Connect with us

HEALTH

चिकित्सकमाथि भएको आक्रमणविरुद्ध भक्तपुरका स्वास्थ्यकर्मी आन्दोलित

Avatar

Published

on

चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही माग गर्दै प्रदर्शनमा उत्रिएका भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी । तस्बिर : इन डेप्थ

भक्तपुर । काठमाडौंको जोरपाटीस्थित नेपाल मेकिडल कलेजमा चिकित्सकमाथि भएको आक्रमणविरुद्ध बुधबार भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकहरु विरोधमा उत्रिएका छन् ।
अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले हातमा कालोपट्टि बाँधेर बिरामी जाँच्नै छाडेर विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
मेडिकल अफिसर इन्चार्ज डा. आनन्दबाबु ढकालको नेतृत्वमा अस्पतालका चिकित्सकहरुले सेवा बन्द गर्दै चिकित्सकमाथि दुर्व्यवहार गर्नेमाथि कारबाही माग गरेका छन् ।
उनीहरुले चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कानुनी कारबाही नगरिएसम्म हातमा कालोपट्टि बाँधेर सेवा दिने बताएका छन् ।
नेपाल मेडिकल कलेजमा जेठ १४ गते उपचार गराउन ल्याएका एक बिरामीको ज्यान गएको थियो । उक्त घटनामा चिकित्सक दोषी भएको भन्दै बिरामीका आफन्तले हातपात गरेका थिए ।
उक्त घटनाको विरुद्ध प्रदर्शनमा उत्रिएका भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ‘चिकित्सकमाथि आक्रमण गर्नेलाई धरौटीविना जेल’, ‘दण्डहीनताको अन्त्य गर’, ‘स्वास्थ्यकर्मीमाथि हुने आक्रमणविरुद्ध ऐन ल्याऊ’लगायत लेखिएको प्लेकार्ड बोकेका थिए । उक्त प्रदर्शनपश्चात पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरु हातमा कालोपट्टि बाँधेर काममा खटिएका छन् ।
विश्वमै कोरोना भाइरस संक्रमणको महामारीबीच आफ्नो ज्यानको बाजी राखेर काम गरिरहेका चिकित्सकमाथि दुर्व्यवहार हुनु निन्दनीय भएको मेडिकल अफिसर डा. ढकालले बताए ।
यसअघि पनि धेरैपटक चिकित्सकहरुमाथि हातपात तथा दुर्व्यवहार हुँदै आए पनि सरकारले दोषीलाई कारबाही नगरिँदा चिकित्सकमाथि आक्रमण तथा दुव्यर्वहार हुन नरोकिएको अस्पतालका सर्जन चिकित्सक डा. उत्सवमान श्रेष्ठले स्पष्ट पारे ।
अहिलेको घटनाका दोषीलाई कारबाही नगरिएसम्म आफूहरुको आन्दोलन जारी रहने अस्पतालका चिकित्सकहरुले चेतावनी दिएका छन् । उनीहरुले सम्पूर्ण स्वास्थ्यकर्मीहरुको सुरक्षाको प्रत्याभूति गर्न सरकार र चिकित्सकसँग सम्बन्धित संघसंगठनहरुसँग माग गरेका छन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com