Connect with us

HEALTH

प्रदेश १ र २ मा निःशुल्क क्यान्सर परीक्षण शिविर

Avatar

Published

on

निःशुल्क क्यान्सर रोग परीक्षण शिविर सञ्चालन गर्न जाने भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली । तस्बिरहरु : इन डेप्थ

भक्तपुर । नेपाल अर्बुदरोग निवारण संस्था र भक्तपुर क्यान्सर अस्पतालले तीन जिल्लामा निःशुल्क क्यान्सर रोग परीक्षण शिविर गर्ने भएका छन् ।
‘समयमै उपचार गरे क्यान्सर रोग निको हुनसक्छ’ भन्ने सन्देशका साथ धनकुटा, सिराहा र सप्तरीमा उक्त क्यान्सर रोग परीक्षण शिविर गर्ने भएको हो ।
अस्पतालका अनुसार उक्त क्यान्सर रोग परीक्षण शिविरको लागि संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा विशेषज्ञ चिकित्सकसहित १८ जनाको टोली त्यतातर्फ प्रस्थान गरेको छ ।
उक्त टोलीले सिराहाको लहान, धनकुटाको परेवादिनस्थित सिधुवा, धनकुटा नपा २ र धनकुटा जिल्ला अस्पतालमा छुट्टाछुट्टै क्यान्सर रोग परीक्षण शिविर गर्नेछ । त्यस्तै सप्तरीको राजविराजमा क्यान्सर रोग परीक्षण सकाएर टोली भक्तपुर फर्कने भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर प्रो.डा. ऋषिकेशनारायण श्रेष्ठले जानकारी दिए ।
उनले शिविर टोलीमा अस्पतालका विशेषज्ञ डा. प्रभुप्रसाद साह, गाइनेकोलोजिष्ट डा. उषा बाडे श्रेष्ठ, मेडिकल अफिसर डा. मुना कार्की र प्राविधिक तथा स्वयम्सेवक रहेको बताए ।


शिविर टोलीले शिविरमा निःशुल्क महिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षण प्याप स्मेयर तथा भिजुअल इन्स्पेक्सन विथ एसिटिक एसिड (भीआईए) परीक्षण गर्ने टोलीका संयोजक एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार शिविरमा कसैलाई क्यान्सरको लक्षण देखिए उनीहरुलाई भक्तपुर क्यान्सर अस्पतालमा उपचारको लागि सिफारिस गरिनेछ । यसरी सिफारिस भएर उपचारको लागि भक्तपुर अस्पताल पुगेकालाई आवश्यक सहयोग गर्ने उनले सुनाए ।
उक्त शिविरबाट करिब पाँच हजार महिलाहरु लाभान्वित हुने उनले दावी गरे ।
‘शिविरसँगै क्यान्सर रोगबारे जनचेतना फैलाउने तथा परामर्शसमेत हुनेछ’, अध्यक्ष श्रेष्ठले भने, ‘प्रदेश नम्बर १ र २ का तीन जिल्लापछि अरु प्रदेशका अन्य जिल्लामा पनि निःशुल्क क्यान्सर रोग परीक्षण शिविर राख्छौं ।’
नेपाल अर्बुदरोग निवारण संस्था र भक्तपुर क्यान्सर अस्पतालले प्रत्येक वर्ष देशका विभिन्न जिल्लाहरुका निःशुल्क क्यान्सर रोग परीक्षण शिविर गर्दै आएका छन् ।
शिविरमा जाने टोलीलाई भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. श्रेष्ठले एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com