Connect with us

BUSINESS

भक्तपुर घरेलु तथा साना उद्योग संघको वेभसाइट शुरु

Avatar

Published

on

भक्तपुर घरेलु तथा साना उद्योग संघको वेभसाइट शुभारम्भ कार्यक्रममा बोल्दै भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति । तस्बिरहरु : ईश्वरकाजी खाइजू

अब अनलाइनबाटै घरेलु तथा साना उद्योगका उत्पादन बेच्न पाइने

भक्तपुर । भक्तपुर नगरपालिकाले आफ्नो क्षेत्रका युवाहरुलाई कम्तीमा चार भाषाको तालिम दिने बताएको छ । चिनियाँ र जापानी भाषा प्रशिक्षण सञ्चालन गर्दै आएको नपाले यसै वर्ष स्पेनिस र फ्रेन्च भाषाको समेत तालिम दिने जनाएको हो ।
नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर आउने पर्यटकहरुसँग उनीहरुकै भाषामा कुरा गर्ने सक्ने गरी नगरका युवाहरुलाई उक्त तालिम दिन लागिएको बताएका हुन् ।
भाषा सम्पर्कको माध्यम भएकाले जति बढी भाषा जान्यो त्यति नै फाइदा हुने उनको भनाइ थियो ।
‘अहिलेको समयमा युवाहरुले कम्तीमा चार भाषा जान्नैपर्छ’, प्रमुख प्रजापतिले भक्तपुर घरेलु तथा साना उद्योग संघद्वारा आयोजित दसैं, तिहार, नेपाल संवत् ११४० एवं छठको शुभकामना आदानप्रदान कार्यक्रममा भने, ‘यसको लागि नपाले चिनियाँ र जापानी भाषाको प्रशिक्षण चलाइसकेको छ । अब छिट्टै स्पेनिस र फ्रेन्च भाषाको तालिम दिँदैछौं ।’
भक्तपुरका घरेलु तथा साना उद्योगी व्यवसायीहरुको मौलिक उत्पादनको अनलाइनमार्फत बजारीकरण गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको संघको वेभसाइट basci.org.np समेत शुभारम्भ गर्दै प्रमुख प्रजापतिले भक्तपुर पुग्ने पर्यटकहरुको बसाइ लम्ब्याउन नपा लागिपरेको सुनाए ।
‘नेपाल आएका करिब ३२ प्रतिशत पर्यटकले भक्तपुर भ्रमण गर्छन्’, उनले भने, ‘भक्तपुरमा बढी पर्यटक भित्र्याउन र उनीहरुको बसाइ लम्ब्याउन नपाले योजना बनाइरहेको छ ।’


उनले भक्तपुर भ्रमणमा आएका पर्यटकहरुलाई भक्तपुरको पहिचान बोकेका यहाँका घरेलु तथा साना उद्योगका उत्पादनहरु कालो भादगाउँले टोपी, हाकुपटासी, जुजु धौ र टाइचिन चिउरा चिनोस्वरुप दिनेबारे छलफल भइरहेको स्पष्ट पारे ।
प्रमुख प्रजापतिले नेपाल भिजिट वर्ष २०२० घोषणामात्रै गरेर सफल नहुने भन्दै तयारी पनि सोहीअनुसार हुनुपर्ने औंल्याए ।
कार्यक्रममा स्टिल तथा ग्रील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले घरेलु उद्योगहरुलाई समय सापेक्ष प्रविधिले जोड्नुपर्नेमा जोड दिए ।
नयाँ प्रविधि अँगालेर अन्तर्राष्ट्रिय बजार सुहाउँदो गुणस्तरीय उत्पादन दिन सकिए घरेलु तथा साना उद्योगका उत्पादनलाई बजार अभाव नहुने उनको भनाइ थियो ।
उद्योग कार्यालय भक्तपुरका प्रमुख सुवोधकुमार शाहले घरेलु तथा साना उद्योगीहरुको वेभसाइटले भक्तपुरमा मौलिक उत्पादनहरुलाई अनलाइन किनमेलमार्फत विश्व बजारमा सहज पहुँच पु¥याउने विश्वास व्यक्त गरे ।
केन्द्रीय महिला उद्यमी समितिकी उपसभापति रीता प्रजापति, भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष वीरेन्द्र जती, सचिव प्रेमकृष्ण खर्बुजा र जिल्ला महिला उद्यमी समितिकी सभापति ईश्वरी श्रेष्ठले भक्तपुरका घरेलु तथा साना उद्योगहरुलाई प्रविधिमैत्री बनाउने स्थानीय तहहरुले सहयोग गर्नुपर्ने धारणा राखे ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com