Connect with us

BUSINESS

पर्यटक बोक्ने गाडी व्यवस्थित गरिने

Avatar

Published

on

भक्तपुरमा पर्यटक बोक्न प्रयोग हुने गाडीका चालकहरुको भेलाका सहभागी । तस्बिर : इन डेप्थ

भक्तपुर । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी भक्तपुरका पर्यटक बोक्ने गाडीलाई व्यवस्थित गरिने भएको छ । भक्तपुर पर्यटन विकास समितिले भक्तपुर भ्रमणमा पुग्ने पर्यटकहरुलाई लक्षित गरी ती गाडीलाई नियन्त्रित तथा व्यवस्थित गर्न लागेको हो ।
खोजेको बेला काठमाडौं फर्कन गाडी नपाउने, महंगो भाडा लिने गरेको जस्ता पर्यटकहरुको गुनासो सम्बोधन गर्न उक्त पहल गरेको समितिका अध्यक्ष रामसुन्दर भेलेले जानकारी दिए ।
उनका अनुसार भक्तपुरबाट अबेर काठमाडौं फर्कने पर्यटकहरुले न निजी गाडी पाउँछन् न त सार्वजनिक गाडी नै । राती अबेर काठमाडौं फर्कन सार्वजनिक गाडी नचले पनि भएका निजी गाडीलाई व्यवस्थित गर्न लागिएको अध्यक्ष भेले बताउँछन् ।
यसले भक्तपुर पुग्ने पर्यटकहरुले चाहेको बेला व्यवस्थित गाडीको सेवासुविधा पाउने उनी दावी गर्छन् ।
‘भक्तपुरबाट काठमाडौं फर्कने सार्वजनिक गाडीहरु राती अबेरसम्म चल्दैनन्’, उनले भने, ‘यस्तो बेला पर्यटकले खोज्ने निजी गाडी हो तर साँझ पर्न थालेसँगै ती गाडी पनि चल्दैनन् ।’
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी समितिले भक्तपुरमा सन्ध्याकालीन पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्दै आएको छ । भक्तपुर पुगेका पर्यटकहरु सबै यहीं बस्छन् भन्ने हुँदैनन् । त्यसैले काठमाडौं फर्कन चाहने पर्यटकहरुको सुविधाको लागि यातायातको व्यवस्था गर्न आवश्यक भएको समितिका सदस्य दीपेश वेंजूले बताए ।
पर्यटक बोक्ने गाडीको प्रवद्र्धन गर्न समितिले त्यसका चालकहरुको फोटोसहितको प्रोफाइल समितिको वेबसाइटमा व्यवस्था गर्न लागेको उनले सुनाए ।
‘यसले भक्तपुरमा चल्ने पर्यटक गाडीहरु व्यवस्थितमात्रै होइन नियन्त्रितसमेत हुने हाम्रो विश्वास हो’, उनले भने ।
सदस्य वैंजूले ती गाडीहरुलाई भक्तपुर पर्यटक यातायात सेवाको नाउँमा ब्राण्डिङ गर्ने तयारी अघि बढाइएको समेत सुनाए । उक्त नाम ब्राण्डिङ भएपछि चालकहरुलाई पोशाकको समेत प्रवन्ध गरिने उनले स्पष्ट पारे ।
यसैबीच समितिले शनिबार पर्यटक बोक्ने गाडीका चालकहरुलाई भेला पारेको छ । भेलाले चालक पुण्यराम थुयाको संयोजकत्वमा भक्तपुर पर्यटक यातायात सेवा (भक्तपुर टुरिस्ट भेहिकल्स सर्भिस) समूह गठन गरेको छ ।
उक्त भेलाले सेवामार्फत निश्चित भाडादर निर्धारण गर्ने, क्यू प्रणाली लागू गर्ने तथा व्यवस्थित सेवा दिने निर्णय गरेको छ । पर्यटकले टाढैबाट गाडीको पहिचान हुने गरी व्यवस्था गर्नेसमेत भेलाले तय गरेको छ ।
सेवाको लागि राखिएको गाडीहरुको निश्चित पार्किङ क्षेत्र निर्धारण गर्दै आवश्यकताअनुसार अबेरसम्म पनि पर्यटकहरुको लागि यातायात सेवा दिने संयोजक थुयाले जानकारी दिए ।
‘राती अबेरसम्म पनि काठमाडौं फर्कने गाडी छ भन्ने निश्चित भए पर्यटकहरुले भक्तपुरमा निश्चिन्त भएर घुमफिर गर्न सक्छन्’, उनले भने, ‘पर्यटकहरुले भक्तपुरमा बढी समय बिताए त्यसको लागि भक्तपुरवासीले नै पाउनेछन् ।’
उनका अनुसार भक्तपुर दरबार क्षेत्रमा मात्रै दुई दर्जनभन्दा पर्यटक बोक्ने गाडीको व्यवस्था छ । त्यस्तै भक्तपुर नपा २ ब्यासीस्थित पर्यटक बसपार्क, दूधपाटी, च्याम्हासिंह, सूर्यविनायकलगायतमा समेत पर्यटक गाडीको व्यवस्था रहेको उनले सुनाए ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com