रु.७ लाखसम्म प्रवाह हुने शिक्षित युवा स्वरोजगार कर्जा, रु.१० लाखसम्म प्रवाह हुने विदेशबाट फर्केका युवा परियोजना कर्जा, रु.१५ लाखसम्म प्रवाह हुने महिला उद्यमशीलता कर्जा, रु.१० लाखसम्म प्रवाह हुने दलित समुदाय व्यवसाय विकास कर्जा, रु.५ लाखसम्म प्रवाह हुने उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा र रु.३ लाखसम्म प्रवाह हुने भूकम्प पीडितहरूको निजी आवास निर्माण कर्जा रहेका छन् ।

कर्जाको भुक्तानी अवधि

यी सहुलियतपूर्ण कर्जाको भुक्तानी अवधि बढीमा ५ वर्षको हुनेछ तर व्यवसायको प्रकृतिअनुसार सम्बन्धित बैंक तथा वित्तीय संस्थाले कर्जाको अवधि तोक्न सक्नेछ । साथै यस्तो कर्जाको भुक्तानी प्रयोजनको लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले कर्जाको प्रकार, रकम, उद्देश्य र जोखिमको स्तरलगायतका आधारमा किस्ता भुक्तानी अवधि निर्धारण गर्न सक्नेछ ।

व्याजदर र ब्याज अनुदान

नेपाल सरकारले ब्याज अनुदान उपलब्ध गराउने यी सहुलियतपूर्ण कर्जामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दर ९द्यबकभ च्बतभ० मा २ प्रतिशत विन्दुभन्दा बढी नहुने गरी ब्याजदर कायम गर्नुपर्ने छ अर्थात् बैंकको आधारदर १० प्रतिशत छ भने त्यसमा २ प्रतिशतसम्म थप गरेर १२ प्रतिशतसम्म ब्याजदर कायम गर्न सक्नेछ । यस्तो कर्जा प्रवाह गर्दा कर्जाको ब्याजबाहेक अन्य कुनै प्रकारको थप सेवा शुल्क बैंकले लिन पाउने छैन ।
बैंक तथा वित्तीय संस्थाहरुले यस्तो कर्जामा निर्धारण गरेको ब्याजदरमध्ये ५ प्रतिशत ब्याज अनुदान उपलब्ध हुनेछ र बाँकी व्याजमात्र ऋणीले तिर्नु पर्दछ अर्थात् कर्जाको ब्याजदर १२ प्रतिशत भए ५ प्रतिशत सरकारको अनुदान हुन्छ र ऋणीले ७ प्रतिशतमात्र तिरे पुग्छ । महिला उद्यमशीलता कर्जाको हकमा ब्याज अनुदान ६ प्रतिशत उपलब्ध हुनेछ । तर पाँच करोड रुपैयाँभन्दा बढीको व्यावसायिक कृषि तथा पशुपंछी कर्जामा २ प्रतिशतमात्र ब्याज अनुदान उपलब्ध गराइने छ ।

कर्जा सुरक्षण शुल्क र बीमा प्रिमियममा अनुदान

प्रवाह गरिएको सहुलियतपूर्ण कर्जा निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत सुरक्षण गराउनुपर्ने हुन्छ । दस लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कृषि तथा पशुपंछी कर्जाबाहेकका सहुलियतपूर्ण कर्जाको निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत सुरक्षण गराउँदा बैंक तथा वित्तीय संस्थाहरुलाई लाग्ने शुल्कको ७५ प्रतिशत बराबरको रकम सरकारबाट अनुदान उपलब्ध हुनेछ ।
साथै दस लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कृषि तथा पशुपंछी कर्जाबाहेकका सहुलियतपूर्ण कर्जा लिई गरिने व्यवसायको बीमा गर्नुपर्ने हुन्छ । यसरी व्यवसायको बीमा गर्दा लाग्ने बीमा प्रिमियममा ७५ प्रतिशत सरकारी अनुदान उपलब्ध हुनेछ अर्थात् ऋणीले व्यवसाय बीमा गर्दा लाग्ने प्रिमियमको २५ प्रतिशतमात्र व्यहोर्नु पर्नेछ ।

कतिसम्म पाइन्छ सहुलियतपूर्ण कर्जा ?


