Connect with us

HEALTH

‘संस्थाबारे भ्रामक तथा गलत सामग्रीबारे एनएपीएन सचेत’

Avatar

Published

on

काठमाडौं । राष्ट्रिय एचआईभी तथा एड्स महासंघ (एनएपीएन) ले आफ्नो संस्था र संस्थाको नेृतत्वको बारेमा सामाजिक सञ्जालहरुमा आएका भ्रामक तथा गलत टिकाटिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
एनएपीएनले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघको कार्यविधि, कार्य समितिको जिम्मेवारी र कार्य प्रणाली, आन्तरिक क्रियाकलाप महासंघका लागि विशुद्ध संस्थागत र रणनीतिक सवाल भएकाले यस विषयलाई कसैको व्यक्तिगत सवालसँग जोडेर हेर्नु उपयुक्त नहुने स्पष्ट पारेको हो ।
‘केही समयदेखि राष्ट्रिय एचआईभी तथा एड्स महासंघ र यसको नेतृत्वका बारेमा विभिन्न भ्रामक र गलत टिकाटिप्पणीहरु सामाजिक सञ्जालमा देखिन थालेकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ’, जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय एचआईभी तथा एड्स महासंघ र वर्तमान कार्य समिति आफ्नो उद्देश्य र क्रियाकलापहरुको दृष्टिकोणका आधारमा सम्पूर्ण विषयमा स्पष्ट छ । साथै महासंघले उठाउँदै आएको सुशासन, पारदर्शिता, कार्य सम्पादन, वकालत र अर्थपूर्ण सहभागिताका लागि पनि महासंघ नेतृत्व कटिबद्ध छ ।’
उसले संक्रमितहरुको क्षमता अभिवृद्धि, सर्वसुलभ, गुणस्तरीय र संक्रमितमैत्री उपचार तथा सहयोग, समान र अर्थपूर्ण सहभागिता र सम्पूर्ण सक्रमितहरुको दिगो विकासको लागि वकालत गर्नु आफ्नो मुख्य अभिष्ट रहेको जनाएको छ ,
महासंघप्रति कहींकतै भ्रम र पूर्वाग्रह नराख्न आग्रह गर्दै एनएपीएनले विज्ञप्तिमार्फत भनेको छ, ‘नेपाल सरकारले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को परिच्छेद –९ मा उल्लेखित अश्लील तथा यौनजन्य सामग्रीहरु कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय वा अन्य माध्यमहरुबाट प्रकाशन, प्रसारण वा प्रदर्शन गर्नु सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धमा हुने, व्यक्तिलाई अपमान तथा हैरानी गर्ने, घृणा वा द्वेष फैलाई समाजमा विकृति विसंगति बढाउने हुँदा कानुनद्वारा दण्डनीय हुने भनेर परिभाषित गरिसकेको छ । नेपालको कानुनको अक्षरसः पालना गर्दै हालसम्म दोस्रो पक्षको महासंघका सदस्य र कर्मचारीहरुसँग भएको त्यस प्रकारका वार्तालाप, प्राप्त भएको सन्देश, तस्बीर, भिडियोको कपी वा स्क्रिनसट लिई प्रोफाइलको लिंक, यूआरएल साथै अन्य कानुनी प्रक्रियाको लागि आवश्यक दस्तावेजहरु सुरक्षित राखिएको छ र अब उपरान्त त्यस प्रकारका कुनै पनि संस्था, व्यक्तिलाई अपमान तथा हैरानी गर्ने, घृणा वा द्वेष फैलाई समाजमा विकृति विसंगति बढाउने गतिविधि भेटिएमा सबै संकलित प्रमाणहरुसहित प्रहरी प्रधान कार्यालयको साइबर व्युरोमा उजुरी दर्ता गरिने जानकारी पनि गराउन चाहन्छौं ।’
महासंघले महासंघ नेतृत्वमा पनि कुनै सवाल र मुद्दाहरुमा कहींकतै मतभेद वा कुनै किसिमको अलग–अलग धार देखिए पनि त्यो संक्रमितहरुको हक अधिकारमा केन्द्रित रहने र महासंघको उद्देश्यप्रति समर्पित भई आपसी समझदारीमा अगाडि बढ्ने गरेको पनि विज्ञप्तिमार्फत स्पष्ट गरेको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com