Connect with us

HEALTH

नेपालको क्यान्सर उपचार निर्देशिका बन्ने

Avatar

Published

on

भक्तपुर । गुणस्तरीय क्यान्सर उपचारसम्बन्धी नेपालको मौलिक क्यान्सर उपचार निर्देशिका बन्ने भएको छ । स्वास्थ्य क्षेत्रमा क्यान्सर उपचार महंगो मानिन्छ । त्यसमाथि विशेषज्ञ चिकित्सक एवं अत्याधुनिक उपकरणविनै अधिकांश अस्पतालहरुले क्यान्सरको उपचार सेवा दिन थालेपछि बिरामीहरु गुणस्तरीय उपचार पाउनबाट बञ्चित हुँदै आएका छन् ।
सरकारले अस्पतालले क्यान्सर उपचार सेवा दिन पूरा गर्नुपर्ने न्यूनत्तम आवश्यकता एवं कुनै मापदण्ड बनाएको छैन । जसले गर्दा क्यान्सर बिरामीको उपचार ढिला हुन गई धन र जनको क्षति हुने क्रम बढेकाले समयमै क्यान्सरको पहिचान एवं यसको उपचार पनि समयमै गर्ने उद्देश्यले नेपालको आफ्नै मौलिक क्यान्सर निर्देशिका बनाइने भएको हो ।
यसको लागि वरिष्ठ क्यान्सरविशेषज्ञ डा. प्रकाशराज न्यौपानेको संयोजकत्वमा सर्जिकल अन्कोलोजी सोसाइटी अफ नेपाल गठन गरिएको छ ।
उक्त सोसाइटीले नेपालको आफ्नै मौलिक क्यान्सर निर्देशिका बनाउने संयोजक डा. न्यौपाने बताउँछन् ।
उनले नेपालमै सतप्रतिशत क्यान्सर उपचार सम्भव भइसकेकाले यसको निर्देशिका अति आवश्यक भइसकेको जिकिर गरे ।
‘अहिले नेपालमै क्यान्सरको सम्पूर्ण उपचार सम्भव भइसक्यो’, संयोजक न्यौपानेले भने, ‘त्यसैले नेपालको भौतिक, आर्थिक र सामाजिक विभिन्नतालाई ध्यानमा राखी नेपालमै क्यान्सर उपचारको लागि नेपालीलाई सुहाउने मौलिक क्यान्सर निर्देशिका बनाउन ढिलो भइसक्यो ।’
उनले नेपालमा क्यान्सरका नयाँ र पुराना बिरामी के कति छन्, यसका विशेषज्ञ चिकित्सकहरु के कति छन् र अस्पताल तथा उपकरण के कति छन् केही पनि आधिकारिक तथ्यांक तथा रेकर्ड नभएकोसमेत सुनाए ।
यी सबैलाई समेट्न क्यान्सर निर्देशिका जरुरी भएकोले क्यान्सरका शल्यचिकित्सकहरु एकजुट भई समाज गठन गरिएको उनले स्पष्ट पारे ।
उनका अनुसार उक्त समाजले गैरक्यान्सरका सर्जनहरुलाई समेत क्यान्सर उपचारमा सहभागी गराउन तालिम तथा सेमिनार गर्नेछ ।
त्यस्तै क्यान्सरसम्बन्धी जनचेतना फैलाउने कामसमेत गर्ने समाजका सदस्य डा. उत्सवमान श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार नेपालमा क्यान्सरका शल्यचिकित्सक (सर्जन) हरुको संख्यासमेत अत्यन्त न्यून छन् ।
‘नेपालमा धेरै कममात्रै क्यान्सरका शल्यचिकित्सकहरु छन्’, डा. श्रेष्ठले भने, ‘जबकि क्यान्सर उपचारमा करिब ९० प्रतिशत शल्यक्रिया हुन्छ ।
उनका अनुसार नेपालमा करिब ४० जना क्यान्सरमात्रै क्यान्सरका शल्यचिकित्सक छन् ।
नेपालमा कम्तीमा दुईसय जना क्यान्सरका शल्यचिकित्सकहरु आवश्यक पर्ने डा. न्यौपाने बताउँछन् ।
क्यान्सरका शल्य चिकित्सकहरुको संख्या बढाउने उद्देश्यले शुक्रबार राजधानीमा समाजले एकदिने ‘सर्जिकल अपडेटस्’ सेमिनार गर्ने भएको छ । दक्षिण कोयिास्थित क्यान्सर अस्पताल छनाम नेशनल विश्वविद्यालय ह्वासुन अस्पतालसँगको सहकार्यमा उक्त सेमिनार हुन लागेको हो ।
सेमिनारमा क्यान्सर शल्यचिकित्सकसँगै गैरक्यान्सर शल्यचिकित्सकहरुको सहभागिता रहने समाजका सदस्य डा. श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार उक्त सेमिनारमा न्यूरो सर्जरी, फोक्सो सर्जरी, ग्यास्ट्रो सर्जरी, कलेजो सर्जरीसम्बन्धी कार्यपत्र र उपचार प्रविधिबारे छलफल हुनेछ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com