Connect with us

BUSINESS

जुजु धौको सगुनबाट प्रजिअ पाण्डेको स्वागत

Avatar

Published

on

भक्तपुरमा सरुवा भई आएकी प्रजिअ हुमकला पाण्डेलाई नेवारी परम्पराअनुसार दहीको सगुनले स्वागत गरिँदै । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । भक्तपुरमा नयाँ आएकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई नेवारी परम्पराअनुसार यहाँको मौलिक उत्पादन जुजुधौको सगुनले स्वागत गरिएको छ ।
भक्तपुर घरेलु तथा साना उद्योग संघले मंगलबार एक कार्यक्रम गरी प्रजिअ पाण्डेलाई नेवारी परम्पराअनुसार जुजुधौको सगुनसँगै बारा र माछाले स्वागत गरेको हो । नेपालभाषी समुदायमा कुनै नयाँ कामको सुरुवात गर्दा वा कुनै कामले घरबाहिर जानुपर्दा सफलताको शुभकामनासहित दहीको सगुन दिने परम्परा रहेको छ । सोही परम्पराअनुसार भक्तपुरमा सरुवा भई आएकी प्रजिअ पाण्डेको कार्यकाल सफलताको कामना गर्दै संघले दहीको सगुन दिएर स्वागत गरिएको छ ।
संघले प्रजिअ पाण्डेलाई भक्तपुरकै अर्को मौलिक उत्पादन टाइचिन चिउराको मायाको चिनो दिएको थियो ।
उक्त अवसरमा उनले मौलिक घरेलु तथा साना उद्योगका उत्पादनले भक्तपुरको पहिचान र गौरव बोकेको बताइन् । त्यसैले घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन गर्न आफू प्रतिबद्ध रहेको प्रजिअ पाण्डेले सुनाइन् ।
उनले भक्तपुरका सरकारी कार्यालय एवं निकायमा यहाँकै घरेलु तथा साना उद्योगको उत्पादनको प्रयोगलाई बढावा दिन लागिपर्नेसमेत बताइन् ।
‘यहाँका घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन गर्न प्रतिबद्ध छु’, उनले भनिन्, ‘यहाँका घरेलु तथा साना उद्योगका समस्यालाई सम्बोधन गर्न पनि पहल गर्नेछु ।’
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठ र कोषाध्यक्ष सत्यनारायण प्रजापतिले घरेलु तथा साना उद्योगहरु सरकारको उपेक्षामा पर्दै आएको गुनासो गरे ।
ठूला उद्योगले भन्दा घरेलु तथा साना उद्योगले कूल गार्हस्थ र रोजगारीमा बढी योगदान गर्दा पनि यसको प्रवद्र्धनमा सरकारले ध्यान नदिएको उनीहरुको भनाइ थियो ।
भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष वीरेन्द्र जतीले आर्थिक ऐनले घरेलु तथा साना उद्योगलाई कर छुटको व्यवस्था गरे पनि सफ्टवेयरमा नभएको बहानामा आन्तरिक राजस्व कार्यालयले नदिएकोतर्फ प्रजिअ पाण्डेको ध्यानाकर्षण गरे ।
साना उद्योगलाई ठूला उद्योगकै मापदण्डभित्र पार्नु अन्याय भएको उनको भनाइ थियो ।
पाण्डेले एक महिनाअघि गृह मन्त्रालयबाट प्रजिअ नारायणप्रसाद भट्टको ठाउँमा भक्तपुरमा सरुवा भएर आएकी हुन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com