व्यावसायिक रुपमा गरिएको र गरिने कृषि तथा पशुपंछीजन्य व्यवसायका लागि रु.५ करोडसम्मको व्यावसायिक कृषि तथा पशुपंछी कर्जा प्रवाह गरिने कार्यविधिमा उल्लेख छ । रु.१० लाखसम्मको यस्तो कर्जा बैंक तथा वित्तीय संस्थाहरूले सामूहिक जमानीमा र सोभन्दा बढीको कर्जा व्यावसायिक परियोजना धितोमा प्रवाह गर्न सक्नेछन् ।
कार्यविधिअनुसार बैंक तथा वित्तीय संस्थाहरुले एकल वा सामूहिक रुपमा उद्यमशील बन्न चाहने महिलाहरुलाई व्यक्तिगत वा सामूहिक जमानीमा रु.१५ लाखसम्मको महिला उद्यमशीलता कर्जा प्रवाह गर्न सक्नेछन् । वैदेशिक रोजगारीबाट फर्केका युवालाई उसले विदेशमा सिकेको सीप प्रयोग गरी सञ्चालन गर्ने परियोजना धितोमा रु.१० लाखसम्मको विदेशबाट फर्केका युवा परियोजना कर्जा प्रवाह गर्न सकिने छ । कम्तीमा स्नातक तह वा सोसरह उत्तीर्ण युवाहरुलाई सक्कल शैक्षिक प्रमाणपत्रको धितोमा रु.७ लाखसम्मको शिक्षित युवा स्वरोजगार कर्जा प्रवाह गर्न सकिने छ भने माध्यमिक शिक्षा वा सोसरह उत्तीर्ण गरी २५ वर्ष उमेर ननाघेको नेपाली नागरिकलाई स्वेदशको कुनै कलेज वा विश्वविद्यालयमा थप अध्ययन गर्न रु.५ लाखसम्मको उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा प्रवाह गरिने छ ।
यसका साथै सम्बन्धित नगरपालिका वा गाउँपालिकाले ‘दलित’ भनी सिफारिस गरेको जनजातिको समुदायलाई समूहमा वा एकल रुपमा रु.१० लाखसम्म दलित समुदाय व्यवसाय विकास कर्जा प्रवाह हुनेछ भने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग निजी आवास निर्माण गर्न सम्झौता गरी आर्थिक अभावका कारण आवास निर्माण सुरु गर्न नसकेका भूकम्प पीडित व्यक्तिहरुलाई मात्र सामूहिक वा धितो जमानीमा रु.३ लाखसम्मको भूकम्प पीडितहरूको निजी आवास निर्माण कर्जा प्रवाह गरिनेछ ।

