Connect with us

BUSINESS

भक्तपुरमा प्रहरी प्रमुखलाई हाकुपतासीसहित नेवारी पोशाकले स्वागत

Avatar

Published

on

प्रहरी उपरीक्षक तारादेवी थापालाई घरेलु तानमा बुनिएको हाकुपतासीसहित नेवारी पोशाकले स्वागत गरिँदै । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । हामीकहाँ कसैलाई स्वागत गर्नुप-यो भने फूल गुच्छा वा खादा ओढाउने चलन पुरानो भइसक्यो । यसरी स्वागत गर्न सजिलो पनि छ । धेरै खर्च पनि पर्दैन । औपचारिकता पूरा भइहाल्छ ।
तर सोमबार भक्तपुरको प्रहरी प्रमुखमा सरुवा भएर आएकी प्रहरी उपरीक्षक तारादेवी थापालाई बेग्लै ढंगले स्वागत गरिएको छ । उनलाई भक्तपुरका घरेलु तथा साना उद्यमी व्यवसायीले स्थानीय मौलिक उत्पादनले स्वागत गरे । त्यसमाथि घरेलु तानमा बुनिएको हाकुपतासी (नेवारी महिलाले लगाउने रातो किनारा भएको लामो धोती) र गा (महिलाले ओढ्ने रातो किनारा भएको सेतो खास्टो) दिएर प्रहरी उपरीक्षक थापालाई स्वागत गरिएको हो । भक्तपुर घरेलु तथा साना उद्योग संघले गरेको सवगतमा उनलाई भक्तपुरको अर्को मौलिक उत्पादन टाइचिन चिउरा र जुजु धौ (दही) समेत मायाको चिनोस्वरुप प्रदान गरिएको थियो ।
प्रहरी उपरीक्षक थापा असार ८ गते महानगरीय प्रहरी परिसर भक्तपुरमा हाजिर भएर जिम्मेवारी सम्हालेकी थिइन् ।
उनीभन्दा अघि भक्तपुर सरुवा भएर आएका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकाललाई पनि संघले सोही मेसोमा घरेलु तानमै बुनिएको घरबुना कपडाले स्वागत गरेको थियो ।
असार १५ एवं धान दिवसको अवसर पारेर गरिएको स्वागत कार्यक्रममा प्रहरी उपरीक्षक थापासँगै सहायक प्रमुख जिल्ला अधिकारी ढकाललाई दही र चिउरा मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा सहभागी घरेलु तथा साना उद्यमी व्यवसायीले प्रहरी उपरीक्षक थापाले हाकुपतासीसहितको नेवारी पोशाक लगाएर भक्तपुरको घरेलु उद्योग र उद्यमीको सम्मान गर्ने विश्वास व्यक्त गरे ।
‘अनौपचारिक कार्यक्रममा प्रहरी उपरीक्षक थापाले भक्तपुरको मौलिक उत्पादन हाकुपतासीसहितको नेवारी पोशाक लगाएर उपस्थित भएको हेर्न पाऔं’, संघका अध्यक्ष वीरेन्द्र जतीले भने, ‘जुन पोशाकप्रतिको मात्रै होइन भक्तपुरकै घरेलु उद्योग र उद्यमीको सम्मान हुनेछ ।’
कार्यक्रममा प्रहरी उपरीक्षक थापाले भक्तपुरका संघसंस्था तथा समुदायसँग सहकार्य गर्ने विश्वास दिलाइन् ।
प्रहरी एक्लैले जिल्लामा शान्ति सुरक्षा कायम गर्न नसकिने भन्दै उनले भनिन्, ‘सबै एकजुट भएर अघि बढ्नुपर्छ ।’
प्रहरी उपरीक्षक थापाले भक्तपुरको कला–संस्कृति र सम्पदाले आफूलाई प्रभावित गर्ने भएकाले भक्तपुरमा काम गर्न उत्साहित भएको बताइन् ।


त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी ढकालले नेपाली समुदायको मौलिक उद्यम र सीप लोपोन्मुख हुँदै गएकोमा दुःख व्यक्त गरे ।
कृषिमा आधारित उद्योग र उद्योगीलाई प्रोत्साहित गरेर जानुपर्ने उनको भनाइ थियो ।
घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख सुवोध साहले कोरोना भाइरस संक्रमणको कारण स्वदेश फर्केका युवा लक्षित कार्यक्रम र योजना बनिरहेको जानकारी दिए ।
उनले वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई रोजगारमूलक तथा आयमूलक तालिम दिने तयारी अघि बढाइएकोसमेत बताए ।
भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप श्रेष्ठले कोरोना भाइरस महामारीले थला परेका उद्योगी व्यवसायीलाई सरकारले राहत दिनुपर्नेमा उल्टै पेल्ने काम गरेको गुनासो गरे ।
कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष जती, सचिव प्रेमकृष्ण खर्बुजा र पूर्वअध्यक्ष चन्दनकृष्ण श्रेष्ठले कोरोना भाइरसको कारण घरेलु तथा साना उद्योग र उद्यमी नराम्ररी प्रभावित भएको स्पष्ट पारे ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com