Connect with us

HEALTH

सामाजिक दूरीको मनोविज्ञान

Avatar

Published

on

File Photo

सुमन रञ्जितकार
विगत केही महिनादेखि सारा संसार विश्वव्यापी कोरोना महामारीका कारण त्रसित छ । हाललाई यो महामारीका लागि कुनै खास औषधि उपचार छैन । त्यसकारण पूरै विश्व घरभित्र लकडाउन भएर बस्नुपरेको छ । यसैलाई अहिलेका लागि सर्वोत्तम उपायको रूपमा लिइएको पाइन्छ । तर लामो समयसम्म घरभित्रै थुनिनुपर्दा धेरैजसोलाई उकुसमुकुस पार्दै गएका दृश्यहरू देखिन थालेका छन् ।
सबैको सोच एउटै हुन सक्दैन । त्यसकारण महामारीका परिणामहरूबारे राम्रै ज्ञात भए तापनि कतिपयलाई यसरी घरभित्रै कुनै बन्दी जस्तो बस्न उचित नलागेको हुनसक्छ । त्यसकारण मानिसहरूबाट सामाजिक दूरीलाई पालना गर्न जरूरी नठानी सुटुक्क बाहिर निस्कने, साथीभाइ, आफन्तसँग जमघट गर्ने, बजारमा हुलमुल गर्ने जस्ता दृश्य विभिन्न सञ्चारमाध्यममा देख्न र सुन्नमा आउन थालेको छ । मानिसहरू ‘घरभित्र बस्दाबस्दा वाक्कै लागिसक्यो, त्यसैले यसो ताजा हावा खान हिँडेको’ भन्दै बाहिर निस्कने बहाना बनाउन थालेका छन् । ठाउँठाउँमा पुलिस प्रशासनले नियन्त्रणमा लिएको, दण्ड पाएका घटनाहरू पनि नआएका होइनन् । सामाजिक दूरीको आवश्यकताबारे सबै जानकार हुँदाहुँदै अनि सरकारी तवरबाटै कडा निर्देशन दिँदादिँदै पनि आखिर किन त्यस्तो व्यवहार देखाउँछन् त भनेर मनोवैज्ञानिक विश्लेषण गर्न खोज्यौँ भने विभिन्न सैद्धान्तिक एवं व्यवहारिक कारणलाई आधार मानेर व्याख्या गर्न सकिन्छ ।

सैद्धान्तिक पक्ष

मानिस स्वभावैले पूर्वाग्रहपूर्ण आशावादी सोच बनाउँछ । जसले गर्दा नराम्रो घटना आफूलाई भन्दा पनि अरूलाई मात्र हुन सक्ने सोच प्रबल बन्न थाल्छ । त्यसकारण आफूलाई केही पनि हुँदैन भन्ने सोचले लापरबाही व्यवहार देखाउन थाल्छ । साथसाथै अधिक आत्मविश्वासका कारणले पनि मानिसले जे छ त्योभन्दा बढी जानेको बुझेको आफूलाई पाउँदछ । जसको कारण कुनै देशले त मास्क पनि लाउन जरूरी छैन भनेर परिस्थितिको गम्भीरतालाई नकारेको पनि देख्न र सुन्नमा आएको पाइन्छ । त्यतिमात्र होइन कुनै समुदायका मानिसहरूलाई मात्र यो महामारीले असर गर्न सक्दछ भन्ने पूर्वाग्रही अवधारणाले गर्दा पनि मानिसहरूले सामाजिक दूरीलाई पालना नगरेका घटना पनि देख्नमा आएको छ ।
सबैले सकेसम्म सामाजिक दूरीलाई पालना गरिरहेको देखेर मानिसहरू यस्तो सोचले पनि अगाडि बढिरहेका हुन्छन् कि ‘म एकजनाले पालना नगर्दैमा खासै फरक पर्दैन ।’ सबैले यसरी नै अवधारणा लिन थाल्दै गएपछि विस्तारै यो सामाजिक प्रक्रिया कमजोर बन्न थाल्छ।
विकासात्मक परिप्रेक्ष्यलाई आधार मान्ने हो भने कुनै मानिस युवावस्थामा हुनु पनि सामाजिक दूरीको बाधक मान्न सकिन्छ किनभने युवाहरू धेरैजसो सामाजिक अन्तरक्रियामा तथा घर बाहिरका जीवनमा अभ्यस्त भएका हुन्छन् । जसले गर्दा ज्येष्ठ नागरिकहरूका तुलनामा युवाहरूलाई एक्लिएर सीमित घरपरिवारभित्र नै थुनिएर बस्न गा¥हो हुनसक्छ । सानासाना बालबालिकाको सन्दर्भमा भन्ने हो भने उनीहरू स्वभावैले उफ्रने, कुद्ने, साथीहरूसँग घुलमिल गर्नुपर्ने, अन्वेषणतिर बढी ध्यान दिनुपर्ने उमेरका हुने भएकाले सामाजिक दूरी उनीहरूका लागि छटपटीपूर्ण हुनसक्छ । अनि घुम्न जाने, बाहिर खेल्न जाने, फलानोकोमा जाने भनेर दुःख दिन थाल्छन् ।

