Connect with us

BUSINESS

भक्तपुर नपाको आन्तरिक आय करिब ५८ प्रतिशत खुम्चियो

Avatar

Published

on

आर्थिक वर्ष २०७७/७८ को लागि नपाको बजेट प्रस्तुत गर्दै भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी । तस्बिर : इन डेप्थ

भक्तपुर । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसका भक्तपुर नगरपालिकाको आन्तरिक आय करिब ५८ प्रतिशतले खुम्चिएको छ ।
नपाले चालू आर्थिक वर्षमा आन्तरिक स्रोततर्फ ६२ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको थियो तर चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा २६ करोड २८ लाख ५५ हजार रुपैयाँमात्रै आम्दानी भएको छ । यो अनुमानित आयको ४२.४० प्रतिशतमात्रै भएको नपाकी उपप्रमुख रजनी जोशीले जानकारी दिइन् ।
नपाको जारी सातौं नगरसभामा बुधबार आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उपप्रमुख जोशीले कोरोना भाइरसको महामारीको कारण नपाको आन्तरिक आम्दानी खुम्चिएको जानकारी दिइन् ।
आन्तरिक स्रोततर्फ नगरवासीहरुबाट विभिन्न कर दस्तुरवापत उठ्ने रकम र पर्यटक सेवा शुल्कमार्फत संकलन हुने रकममा भारी गिरावट आएको उनको भनाइ थियो । उनका अनुसार नगरवासीबाट र पर्यटन सेवा शुल्कबाट ४२ करोड रुपैयाँ नपालाई आम्दानी हुने अनुमान गरिएको थियो । जसमध्ये पर्यटन सेवा शुल्कबाट मात्रै ३० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको उपप्रमुख जोशीले बताइन् ।
‘तर कोरोना भाइरसको कारण देशव्यापी घोषणा भएको लकडाउनको कारण पर्यटन क्षेत्र ठप्प हुँदा पर्यटन सेवा शुल्कबाट चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा १७ करोड २४ लाख ६५ हजारमात्र आम्दानी भयो’, उनले भनिन् ।
नपाको स्वामित्वमा रहेको जग्गा बिक्रीबाट चालू आर्थिक वर्षमा नपाले करिब २० करोड आम्दानी हुने अनुमान गरिएको थियो तर चालू आर्थिक वर्षमा उक्त जग्गा बिक्री गरिएन ।

बाह्य आय पनि ३३ प्रतिशतले गिरावट

नपाको चालू आर्थिक वर्षमा अनुमान गरिएको बाह्य आय पनि करिब ३३ प्रतिशतले गिरावट आएको छ । उसले चालू आर्थिक वर्षमा एक अर्ब २२ करोड ४० लाख रुपैयाँ बाह्य आम्दानी हुने अनुमान गरेको थियो तर गएको जेठसम्म जम्मा ८२ करोड ३४ लाख ४९ हजार आम्दानी भएको उपप्रमुख जोशीले जानकारी दिइन् ।
यो अनुमानित आम्दानीको ६७.३६ प्रतिशत हो । नपाले चालू आर्थिक वर्षको असार मसान्तसम्ममा ९१ करोड ६० लाख ९४ हजार रुपैयाँ बाह्य आम्दानी हुने संशोधित अनुमान गरेको छ ।
‘चालू आर्थिक वर्षको जेठ मसान्तसम्म नपाको बाह्य तथा आन्तरिक स्रोतबाट कूल एक अर्ब ८ करोड ६३ लाख ४ हजार आम्दानी भयो’, उनले भनिन्, ‘असार मसान्तसम्ममा एक अर्ब १८ करोड ३५ लाख ९४ हजार आम्दानी हुने संशोधित अनुमान गरिएको छ ।’

