Connect with us

BUSINESS

भक्तपुर पर्यटन विकास समितिको मध्यपुर थिमि शाखा गठन

Avatar

Published

on

भक्तपुर । भक्तपुर पर्यटन विकास समितिले जिल्लाको मध्यपुर थिमि नगरपालिकामा आफ्नो शाखा विस्तार गरेको छ ।
जिल्लाका चारवटै नपामा शाखा विस्तार गर्ने उद्देश्यअनुसार पहिलोपटक मध्यपुर थिमि नपामा शाखा गठन गरिएको समितिले जनाएको छ ।
जसअनुसार स्थानीय पर्यटन व्यवसायी चन्द्र चक्रधरको संयोजकत्वमा पाँचसदस्यीय भक्तपुर पर्यटन विकास समिति मध्यपुर शाखा गठन गरिएको छ । शाखा सदस्यहरुमा सुरेन्द्रविक्रम प्रजापति, विनोद ब्रजाचार्य, राजु श्रेष्ठ र शौरभ थापा श्रेष्ठ रहेका छन् ।
मध्यपुर थिमि नपामा शाखा विस्तारसँगै जिल्लाका सूर्यविनायक, चाँगुनारायणमा पनि शाखा विस्तार गर्ने तयारी गरिएको समितिका अध्यक्ष रामसुन्दर भेलेले जानकारी दिए ।
उनका अनुसार भक्तपुर नगरपालिकामा जस्तै यहाँका बाँकी तीन नगरपालिका क्षेत्रमा पर्यटनको सम्भाव्यता र विकास गर्ने काम शाखाले गर्नेछ ।
भक्तपुरमा पर्यटन भन्नाले भक्तपुर नगर क्षेत्र र चाँगुनारायण नगर क्षेत्रको चाँगुनारायण मन्दिर र नगरकोट बढी चर्चामा छन् । ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक दृष्टिले यहाँका चारवटै नपा उत्तिकै महत्वपूर्ण छन् तर अन्य क्षेत्रमा पर्यटन विकास र विस्तार हुन सकेको छैन ।
‘त्यसैले भक्तपुरका अन्य नगर क्षेत्रको पर्यटकीय सम्भाव्यता, विकास र विस्तार तथा व्यवहारिकता र दर्शनलाई केलाउँदै भक्तपुरको दिगो पर्यटन विकासमा उत्तरदायी अभ्यास गर्न समितिको शाखा विस्तार अघि बढाएका छौं’, अध्यक्ष भेलेले भने, ‘पर्यटनबाट हुने लाभ स्थानीय जनताको तल्लो तहसम्म वितरण हुनुपर्छ । स्थानीयमा उत्प्रेरणा, जनचेतना जगाउन शाखाले काम गर्नेछ ।’
उनका अनुसार शाखाले युवाहरुलाई परम्परागत सीप र ज्ञान प्राप्त गर्न प्रोत्साहित गर्नेछ ।
भक्तपुर पर्यटन विकास समितिले जिल्लाभर पर्यटनका गतिविधिमा व्यापकता, साझेदारी, समन्वय गर्ने काम गर्दै आएको छ । अहिले स्थानीय तहलाई बढी जिम्मेवार र अधिकार सम्पन्न बनाएकाले समितिले जिल्लामा गर्ने काम सम्बन्धित नपामा शाखाले गर्ने गरी समिति अघि बढेको समितिका महासचिव दीपेशराज शर्माले जानकारी दिए ।
उक्त शाखाले मध्यपुर थिमि नपासँग समन्वय र सहकार्यमार्फ नगर क्षेत्रका पर्यटन व्यवसायीहरुलाई एकजुट गर्ने र मध्यपुरको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने काम गर्ने उनले स्पष्ट पारे ।
मध्यपुर भक्तपुर जस्तै ऐतिहासिक नगर भएकाले यसलाई नयाँ पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न शाखाले काम गर्ने संयोजक चक्रधरले बताए ।
भक्तपुर र काठमाडौंबीच भएर पनि पर्यटकहरु मध्यपुरलाई उपेक्षा गरेर भक्तपुर र काठमाडौं पुग्ने अवस्थाको अन्त्य गर्दै काठमाडौंबाट भक्तपुर र भक्तपुरबाट काठमाडौं जाँदा मध्यपुर पुग्नैपर्ने अवस्था निर्माण गर्न शाखा क्रियाशील हुने उनले सुनाए ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com