Connect with us

BUSINESS

भक्तपुर उद्यमी बचतको अध्यक्षमा पुनः वैद्य

Avatar

Published

on

भक्तपुर उद्यमी बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिमा निर्वाचित पदाधिकारीहरु सपथ ग्रहण गर्दै । तस्बिर : ईश्वरकाजी खाइजू

भक्तपुर । भक्तपुर उद्यमी बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा पुनः उत्तमप्रसाद वैद्य सर्वसम्मत निर्वाचित भएका छन् ।
भक्तपुर उद्योग वाणिज्य संघद्वारा प्रवद्र्धित संस्थाको शुक्रबार भएको १३ औं वार्षिक साधारणसभाले वैद्यको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति सर्वसम्मत निर्वाचित गरेको हो ।
अध्यक्षमा पुनः निर्वाचित वैद्य भक्तपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत हुन् ।
संस्थाको उपाध्यक्षमा मोहनप्रसाद ताम्राकार, सचिवमा महेशबहादुर धौबञ्जार र कोषाध्यक्षमा प्रज्ज्वल जोन्छे रहेका छन् । त्यस्तै सञ्चालक सदस्यहरुमा प्रदीप श्रेष्ठ, विजयशंकर प्रधानाङ र राजेशचरण जोशी सर्वसम्मत भए ।
उपाध्यक्ष ताम्राकार र कोषाध्यक्ष जोन्छे पनि भक्तपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरु हुन् । त्यस्तै सचिव धौबञ्जार संघका वर्तमान प्रथम उपाध्यक्ष, सदस्य श्रेष्ठ द्वितीय उपाध्यक्ष र प्रधानाङ कोषाध्यक्ष हुन् ।
संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजकमा राजेश शिल्पकार र सदस्यद्वयमा कृष्णराम गणेश र गणेशहरि प्रजापति पनि सर्वसम्मत भएका छन् । संयोजक शिल्पकार पनि भक्तपुर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य हुन् ।
यसअघि संस्थाको १२ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापतिले सहकारी क्षेत्रमा विभिन्न विकृति र विसंगति भित्रिएकाले भक्तपुर उद्यमी त्यसबाट अलग्ग हुनुपर्नेमा जोड दिए ।
शेयर सदस्यहरुको बचतमात्रै संकलन नगरी उनीहरुको उद्यमशीलता र क्षमता अभिवृद्धि हुने गतिविधि सञ्चालन गर्न उनले सुझाव दिए ।
जिल्ला बचत तथा ऋण सहकारी संघ भक्तपुरका उपाध्यक्ष हरि बलले सहकारी सम्बन्धमा संघीय, प्रदेश र स्थानीय सरकार स्पष्ट नभएको जिकिर गरे ।
सहकारी क्षेत्रमा प्रदेशले संघीय सरकार र स्थानीयले प्रदेश सरकारको ऐननियम पालना गर्नै नपर्ने अवस्था रहेको उनको भनाइ थियो ।
संघका नवनिर्वाचित अध्यक्ष वैद्यले संस्थाको दिगो विकासको लागि आफ्नो कार्यकालभित्र संस्थाको आफ्नै भवन बनाउने गरी काम गर्ने वचन दिए ।
उनले शेयर सदस्यहरुलाई आर्थिक फाइदामात्रै नदिई सामाजिक तथा सांस्कृतिक फाइदासमेत दिलाउन सञ्चालक समिति लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
संस्थाले आर्थिक वर्ष २०७५÷७६ मा ७३ लाख ९५ हजार ५६ रुपैयाँ खुद नाफा गरेको कोषाध्यक्ष प्रज्ज्वल जोन्छेले जानकारी दिए । उनका अनुसार यो गत वर्षको तुलनामा दोब्बर हो । गत वर्ष ३६ लाख १८ हजार सातसय ६३ रुपैयाँमात्रै खूद आम्दानी गरेको थियो ।
‘संस्थाले आव २०७५÷७६ मा मासिक, साधारण, विशेष, मुद्दती र दैनिक बचत गरी २३ करोड २९ लाख २५ हजार ६ सय २५ रुपैयाँ निक्षेप संकलन गरेको छ’, कोषाध्यक्ष जोन्छेले भने, ‘त्यस्तै २५ करोड ६२ लाख ७० हजार आठ सय ३१ रुपैयाँ ऋण प्रवाह भएको छ ।’
संस्थाले आव २०७५÷७६ मा विभिन्न दस थरि कर्जामा सर्वाधिक उद्यमी विशेष कर्जामा १२ करोड ४९ लाख ९६ हजार नौसय २८ रुपैयाँ ऋण लगानी गरेको छ । त्यस्तै व्यापारिक कर्जातर्फ आठ करोड ६९ लाख १५ हजार एकसय १० रुपैयाँ ऋण प्रवाह गरिएको छ । कूल सातसय ३५ शेयर सदस्यबाट दुई करोड ३९ लाख ६३ हजार एकसय शेयर पुँजी संस्थाको रहेको छ । आव २०७५÷७६ मा ४८ जना शेयर सदस्य वृद्धि भएको संस्थाका सचिव महेशबहादुर धौबञ्जारले जानकारी दिए ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com