Connect with us

BUSINESS

भक्तपुरमा ३५ प्रतिशत रोपाइँ हुन बाँकी

Avatar

Published

on

भक्तपुरको सिपाडोलमा रोपाइँ गर्दै किसान । तस्बिर : इन डेप्थ

भक्तपुर । असार तेस्रो साता बित्न लाग्दा भक्तपुरमा ६५ प्रतिशतमात्रै रोपाइँ भएको छ । धान खेती हुने भक्तपुरको कूल चार हजार तीन सय ४८ हेक्टरमध्ये अझै ३५ प्रतिशत खेतमा रोपाइँ बाँकी भएको हो ।
जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख निर्मल गोडारले सिंचाइ सुविधा भएका खेतमा धान खेती भए पनि आकासे पानीको भर पर्नुपर्ने खेतमा रोपाइँ बाँकी भएको जानकारी दिए ।
उनले वर्षा भएर पनि परेको बेला धेरै पर्ने र धेरै दिन पानी नपर्ने गर्नाले धान रोपाइँ प्रभावित भएको सुनाए ।
‘वर्षा पर्याप्त भएको देखिन्छ’, प्रमुख गोडारले भने, ‘तर साता दिनको फरकमा वर्षा हुँदा रोपाइँ प्रभावित भएको छ ।’
केन्द्रका अनुसार जिल्लाको उँचो ठाउँ सुडाल, नंखेल, चित्तपोल, छालिङ्ग, बालकोट र सिरुटारलगायतमा रोपाइँ बाँकी छ ।
मनसुन सक्रिय भए पनि पछिल्लो दिन पानी पर्न रोकिएपछि किसानहरुले रोपाइँ गर्न पाएका छैनन् ।
भक्तपुरमा रोपाइँ हुने कूल जमिनमध्ये दुई हजार पाँच सय ८५ हेक्टरमा सिंचाइ सुविधा रहेको छ । बाँकी क्षेत्रफलमा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने यहाँका किसानहरुको बाध्यता रहेको छ ।
वर्षा नहुँदा रोपाइँ गर्न ठिक्क भएको बीउसमेत बुढो हुन थालेको छ । बुढो बीउ रोप्दा धान उत्पादन घट्ने गर्दछ ।
धानविज्ञहरुका अनुसार बीउ हालेको १५ देखि १९ दिनभित्रको बीउ रोप्नुपर्छ । बुढो बीउ प्रयोग गर्दा पाँचदेखि सात प्रतिशतसम्म उत्पादन घट्ने उनीहरुको दावी छ । तर भक्तपुरमा जेठको पहिलो सातामै राखिएका बीउ अहिले कम्तीमा ३० दिनको भइसकेको छ ।
रोपाइँ सकेपछि खेतमा हप्तामा पाँच दिन पानी राख्ने र दुई दिन सुकाउने गर्न सकिए धानको राम्रो उत्पादन लिन सकिने कृषि प्राविधिकहरुको सुझाव छ ।
भक्तपुरमा वार्षिक २५ हजार ६८ मेट्रिक टन धान उत्पादन हुने केन्द्रको तथ्यांक छ । भक्तपुर देशभरमै बढी धान उत्पादकत्व भएको जिल्ला हो । यहाँ एक हेक्टर क्षेत्रफलमा करिब ६ मेट्रिक टन धान उत्पादन हुन्छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com