बजेट एक अर्ब ८२ करोड ४० लाख

भक्तपुर नपाको जारी सातौं नगरसभामा उपप्रमुख जोशीले आर्थिक वर्ष २०७७/७८ को लागि एक अर्ब ८२ करोड ४० लाख रुपैयाँको बजेट पेस गरेकी छन् । जसअनुसार चालु खर्चतर्फ ३९ करोड ८९ लाख ७६ हजार रुपैयाँ र पुँजीगततर्फ ७९ करोड ७३ लाख ११ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
यो बजेट चालू बजेटभन्दा ३० करोड ६० लाखले कम हो । चालू आर्थिक वर्षको लागि नपाले दुई अर्ब १३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।
नपाले आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम, ऋण सापटी र जग्गा बिक्रीसमेत गरी आर्थिक वर्ष २०७७/७८ को लागि एक अर्ब ८२ करोड ४० लाख रुपैयाँको अनुमानित बजेट नगरसभामा प्रस्तुत गरिएको छ ।
प्रस्तुत बजेटअनुसार आ.व. २०७७/७८ मा बाह्य स्रोतबाट ९९ करोड २९ लाख २४ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । जसमध्ये संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान शीर्षकमा ५४ करोड ४५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । सामाजिक सुरक्षा भत्तातर्फ २३ करोड र सडक बोर्डमार्फत ५० लाख आम्दानी हुने प्रक्षेपण गरिएको छ ।
बागमती प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान शीर्षकमा जम्मा ६ करोड ५४ लाख २२ हजार रुपैयाँ र संघ तथा प्रदेश सरकारबाट मालपोत तथा सवारी करवापत राजस्व बाँडफाँटबाट १४ करोड ९० लाख २ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको उपप्रमुख जोशीले सुनाइन् ।
उनले जिल्ला समन्वय समिति भक्तपुरबाट ४ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको जानकारी दिइन् ।
नगरसभामा प्रस्तुत बजेटअनुसार वडास्तरका योजनाहरू सञ्चालन गर्न विगत वर्षझैं प्रत्येक वडालाई ५०/५० लाखका दरले ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । सडक बोर्डअन्तर्गतका योजना सञ्चालन गर्न एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।
खानेपानी फिल्ट्रेसन तथा पाइप सुधार कार्य, खेला तथा घाट सुधार, पर्ती जग्गा संरक्षण तथा सीमांकन, सडक बत्ती जडान तथा मर्मत, माटो परीक्षण तथा सम्भाव्यता अध्ययनको लागि एक करोड ५४ लाख २१ हजार रुपैयाँ छुट्याइएको छ । शैक्षिक ऋण वितरणको लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
प्रस्तुत बजेटमा सम्पदा संरक्षण तथा विकास निर्माणमा सबैभन्दा बढी रकम छुट्याइएको छ । यसमा कूल बजेटको २३.१५ प्रतिशत विनियोजन गरिएको छ । दोस्रो प्राथमिकतामा शिक्षा तथा संस्कृति क्षेत्र परेको छ । यसमा कूल बजेटको २०.९० प्रतिशत रकम छ्ट्याइएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रमा ७.६९ प्रतिशत, फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा ६.५० प्रतिशत, महिला–बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा १३.५७ प्रतिशत र युवा तथा खेलकुदको क्षेत्रमा १.८४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

कृषि र खानेपानी प्राथमिकतामा परेन

भक्तपुर नगर किसानहरुको बाहुल्य रहेको क्षेत्र हो । त्यस्तै भक्तपुर नगरले वर्सेनि चरम खानेपानीको अभाव झेल्दै आएको छ तर नपाले कृषि र खानेपानी दुवै क्षेत्रलाई प्राथमिकता दिएको छैन ।
भक्तपुर नगरमा नपाले कृषि क्षेत्रको लागि भने कममात्रै बजेट छुट्याएको छ । उसले कृषिको लागि कूल बजेटको ०.४५ प्रतिशतमात्रै विनियोजन गरेको छ ।
त्यस्तै नपाले खानेपानी क्षेत्रमा कूल बजेटको एक प्रतिशत पनि बजेट विनियोजन गरेको छैन । उसले खानेपानी क्षेत्रमा ०.९८ प्रतिशतमात्रै बजेट विनियोजन गरेको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com