Connect with us

BUSINESS

विद्युत लाइन काटेर ६२ लाख बक्यौता असुल

Avatar

Published

on

भक्तपुर नपा १ दूधपाटीस्थित नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्र । फाइल फोटो

भक्तपुर । नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रले लामो समयदेखि बक्यौता नतिर्ने ग्राहकहरुको विद्युत लाइन धमाधम काट्न थालेको छ । सार्वजनिक सूचना जारी र कालोसूचीमा नाम प्रकाशन गर्दा पनि बाँकी बक्यौता नबुझाउने ग्राहकको विद्युत लाइन काट्न सुरु गरिएको हो ।
जसअनुसार हालसम्म एकसय आठ जनाको विद्युत लाइन काटिएको केन्द्रका प्रमुख राजकुमार रञ्जनले जानकारी दिए । लाइन काटेकामध्ये ९५ जनाले बाँकी बक्यौता तिरेर पुनः विद्युत लाइन सुचारु गरिसकेकोसमेत उनले बताए ।
‘९५ जनाबाट ६२ लाख ६५ हजार रुपैयाँ बाँकी बक्यौता संकलन भयो’, केन्द्र प्रमुख रञ्जनले भने, ‘केन्द्रको बाँकी बक्यौता रकम संकलन गर्ने उद्देश्यले सातामा एकपटक लाइन काट्ने अभियान सञ्चालन गर्दै आएका छौं ।
उनका अनुसार केन्द्रले मठमन्दिरबाहेक दुई करोड २२ लाख ७४ हजार रुपैयाँ बाँकी बक्यौता उठाउन बाँकी छ । जसमध्ये पुसभित्र कारबाही गरिएका ९५ जनाबाट ६२ लाख ६५ हजार रुपैयाँ संकलन भएको उनको भनाइ थियो ।
विद्युत ऐनअनुसार ६० दिनभित्र विद्युत महसुल नबुझाएमा प्राधिकरणले कुनै पनि बेला विद्युत लाइन काट्न सक्छ र बाँकी बक्यौता असुलउपर गर्न सकिने व्यवस्था छ ।
तर केन्द्रले हाललाई २० हजार रुपैयाँभन्दा माथिको बाँकी बक्यौता भएका ग्राहकहरुको लाइन काट्ने र बाँकी बक्यौता असुलउपर गर्ने अभियानलाई अघि बढाइएको केन्द्र प्रमुख रञ्जनले जानकारी दिए । उनले बाँकी बक्यौता असुलउपर गर्ने कार्य वर्षभरि चल्ने बताए ।

२४८ जनालाई चुहावट कारबाही

त्यस्तै केन्द्रले चालू आर्थिक वर्षको माघ १० गतेसम्म दुई सय ४८ जनालाई विद्युत चुहावटसम्बन्धी कारबाही गरेको छ । उक्त कारबाहीबाट एक करोड ४५ लाख रुपैयाँ संकलन भएको केन्द्रले जनाएको छ ।
केन्द्रले भक्तपुरका चारवटै नगरपालिकासँग समन्वय गरेर विद्युत चुहावटसम्बन्धी कारबाहीसँगै बाँकी बक्यौता तिर्न बाँकी ग्राहकहरुको लाइन काटिरहेको केन्द्र प्रमुख रञ्जनले बताए ।

विद्युत चुहावट ९.९२ प्रतिशत

प्रमुख रञ्जनले केन्द्रले विद्युत चुहावट नियन्त्रणमा पनि सफलता हात पारेको छ । गएको आर्थिक वर्षमा चुहावट नियन्त्रण भएर १३.०६ प्रतिशतमा झरेको थियो । चालू आर्थिक वर्षको पुससम्ममा यो ९.९२ प्रतिशतमा झरेको उनी बताउँछन् ।
‘प्राधिकरणले चालू आर्थिक वर्षमा चुहावट नियन्त्रणको लक्ष्य ९.७५ प्रतिशत दिएको छ’, उनले भने, ‘पुससम्मै ९.९२ प्रतिशतमा झरेकाले लक्ष्य पूरा हुनेमा हामी विश्वस्त छौं ।’
उनका अनुसार पुस र माघमा बढी विद्युत खपत हुन्छ । पुस महिना बितिसकेको छ । माघपछिका महिनाहरुमा विद्युतको खपत घट्छ र चुहावट पनि नबढ्ने उनको भनाइ थियो ।
केन्द्र प्रमुख रञ्जनले भक्तपुरमा विद्युतको माग भने निरन्तर बढिरहेको जानकारी दिए । उनका अनुसार मंसिरको तुलनामा पुस महिनामा मात्रै ११ लाख युनिट बढी विद्युत खपत भएको छ ।
विद्युतको माग तथा खपत बढेसँगै केन्द्रको आम्दानी पनि बढेको छ । जसअनुसार केन्द्रले पुस महिनामा विद्युत बेचेर ६ करोड १८ लाख रुपैयाँ कमाएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com