Connect with us

BUSINESS

बलिपूजा अन्धविश्वास र जंगली अवस्थाको परिचय : बिजुक्छे

Avatar

Published

on

भक्तपुर पर्यटन विकास समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे । तस्बिर : इन डेप्थ

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चाडपर्व र वाहनहरुमा बलिपूजा गर्नु अन्धविश्वास र जंगली अवस्थाको परिचय हुने स्पष्ट पारेका छन् ।
भक्तपुर पर्यटन विकास समितिले विजया दशमीको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले विज्ञानले आविस्कार गरेको वाहनहरुलाई समेत पूजा गर्नु अन्धविश्वास भएको स्पष्ट पारेका हुन् ।
अन्धविश्वास भएका नेपालीहरुलाई देखेका विदेशी पर्यटकहरुले नेपाल अझै जंगली अवस्थामा रहेको अथ्र्याउने उनको भनाइ थियो ।
‘चाडपर्व र अन्य अवसरमा वाहनहरुमा बलिपूजा गर्नु अन्धविश्वास हो’, अध्यक्ष बिजुक्छेले थपे, ‘अन्धविश्वासले गर्दा नेपाल आएका पर्यटकहरुले नेपालीहरु अझै जंगली अवस्था रहेको अथ्र्याउने छन् । त्यसैले चाडपर्वलाई भौतिकवादी दृष्टिकोणले हेर्नुपर्छ ।’
समिति र भक्तपुर नपाद्वारा आयोजित स्थानीय पथप्रदर्शक तालिममा सहभागीहरु गाइडहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा उनले विदेशी सरकारी जासुस र सुरक्षा अधिकारीहरुसमेत पर्यटक भएर आउने भएको हुँदा नसोचिकन उनीहरुका हरेक प्रश्नको प्रतिक्रिया र जवाफ नदिन सचेत गरे ।
उनीहरुले गाइड, ट्याक्सी चालक, पर्यटन व्यवसायीहरुको मार्फतबाट देशको राजनीतिक, आर्थिक सम्पूर्ण अवस्थाको सर्वे वा जानकारी लिने उनको भनाइ थियो ।
‘हेर्दा पर्यटक लाग्छन् तर उनीहरु सरकारी जासुस वा सुरक्षा अधिकारीहरु हुन सक्छन् । उनीहरु जनमत बुझ्न र सर्वेक्षण गर्न यहाँ आएका हुन्छन्’, अध्यक्ष बिजुक्छेले गाइडहरुलाई लक्षित गरी भने, ‘त्यसैले उनीहरुले तपाईहरुसँग देशको राजनीति, सरकार, छिमेकी देशको प्रभाव आदिबारे विभिन्न प्रश्न गर्न सक्छन् । यस्तो स्थितिमा आफूलाई लागेको प्याच्च बोल्नुहुँदैन ।’
गाइडहरुले देशको समेत प्रतिनिधित्व गर्ने भन्दै उनले उनीहरुलाई शिष्ट र नम्र व्यवहार गर्न सुझाव दिए ।
पर्यटकहरुलाई आफ्नै देशमा रहेको अनुभूति दिलाउन सकेसम्म उनीहरुकै भाषामा पथप्रदर्शन गर्न उनले जोड दिए । भाषाले पर्यटकहरुसँग व्यवहार गर्न सहज हुने र उनीहरुले पनि राम्रो बुझ्ने भएकाले हरेक गाइडलाई कम्तीमा तीनवटा विदेशी भाषाको दख्खल राख्न अध्यक्ष बिजुक्छेले सुझाव दिए ।
उनले गाइडहरुको लागि लगानी गर्न स्थानीय तहहरुलाई समेत आग्रह गरे ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भिजिट नेपाल २०२० को तयारी निराशाजनक रहेको बताए ।
सरकारले भिजिट नेपाल २०२० मात्रै घोषणा गरेर यो सफल नहुने जिकिर गर्दै उनले विनातयारी भिजिट नेपाल २०२० सफल नहुने दावी गरे ।
उनले भक्तपुरमा चिनियाँ पर्यटकहरुको आवागमन बढेकाले नपाले यहाँका युवाहरुलाई चिनियाँ भाषाको प्रशिक्षण दिँदै आएको जानकारी दिए ।
प्रमुख प्रजापतिले दातृ मुलुक तथा निकायहरुको सहयोगविनै भक्तपुर नपाले यहाँका सम्पदा संरक्षण र सरसफाइ गरिरहेकोबारे पर्यटकहरुलाई समेत जानकारी दिन आग्रह गरे ।
भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले भक्तपुर व्यवस्थित र उत्कृष्ट पर्यटकीय गन्तव्य भएको सुनाउँदै यसलाई थप व्यवस्थित बनाउन भक्तपुर नपासँग सहकार्य गरिरहेको जानकारी दिए ।
पर्यटनले भक्तपुरका सर्वसाधारणसमेत लाभान्वित हुनुपर्ने भएकाले भक्तपुर नपाले गर्ने गतिविधिले सर्वसाधारणसमेत पर्यटनमा प्रत्यक्ष सहभागी हुनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा भक्तपुर नपा ९ वडाका वडा अध्यक्ष एवं पर्यटन एवं वातावरण समितिका संयोजक रवीन्द्र ज्याख्व, भक्तपुर नपा पर्यटन शाखा प्रमुख गौतमप्रसाद लासिवा, भक्तपुर पर्यटन विकास समितिका उपाध्यक्ष कृष्णसुन्दर खाइतूले गाइडहरुले अनुमानको भरमा पर्यटकहरुलाई जानकारी दिन नहुने धारणा राखे । आफूलाई जानकारी नभए अध्ययन गर्न सुझाव दिँदै उनीहरुले गाइडहरुको कारण भक्तपुर र सिंगो देशको पर्यटन उद्योगमा नकारात्मक प्रभाव पर्ने बताए ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com