Connect with us

HEALTH

‘नेपाली आमाको स्तनपानको तरिका गलत’

Avatar

Published

on

स्तनपानसम्बन्धी जानकारी दिँदै डा. मञ्जेश्वरी उलक । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । बालरोगका विशेषज्ञ चिकित्सकहरुले ९९ प्रतिशत नेपाली आमाहरुले आफ्ना शिशुहरुलाई गराउँदै आएको स्तनपान गलत रहेको बताएका छन् ।
नेपाली आमाहरुले शिशुलाई स्तनको मुन्टोमात्रै चुसाउने गरेको उनीहरुको भनाइ थियो तर स्तनको मुन्टो वरिपरि हुने कालो भाग (एरिओला) सम्मै शिशुलाई चुस्न दिनुपर्ने विशेषज्ञ चिकित्सकहरुको सुझाव छ ।
२८ औं विश्व स्तनपान सप्ताहको अवसरमा चिमालय च्यारिटीले शनिबार गरेको कार्यक्रममा बालरोग विशेषज्ञ चिकित्सक डा. मञ्जेश्वरी उलकले भनिन्, ‘स्तनको मुन्टो दूध आउने बाटोमात्रै हो । त्यसैले एरिओलासम्मै शिशुलाई चुस्न दिनुपर्छ ।’
रोटरी क्लव अफ मध्यपुर, विनरह्वील मध्यपुर र रोट-याक्ट क्लव अफ मध्यपुरको सहयोगमा भएको उक्त कार्यक्रममा उनले जति स्तनपान गराइन्छ, त्यति नै आमाको दूध बढ्ने जन्मेको ६ महिनासम्म आमाको दूध शिशुको लागि पर्याप्त भएको स्पष्ट पारिन् ।

‘स्तनपान गराउने तरिका नै नमिल्दा शिशुले राम्ररी स्तनपान गर्न पाउँदैन’, डा. उलकले थपिन्, ‘शिशुलाई मुन्टोमात्रै चुसाउँदा कति आमाको स्तनबाट दूध नै आउँदैन । जसले गर्दा शिशु थाकेर पछि पछि दूध चुस्न नै मान्दैन ।’
उनले गलत स्तनपानका कारण एकातिर शिशुहरु कुपोषणको शिकार हुने र अर्कोतिर आमालाई स्तनसम्बन्धी विभिन्न रोगहरु बढिरहेको स्पष्ट पारिन् ।
स्तनपान शिशुको लागि पहिलो एवं प्राकृतिक खोप भएको भन्दै उनले शिशुलाई स्तनपान गराउन आमाको स्तनको आकारले कुनै असर नगर्ने बताइन् ।
‘स्तन ठूलो वा साना भएकै कारण शिशुलाई गराउने स्तनपानमा कुनै असर गर्दैन’, डा. उलकले भनिन्, ‘शिशुले दूध नचुसेसम्म दूध बन्दैन । शिशुले दूध चुस्न थालेपछि आमाको शरीरमा दूध बन्ने हार्मोन उत्पादन हुन्छ । त्यसैले राम्ररी स्तनपान नगराउँदा दूध बन्ने हार्मोनको विकासमा असर गर्छ ।’
उनले अधिकांश आधुनिक महिलाहरुमा शिशुलाई स्तनपान गराउँदा आफ्नो शारीरिक रुप रंग बिग्रने भ्रम रहेको स्पष्ट पारिन् । तर स्तनपान गराउँदा झन् शारीरिक रुप रंग सन्तुलित हुने र मोटोपना घट्ने उनको भनाइ थियो ।
डा. उलकले आमाले शिशुलाई स्तनपान गराउँदा दुवैपट्टि बराबर खुवाउनुपर्ने तर एकापट्टिको खुवाउँदा नै पूरा निखारेर खुवाउन सुझाव दिइन् ।
‘शिशुलाई स्तनपान गराउँदा आमाको शरीरबाट दुई थरिको दूध उत्पादन हुन्छ । सुरुमा ल्याक्टोज बढी तर फ्याट र प्रोटिन कम भएको दूध आउँछ । पछि ल्याक्टोज कम हुँदै फ्याट बढी भएको दूध आउँछ । फ्याट बढी भएकाले बच्चा चाँडै अघाउँछ’, उनले थपिन्, ‘त्यसैले एकपटक स्तनपान गराउँदा पूरै दूध निखार्ने गरी खुवाउनुपर्छ । यसले पछि आमालाई स्तनसम्बन्धी समस्या तथा रोग पनि हुन दिँदैन ।’
अर्का बालरोग विशेषज्ञ डा. रामकृष्ण चन्द्योले जन्मेको एकघन्टाभित्र शिशुलाई अनिवार्य रुपमा आमाको स्तनपान गराउनुपर्ने बताए ।
तर आधुनिकतासँगै सामान्य प्रशूति हुने आमाहरुको संख्यामा कमी आएसँगै शिशुहरुले जन्मेको एकघन्टामा आमाको दूध खान नपाइरहेको उनको भनाइ थियो ।
‘सन् २०१६ मा गरिएको सर्वेक्षणअनुसार नेपालमा शिशु जन्मेको एकघन्टाभित्र स्तनपान गराउने आमाहरुको संख्या जम्मा ५५ प्रतिशत रहेको छ’, डा. चन्द्योले भने ।
उनका अनुसार नेपालमा पाँच वर्षमा एकपटक प्रजनन स्वास्थ्य तथा स्तनपानसम्बन्धी सर्वेक्षण हुँदै आएको छ । जुन सन् २०२१ मा हुने तयारी गरिएको उनले बताए ।
‘५० प्रतिशतभन्दा बढी गर्भवतीले अप्रेसनमार्फत शिशु जन्माउँछन्’, उनले भने, ‘अप्रेसन गरेका आमाले शिशु जन्मेको एकघन्टाभित्र स्तनमान गराउन सक्दैनन् ।’
डा. चन्द्योले नेपालमा बाल तथा किशोरी विवाहले गर्दा पनि स्तनपान प्रभावित हुँदै आएको छ ।
उनले प्रशूति गराउने अस्पतालहरुमा सही स्तनपान गराउनेबारे परामर्शको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com