Connect with us

BUSINESS

सरकार विदेशी पूँजीको दलाल : बिजुक्छे

Avatar

Published

on

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेलाई सम्झनाको चिनो प्रदान गर्दै भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष वीरेन्द्र जती । तस्बिरहरु : ईश्वरकाजी खाइजू

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपालमा अहिलेसम्म बनेका सरकारहरु विदेशी पुँजीको दलाल सरकार भएको जिकिर गरेका छन् ।
ठूला दलहरुले विदेशी पूँजीको सहयोगमा चुनाव जित्ने र सरकारमा जाने गरेको उनको भनाइ थियो ।
भक्तपुर घरेलु तथा साना उद्योग संघको २९ औं र महिला उद्यमी समितिको २७ औं वार्षिक साधारणसभा सोमबार उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले विदेशी पूँजीबाट चुनाव जितेर सरकारमा गएपछि ठूला दलहरुले विदेशी पूँजीकै सेवा गर्दै आएको स्पष्ट पारेका हुन् ।
विदेशी पूँजी लगानी भएका उद्योगलाई अत्यन्त कम कर तर स्वदेशी उद्योगलाई बढी करको व्यवस्थाबाटै अहिलेसम्मका सरकार विदेशी पूँजीको दलाल भएको पुष्टि हुने उनको भनाइ थियो ।
‘ठूला दलहरुले विदेशी पूँजीको सहयोगमा चुनाव जित्ने र सरकारमा गएपछि विदेशी पूँजीकै सेवा गर्दै आएका छन्’, उनले भने, ‘जस्तो सिता खान्छ, उसकै गीता गाउँछ भनेको यही नै हो । त्यसैले अहिलेसम्मका सरकार विदेशी पूँजीको दलाल सरकार हुन् ।’
उनले मुलुकलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन तथा देशलाई बचाउन घरेलु तथा साना उद्योगको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
‘घरेलु तथा साना उद्योगले धेरैभन्दा धेरै जनशक्तिलाई रोजगारी दिँदै आएका छन्’ अध्यक्ष बिजुक्छेले भने, ‘त्यसैले घरेलु तथा साना उद्योगलाई सरकारले सहयोग गर्नुपर्छ । उद्योगलाई चाहिने कच्चा पदार्थ उपलब्ध गराउनुपर्छ । युवाहरुलाई निःशुल्क तालिमको व्यवस्था गर्नुपर्छ ।’
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले यहाँका मौलिक उत्पादन जुजुधौ (दही), कालो भादगाउँले टोपी, टाइचिन चिउरा उद्योगको संरक्षण गर्न नपा लागिपरेको सुनाए ।

भक्तपुरको जुजु धौको पेटेन्ट चौधरी समूहले दर्ता गर्न लागेकोतर्फ आपत्ति जनाउँदै प्रमुख प्रजापतिले भक्तपुरको मौलिक उत्पादनको पेटेन्ट कुनै व्यवसायिक समूहले गर्न नपाइने स्पष्ट पारे ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भक्तपुरको मौलिक उत्पादनलाई गुणस्तरीय बनाउँदै निर्यातमुखी बनाउनुपर्ने आवश्यकता औंल्याइन् ।
कार्यक्रममा ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवाल, नेपाल घरेलु तथा साना उद्योग संघका केन्द्रीय कोषाध्यक्ष सत्यनारायण प्रजापति, प्रदेश नम्बर ३ का संयोजक सूर्य कँडेल, केन्द्रीय महिला उद्यमी समितिका उपाध्यक्ष रीता प्रजापतिले घरेलु तथा साना उद्योगको प्रवद्र्धनबाट मात्रै मुलुकको व्यापार घाटा न्यूनीकरण गर्न सकिने धारणा राखे ।
उनीहरुले निर्यातमुखी उत्पादन गर्न सक्ने गरी यहाँका घरेलु तथा साना उद्योगहरुको क्षमता विकास तथा प्रविधिमा सरकारले सहयोग गर्नुपर्ने माग गरे ।


प्रदेश नं. ३ सरकारअन्तर्गतको उद्योग, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको प्रदेश निर्देशनालयका अधिकृत रामप्रसाद कुस्मा, घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका सूचना अधिकृत तुलामणि राजभण्डारीले घरेलु तथा साना उद्योगको क्षेत्रलाई सरकारले प्राथमिकतामै राख्दै आएको बताए ।
उनीहरुले घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन गर्न प्रविधि हस्तान्तरण तथा निःशुल्क तालिमको व्यवस्था गर्दै आएको जानकारी दिए ।
भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष वीरेन्द्र जती, सचिव प्रेमकृष्ण खर्बुजा, महिला उद्यमी समितिकी सभापति ईश्वरी श्रेष्ठले सहरीकरणसँगै घरेलु तथा साना उद्योगहरु विस्थापित हुनुपर्ने अवस्था आएको गुनासो गरे ।
प्रभु लाइभ इन्स्युरेन्स, प्रदेश नं. ३ का प्रमुख प्रबन्धक सागर केसी, भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछे मानन्धरलगायतले पनि घरेलु तथा साना उद्योगको महत्वबारे चर्चा गरेको कार्यक्रममा संघको सचिवालयका सहायक प्रवन्धक लक्ष्मीप्रसाद बाटी र सचिवालय स्थापना र सञ्चालनमा सहयोग गर्ने व्यवसायी पृथ्वीभक्त प्रजापतिलाई सम्मान गरिएको थियो ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com