मानिसको आवश्यकतालाई आधार मान्ने हो भने हरेकको उत्तेजनाको एउटा छुट्टै उपयुक्त स्तर कायम रहेको हुन्छ । जहिले एकछिनमात्र भए पनि बाहिर घुम्न जानुपर्ने, डान्स पार्टी, गफगाफमा सधैँ बिताउनुपर्ने मानिसलाई घरमै चुपचाप बस, बाहिर नजाउ भन्दा उनको नियमित उत्तेजनाको स्तर निकै कम हुन थाल्छ । अनि मानिस आफूलाई सबभन्दा उपयुक्त स्तरमा पु-याउने जमर्काे गर्न थाल्छ । फलस्वरूप घर बाहिर निस्कने, भेटघाटका लागि लालायित हुने, मनोरञ्जनतिर ध्यान दिने जस्ता व्यवहार देखाउन थाल्छन् । जसको पहिलेदेखि नै सामान्य जीवन बिताउने बानी परेको छ, उसको लागि भने अहिलेको परिस्थिति खासै दिक्कलाग्दो नहुन सक्छ । पश्चिमा एवं विकसित देशहरूको जीवनशैली धेरै नै छिटो र उत्तेजनाको स्तर बढी हुने भएकाले लकडाउनको अवस्था उनीहरूका लागि ज्यादै दिक्कलाग्दो र कष्टकर हुन सक्छ ।

व्यवहारिक पक्ष

कोरोनाका कारण लाखौंलाख मानिस संक्रमित भए तापनि मृत्युको दर निकै कम छ । ज्येष्ठ नागरिक र दीर्घरोगीहरूमात्र जोखिममा पर्ने तर युवा तथा बच्चाहरूलाई खासै असर हुन्न भन्ने जानकारीले गर्दा पनि सामाजिक दूरीलाई कमजोर पारेको छ । संक्रमित भए तापनि कुनै लक्षण नदेखिनुका कारण पनि मानिसहरूमा महामारीको रूप नलिँदासम्म खासै डराउनु पर्दैन भन्ने मानसिकता पालेको देखिन्छ। नेपालको सन्दर्भमा भन्ने हो भने धार्मिक हिसाबले पनि अझै अनौठा आँकलन गरिएका घटना पनि देखिन्छन् । नेपालीहरू त स्वभावैले पनि सामाजिक छ, जसको सधैं घुलमिल भैराख्ने बानी छ, सो व्यवहार एक किसिमले अभ्यस्त व्यवहारको रूपमा रहेको हुन्छ । अनि सामाजिक दूरी कायम राख्नका लागि त्यस्ता अभ्यस्त व्यवहारले व्यवधान खडा गर्दछ ।
गत मार्च महिनामा स्ट्यानफोर्ड स्कूलले २१ हजार मानिसहरूमा गरेको अध्ययनअनुसार ४० प्रतिशत मानिसले सामाजिक दूरीलाई बेवास्ता गरेको, तीमध्ये १८ देखि ३१ वर्ष उमेरका मानिसहरूले यसलाई व्यापक उल्लंघन गरेको पाइएको छ । यसलाई पालना गर्नमा विभिन्न कुराले भूमिका खेलेको पाइएको छ । जस्तैः रोजगार बचाउने मनसाय हुनु, २४ घण्टा नै घरमै बस्न निरशपूर्ण लाग्नु, हात धुँदामात्र पनि पुग्ने तथा दैनिक कृयाकलापमा बाधा नपुगोस् भन्ने अवधारणामा बस्नु, समाजले चाहिनेभन्दा बढी प्रतिक्रिया दिँदैछ र बच्चाहरूलाई घरमै राख्न सकिँदैन जस्ता सोचहरू आउनु ।

मानिसहरू स्वभावैले सामाजिक प्राणी भएकाले तथा उनीहरूको विभिन्न किसिमका मनोवैज्ञानिक स्थितिका कारण सामाजिक दूरीलाई पालन नगर्ने गर्दछन् । जसले कुनै तथ्य, नियम, कानुनलाई पनि कमजोर पार्न सक्दछ । कतिपय मानिसहरू, विशेषगरी ज्येष्ठ एवं सचेतनाको कमी भएका नागरिकहरू, वर्तमान स्थितिको उपयुक्त ज्ञानको अभावका कारण पनि यसलाई पालना गर्न असफल भएको मान्न सकिन्छ । त्यसकारण सचेतना जगाउनु, आफ्नो सोचलाई बदलेर सामान्य रूपमा दैनिकी बिताउनु र घरभित्र नै अन्य वैकल्पिक ब्यवस्थाबाट आफ्नो उपयुक्त उत्तेजनाको स्तरलाई कायम राख्ने कोसिस गर्नु अहिलेको प्रमुख आवश्यकता हो । आशावादी बनौं, सामाजिक दूरीलाई पालना गरौं ।

लेखक मनोविद् हुन् । –सं.

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com