Connect with us

BUSINESS

भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघको पाँचौं अधिवेशन सम्पन्न

Avatar

Published

on

भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघको दसौं साधारणसभा उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल । तस्बिर : ईश्वरकाजी खाइजू

अध्यक्षमा माधवप्रसाद प्रजापति निर्विरोध

भक्तपुर । भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघको अध्यक्षमा माधवप्रसाद प्रजापति निर्विरोध निर्वाचित भएका छन् ।
संघको शनिबार सम्पन्न भएको दसौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले प्रजापतिको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित गरेको हो ।
जसअनुसार उपाध्यक्षत्रयमा गंगाराम मानन्धर, रामगोपाल सुवाल र रुकेश रञ्जित, महासचिवमा चन्द्र श्रेष्ठ, सचिवमा रामप्रसाद खर्बुजा, कोषाध्यक्षमा अल्बर्ट बज्राचार्य र सहकोषाध्यक्षमा श्याम दुवाल पनि निर्विरोध चुनिए ।
त्यस्तै सदस्यहरुमा लक्ष्मीप्रसाद कोजू, शिवरा वैद्य, श्याम नगरकोटी, बुद्धिकुमार मुस्याख्व र अर्जुनगोपाल धौभडेल सुनिए ।
भक्तपुरका एकसय ६६ जना विद्युतीय सामग्री, कम्प्युटर, ल्यापटप तथा मोबाइल विक्रेताहरुको छाता संगठन संघको दसौं वार्षिक साधारणसभा उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले व्यवसायीहरुलाई ट्रेडिङ व्यवसायमा मात्रै सीमित नभई उत्पादनमूलक उद्योगमा लाग्न आह्वान गरे ।
आयातमुखी ट्रेडिङ व्यवसायले गर्दा नेपालको व्यापार घाटा बढेर मुलुक आर्थिक रुपले टाट पल्टने स्थितिमा पुग्ने उनको भनाइ थियो ।
‘नेपालको व्यापार घन्टा तीनसय प्रतिशत छ । यही क्रम रहे अबको दस वर्षमा मुलुक आर्थिक रुपले टाट पल्टिन्छ’, वरिष्ठ उपाध्यक्ष मल्लले भने, ‘त्यसैले हामी ट्रेडिङ व्यवसायीहरुले पनि निर्यातमुखी उद्योग स्थापना गर्न ढिलो गर्नुहुन्न ।’
व्यवसायीहरुले आफ्नोमात्रै स्वार्थ नहेरी देशको व्यापार घाटा केकसरी कम गर्ने भन्नेबारे पनि चासो राख्नुपर्नेमा उनको जोड थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ३ का उपाध्यक्ष कृष्णप्रसाद अवालले विद्युतीय सामग्रीको उपयोगबारे व्यवसायीहरुले उपभोक्ताहरुलाई सचेत गर्नुपर्ने सुझाव दिए ।
‘एकदुई वर्षमै विद्युतीय सामग्रीको प्रविधिमा धेरै परिवर्तन आउने भएकाले सोहीअनुसार खर्च गर्न उपभोक्तालाई व्यवसायीहरुले सचेत गर्नुपर्छ’, उनले भने ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले विज्ञान प्रविधिले विद्युतीय सामग्रीमा फड्को मारेसँगै यसका विकृतिहरु पनि बढिरहेको सुनाए ।
शान्ति सुरक्षा र अपराध नियन्त्रणमा विद्युतीय सामग्रीले धेरै सघाए पनि विद्युतीय सामग्रीले अपराध पनि बढिरहेको उनको भनाइ थियो ।
‘हिजो कुलत भन्दा लागूपदार्थको दुव्र्यसन मानिन्थ्यो तर अहिले साइबरको लत त्यसभन्दा विकराल बन्दै आएको छ’, प्रहरी उपरीक्षक प्रधानले भने, ‘अहिले बच्चै बेलादेखि स्क्रिनको लत बस्न थालेको छ । यसले डिप्रेसन हुँदै आत्महत्यासम्म पु¥याउँछ ।’
कार्यक्रममा संघका अध्यक्ष पुण्यराम खाताखो, संघका पूर्वअध्यक्षहरु रोशन भोयद्यो, दिनेश चुलाद्यो, उपाध्यक्ष माधवप्रसाद प्रजापति, महासचिव रुकेश रञ्जितलगायतले भक्तपुरलाई इलेक्ट्रोनिक्स हबको रुपमा विकास गर्ने उद्देश्यले दस वर्षअघि संघको स्थापना गरिएको बताएका थिए ।
कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघको ३२ औं साधारणसभाबाट निर्वाचित कार्यसमिति पदाधिकारीहरुलाई सम्मानसमेत गरिएको थियो ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com