सहुलियतपूर्ण कर्जा : सुन्दा राम्रो तर पाउन गा¥हो

सरकारले व्यवस्था गरेको सहुलियतपूर्ण कर्जाको बारेमा सुन्दा जति कर्णप्रिय लाग्छ, यस्तो कर्जा पाउन त्योभन्दा बढी कष्टकर छ । सहुलियतपूर्ण कर्जा लिनका लागि स्थायी लेखा नम्बर (पान) अनिवार्य गरिएको छ । कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेकोले मात्र यस्तो कर्जा लिन पाउँछन् । १८ वर्ष उमेर पूरा भएको सँगै कर्जाको किसिमअनुसारका अन्य योग्यता पूरा भएको व्यक्तिले मात्र यस्तो कर्जा प्राप्त गर्न सक्छन् । एक व्यक्तिले कुनै एक प्रकारको सहुलियतपूर्ण कर्जामात्र लिन पाउने छ । नेपाल सरकारबाट ब्याज अनुदान प्राप्त अन्य कर्जा लिएको व्यक्तिले यस प्रकारको सहुलियतपूर्ण कर्जा थप लिन पाउनेछैन ।
जुन उद्देश्यको लागि सहुलियतपूर्ण कर्जा लिएको हो सोही उद्देश्यमा कर्जा उपयोग गर्नुपर्ने छ । दस लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कृषि तथा पशुपंछी कर्जाबाहेकका सहुलियतपूर्ण कर्जा लिई गरिने व्यवसायको अनिवार्य बीमा गर्नुपर्ने हुन्छ । ऋणीले पाउने ब्याज अनुदान सुविधाबाहेक अन्य सम्पूर्ण ब्याज रकम, सुरक्षण शुल्क र बीमा प्रिमियम सम्बन्धित बैंक तथा वित्तीय संस्था, निक्षेप तथा कर्जा सुरक्षण कोष र सम्बन्धित बीमा कम्पनीलाई भुक्तानी गरेपछि मात्र ब्याज अनुदान सुविधाका लागि ऋणी योग्य मानिने व्यवस्था पनि छ । यसको अर्थ कर्जा सम्बन्धमा ऋणीले भुक्तानी गर्नुपर्ने सम्पूर्ण लागत व्यहोरिसकेपछि मात्र व्याज अनुदान प्राप्त गर्न सकिन्छ । सबै योग्यता पुगेर सहुलियतपूर्ण कर्जा लिए पनि बीचमा केही समस्या भए सरकारबाट ब्याज अनुदान प्राप्त नभई तोकिएको सबै ब्याज र अन्य शुल्क ऋणी स्वयम्ले तिर्नुपर्ने पनि हुनसक्छ । यद्यपि तोकिएको योग्यता पुगेका सबै नागरिकले नियमानुसारको प्रक्रिया पूरा गरी सहुलियतपूर्ण कर्जा लिई लाभ लिन भने नसक्ने होइन ।

कहाँ पाइन्छ सहुलियतपूर्ण कर्जा ?

सरकारबाट स्वीकृत कार्यविधिअनुसार सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने व्यवस्था मिलाउन केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुलाई परिपत्र जारी गरिसकेको छ । तर थोरै बैंक तथा वित्तीय संस्थामात्र यस्तो कर्जा प्रवाह गर्न इच्छुक देखिएका छन् । धेरैजसो बैंकहरुमा लगानीयोग्य कोषको अभाव रहेको हुँदा ती बैंकहरु सहुलियतपूर्ण कर्जामात्र होइन अन्य व्यावसायिक कर्जा पनि थप प्रवाह गर्न सक्ने अवस्थामा छैनन् ।
एकातिर सरकारले तोकेको कार्यविधिअनुसारको सहुलियतपूर्ण कर्जा प्रवाहका लागि बैंक तथा वित्तीय संस्थाहरुले छुट्टै कार्यविधि तयार गर्नुपर्ने हुन्छ र यसका लागि समय लाग्न सक्छ । अर्कोतिर कार्यविधिले तोकेको योग्यता पुगेका लक्षित ऋणी भेट्टाउन र ब्याज अनुदानलगायत अन्य शुल्कको अनुदान रकम प्राप्त गर्न झन्झट बोहोर्नुपर्ने त छँदै छ । त्यसैले सहुलियतपूर्ण कर्जा प्रवाहमा अधिकांश बैंक तथा वित्तीय संस्थाहरु त्यति उत्साहित देखिँदैनन् ।
हालसम्म पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले यस्तो सहुलियतपूर्ण कर्जा प्रवाह गर्न कार्यविधि तयार गरी कर्जा लिन आह्वान गरिसकेको छ । अर्को सरकारी बैंक कृषि विकास बैंकले पनि सहुलियतपूर्ण कर्जा प्रवाह गर्न तत्परता देखाएको छ । निजी क्षेत्रका एनएमबी बैंक र सिद्धार्थ बैंकले पनि सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने जनाउँदै कर्जा लिन आह्वान गरिसकेका छन् । नेपाल बैंकलगायत अन्य केही निजी बैंकहरुले पनि तत्परता देखाएका छन् । तर सबैले सहुलियतपूर्ण कर्जा प्रदान गरिसकेको अवस्था छैन ।
सरकारबाट स्वीकृत कार्यविधिबमोजि सहुलियतपूर्ण कर्जा प्रवाह गर्न नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुलाई परिपत्र जारी गरिसकेको अवस्थामा ढिलो चाँडो सबै बैंक तथा वित्तीय संस्थाहरुले सहुलितपूर्ण कर्जा उपलब्ध गराउनै पर्छ । यसका लागि तोकिएको योग्यता पुगेका लाभग्राहीले आफ्नो नजिकका बैंक शाखामा सम्पर्क गरी सहुलियतपूर्ण कर्जाको माग गरिरहनु पर्दछ । पटक पटक आग्रह गर्दा पनि सहुलियतपूर्ण कर्जा दिन आनाकानी गरे नेपाल राष्ट्र बैंकमा गुनासो गर्न सकिनेछ । गुनासो बैंकको कार्यालयमा गएर र बैंकको प्रवक्तालाई फोनमार्फत पनि गर्न सकिन्छ । सहुलियतपूर्ण कर्जाको व्यवस्था वास्तविक कृषि व्यवसाय गर्ने, आफूले सिकेको सीप उपयोग गर्ने, स्वरोजगार हुन चाहने कृषक, व्यवसायी, वैदेशिक रोजगारबाट फर्केका युवा र शिक्षित बेरोजगारलगायतका नागरिकलाई आवश्यक पुँजी उपलब्ध गराउन सहयोग गर्ने हिसाबले गरिएको हुँदा तोकिएको योग्यता पुगेका लक्षित वर्गले यस्तो अवसर खेर फाल्नु हुँदैन । यसका लागि तोकिएको योग्यता पुगेका लक्षित वर्गले आवश्यक कागजातसहित बैंक तथा वित्तीय संस्थाहरुमा सम्पर्क गरी कर्जा माग गरिरहनु पर्दछ । यसो गरिएन भने अन्य सरकारी अनुदान जस्तै सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान लक्षित वर्गले नपाउने, अन्य टाठाबाठा नागरिकले पाउने हुन सक्छ ।

