Connect with us

HEALTH

‘एक संक्रमित : एक उद्यमशीलता र दुई बीमा’ विषयक अन्तरक्रिया

Avatar

Published

on

‘एक संक्रमित : एक उद्यमशीलता, एक संक्रमित : दुई बीमा’ विषयक अन्तरक्रियाका सहभागी । तस्बिरहरु : इन डेप्थ

काठमाडौं । अब एक एचआईभी संक्रमितले दुई बीमा पाउने भएका छन् । उनीहरुले स्वास्थ्यसँगै जीवन बीमा पनि गर्न पाउने भएका हुन् ।
यसअघि संक्रमितहरुले एचआईभी/एड्स लागेपछि जीवन सकियो भन्ने ठान्दै आएका थिए तर राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल (एनएपीएन) को पहलमा अब एचआईभी संक्रमितहरुले दुइटा बीमा गर्न पाउने भएका छन् । सुरुमा स्वास्थ्य बीमामात्रै गर्न पाउने संक्रमितहरुले अब जीवन बीमा पनि गर्न पाउने एनएपीएनका अध्यक्ष राजेश दिदियाले जानकारी दिए ।
नेपाल सरकारले जीवन बीमाको लागि सहयोग गरेको भन्दै अब एक संक्रमित एक उद्यमशीलताको लागि पहल भइरहेको अध्यक्ष दिदियाले बताए ।
‘एचआईभी रोग होइन एउटा अवस्था हो । त्यसैले एचआईभी हुँदैमा जीवन सकिँदैन’, उनले भने, ‘नियमित औषधि सेवन गरे सामान्य मानिससरह जीवनयापन गर्न सकिन्छ । उद्यम गर्न सक्छन् ।’
त्यसैले एनएपीएनले संक्रमितहरुको जीवन निर्वाह सुनिश्चित गर्न उनीहरुलाई उद्यमशीलता विकास गर्न जोड दिँदै आएको अध्यक्ष दिदियाले स्पष्ट पारे ।
यसै सन्दर्भमा एनएपीएनले शनिबार राजधानीमा ‘एक संक्रमित : एक उद्यमशीलता, एक संक्रमित : दुई बीमा’ विषयक अन्तरक्रिया गरेको छ ।
नेपालमा एचआईभीको क्षेत्रमा सहयोग गर्दै आएका दातृ निकाय तथा कार्यरत संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा सहभागी संक्रमितहरुले आफूहरुप्रति हेर्ने समाजको दृष्टिमा सकारात्मक परिवर्तन आए पनि आर्थिक क्षेत्रमा विकास गर्न नसकेको दुःखेसो पोखे ।
आफूहरुले केही उद्यम गर्न चाहे पनि आर्थिक सहयोग जुट्न नसकिरहेको उनीहरुको भनाइ थियो ।
स्वास्थ्य र जीवन बीमाले स्वस्थ जीवन सुनिश्चित भए पनि दैनिकी गुजार्न आर्थिक गतिविधिमा लाग्नुपर्ने आवश्यकता भएको उनीहरुको जोड थियो ।


त्यसै संक्रमितहरुको दैनिकी सहज बनाउन एक संक्रमितलाई एक उद्यमको व्यवस्था गर्नुपर्ने उनीहरुको माग थियो ।
कार्यक्रममा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. अनुज भट्टचनले एचआईभी संक्रमितहरुको जीवन बीमा तथा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममा धेरैभन्दा धेरै संक्रमितहरु समावेश भएको जानकारी दिए ।
यसले लुकेका संक्रमितहरुलाई समेत सार्वजनिक भएर आफ्नो जीवन सुनिश्चित गर्न सघाउ पुग्ने उनले विश्वास व्यक्त गरे ।
‘अति विपन्न संक्रमितहरुको आर्थिक अवस्था माथि उकास्न उद्यमशील बनाउन सकिए ठूलो उपलब्धि हुनेछ’, डा. भट्टचनले भने, यसको लागि सबै मिलेर स्रोत पहिचान गरी योजना तर्जुमा गर्नुपर्छ ।’
युएन एड्सका प्रतिनिधि कोमल बडालले एचआईभीलाई कहिल्यै पनि सामाजिक चुनौतीका रुपमा नहेरिँदा संक्रमितहरुको जीवन नसुध्रिएको बताइन् ।
यसलाई आयआर्जन तथा आर्थिक समस्यासँग सम्बन्धित गरी हेरिनुपर्ने उनको जोड थियो ।
एड्स हेल्थकेयर फाउण्डेसन (एएचएफ) नेपालका राष्ट्रिय कार्यक्रम व्यवस्थापक दीपक ढुङ्गेलले स्वास्थ्य तथा जीवन बीमा संक्रमितहरुको लागि जीवनदायी भएको बताउँदै उनीहरुलाई उद्यमशील बनाउन सकिए आफ्नो जीवन आफै हेर्न सक्षम हुने स्पष्ट पारे ।
त्यस्तै रनभान संस्थाकी कार्यक्रम प्रवन्धक प्रमिला महर्जनले कोही व्यक्तिलाई कुनै पनि संक्रमणका कारण भेदभाव गर्न नमिल्ने बताइन् ।
कार्यक्रममा श्रीकृष्ण ज्यापू, रविन लामा, बबी सिंह, लोकराज पाण्डे र एफएचआई ३६० का राजेश खनालले संक्रमितहरुले पाउने सेवा सुविधाबारे देशव्यापी प्रचारप्रसार गरी लुकेर बसेका संक्रमितहरुलाई पनि खुल्न सहयोग गर्नुपर्ने धारणा राखे ।
नेपालमा ३२ हजार सात सय ३५ जना एचआईभी एड्स संक्रमित रहेको अनुमान गरिएको छ । जसमा पुरुष २० हजार दुई सय ९४ र महिला १२ हजार पाँच सय ६१ जना रहेका छन् । त्यस्तै एक हजार एक सय ९१ जना बालबालिका रहेका छन् । तर १३ हजार चार सय ४७ जना संक्रमितमात्रै एन्टीरेट्रोभाइरल औषधि (एआरभी) को पहुँचमा छन् ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा प्रत्येक वर्ष करिब एक हजार नयाँ एचआईभी संक्रमित थपिन्छन् । करिब दुई हजार जनाको एचआईभी/एड्सको कारण ज्यान जाने केन्द्रले जनाएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com