Connect with us

BUSINESS

मंसिर १३ देखि २३ गतेसम्म भक्तपुर व्यापारिक मेला हुने

Avatar

Published

on

मंसिर १३ देखि २३ गतेसम्म हुने भक्तपुर सांस्कृतिक तथा व्यापारिक मेलाबारे आयोजित पत्रकार सम्मेलन । तस्बिर : इन डेप्थ

भक्तपुर । भक्तपुरमा ११ दिने लामो व्यापारिक तथा सांस्कृतिक मेला हुने भएको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी ममता केन्द्र नेपालले भक्तपुर नगरपालिका ७ स्थित माहेश्वरी खेल मैदानमा उक्त मेला गर्न लागेको हो ।
केन्द्रले आइतबार पत्रकार सम्मेलन गरी मेलामा एकसय पचासभन्दा बढी स्टल रहने जनाएको छ । केन्द्रका अध्यक्ष संगम लामाले मेला अवधिभर सांस्कृतिक कार्यक्रम, नृत्य तथा खेलकुद प्रतियोगिता हुने जानकारी दिए ।
मेलामा जाडो यामलाई ध्यानमा राखेर न्याना लत्ताकपडाका स्टलसँगै खाद्यान्न, इलेक्ट्रानिक्स तथा मोबाइलका स्टल रहने उनले बताए ।
उनका अनुसार मेलामा विभिन्न कम्पनीका मोटरसाइकलहरुको छुट्टै स्टल हुनेछ ।
‘मेला अवधिभर नेवारी तथा तामाङ र थकाली खाना तथा खाजाको फुड फेस्टिभलसमेत हुनेछ’, अध्यक्ष लामाले भने, ‘त्यस्तै मनोरञ्जनात्मक खेलतर्फ रोटेपिङ, नाउ, काररेस, ब्रेक डान्स, ड्राइगन, मौतका कुवा, भूत बंगला, मिकी माउस, जम्पिङ र विभिन्न जाडूसहितको बाल फनपार्क सञ्चालन हुनेछ ।’
मेलाको ११ दिनमा करिब १० करोडको कारोबार हुने अनुमान गरिएको केन्द्रकी कोषाध्यक्ष मेनुका भुजेलले जानकारी दिइन् । उनका अनुसार मेला आयोजना गर्न करिब ४५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
मेला अवधिभर दैनिक सांस्कृतिक कार्यक्रम हुने उनले बताइन् । जसअनुसार राष्ट्रिय गायकगायिका तथा कलाकारहरुमा जयनन्द लामा, राजु लामा, चेतन सापकोटा, बसन्त सापकोटा, ¥यापर भिटेन, ज्योति मगर, सरस्वती लामालगायतले आआफ्नो प्रस्तुति दिने कोषाध्यक्ष भुजेलले बताइन् ।
मेलामा खरिद गरिने सामानमा १० देखि १५ प्रतिशत छुट दिने व्यवस्था गरिएको केन्द्रले जनाएको छ ।
मेलामा प्रवेशको लागि प्रतिव्यक्ति पचास रुपैयाँ र विद्यार्थीलाई ३० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com