कति प्रवाह भए सहुलियतपूर्ण कर्जा ?

नयाँ कार्यविधिअनुसारको सहुलियतपूर्ण कर्जा जुन उद्देश्य र प्रयोजनको लागि व्यवस्था गरिएको हो सोअनुसार प्रवाह हुन सकेको पाइँदैन । यसअघिको पुरानो कार्यविधि व्यावसायिक कृषि तथा पशुपंक्षी कर्जामा प्रदान गरिने ब्याज अनुदानसम्बन्धी कार्यविधि २०७३ अनुसार जे जति कर्जा प्रवाह भएको हो त्यही कर्जामात्र प्रवाह भइरहेको अवस्था छ । सोअनुसार २०७५ भदौ मसान्तसम्ममा नेपाल सरकारबाट ५ प्रतिशत ब्याज अनुदान प्रदान गरिने कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा ८,९३० जनाले उपयोग गरेका थिए । सो अवधिमा यस्तो कर्जा रु.१० अर्ब ६६ करोड कर्जा बक्यौता रहेको थियो भने रु.५९ करोड ६६ लाख ब्याज अनुदान प्रदान गरिएको थियो । यसरी प्रदान गरिएको सहुलियतपूर्ण कर्जा पनि नयाँ कार्यविधिअनुसार प्रदान गरिएको मानिएको छ । सोहीअनुसार नयाँ र पुरानो कार्यविधिअनुसार नेपाल सरकारबाट ५ प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा २०७५ माघ मसान्तसम्ममा १०,४८७ जना ऋणीले उपयोग गरेका छन् । यसअन्तर्गत रु.१८ अर्ब ६४ करोड कर्जा बक्यौता रहेको छ भने रु.८८ करोड ५५ लाख ब्याज अनुदान प्रदान गरिएको छ ।
२०७५ पुस मसान्तसम्ममा यस्तो कर्जावापत १०,४८४ जना ऋणीले रु.१८ अर्ब ६१ करोड उपयोग गरेका थिए । २०७५ कात्तिक र मंसिर मसान्तसम्ममा ९,७४९ जना ऋणीले रु.१४ अर्ब ३९ करोड बराबरको कर्जा उपयोग गरेका थिए । यसैगरी २०७५ असोज मसान्तसम्ममा ९,५६३ जना ऋणीले रु.१४ अर्ब १२ करोड बरारबको कर्जा उपयोग गरेका थिए भने रु.६७ करोड ९२ लाख ब्याज अनुदान प्रदान गरिएको थियो ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com