Connect with us

BUSINESS

भक्तपुर सुनचाँदी व्यवसायी संघको तेस्रो अधिवेशन सम्पन्न

Avatar

Published

on

भक्तपुर सुनचाँदी व्यवसायी संघको तेस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारीहरु सपथ ग्रहण गर्दै । तस्बिर : इन डेप्थ

अध्यक्षमा प्रदीपरत्न शाक्य

भक्तपुर । भक्तपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा प्रदीपरत्न शाक्य सर्वसम्मत निर्वाचित भएका छन् ।
संघको छैटौ वार्षिक साधारणसभा एवं तेस्रो अधिवेशनले शाक्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
जसअनुसार प्रथम उपाध्यक्षमा वसन्तराज शाक्य र द्वितीय उपाध्यक्षमा विजयरत्न शाक्य, महासचिवमा पद्मसुन्दर शाक्य, सचिवमा अष्टरत्न शाक्य, कोषाध्यक्षमा मतिना धाख्वा शाक्य र सहकोषाध्यक्षमा हेमबज्र बज्राचार्य रहेको छन् ।
त्यस्तै सदस्यहरूमा विजयसुन्दर शाक्य, विवुश शाक्य, सानुबज्र बज्राचार्य, नरेश बज्राचार्य, विनेश शाक्य र प्रकेशरत्न बुद्धाचार्य रहेका छन् ।
अधिवेशन उद्घाटन गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारले व्यवसायीहरूको समस्या समाधान गर्न सम्पूर्ण व्यवसायीहरू एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले व्यवसायीहरू विभाजित भए उद्देश्यमा पुग्न नसकिने भन्दै सरकारले सबैलाई अस्थायी लेखा नम्बर (पान) को व्यवस्थाले सुनचाँदी व्यवसाय थप व्यवस्थित हुने धारणा राखे ।


कार्यक्रममा अध्यक्ष सुनारले संघद्वारा प्रकाशित ‘लु स्वाँ’ (स्वर्ण फूल) स्मारिकसमेत विमोचन गरेका थिए ।
भक्तपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष पद्मसुन्दर शाक्यको सभापतित्वमा उद्घाटन समारोहमा महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य, उपाध्यक्ष एवं प्रदेश नं ३ का संयोजक दियशरत्न शाक्य, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापति, उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनलगायतले पनि आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा शाक्य तथा बज्राचार्य समुदायका दुई युवाहरूलाई भक्तपुर सुनचाँदी प्रतिभा सम्मान प्रदान गरिएको थियो । यसैवर्षदेखि सुरू गरिएको उक्त सम्मान महिलातर्फ रोटरियन रविना शाक्य र पुरूषतर्फ फोटोग्राफर उज्ज्वलचन्द्र बुद्धाचार्यले पाएका छन् ।
संघका नवनिर्वाचित अध्यक्ष शाक्यले संघका सदस्यहरूको सल्लाहसुझाव लिएर संघको अल्पकालीन र दीर्घकालीन योजना बनाइने जानकारी दिए ।
व्यवसायी सदस्यहरूको व्यक्तित्व तथा नेतृत्व क्षमता अभिवृद्धि गर्न विविध तालिम सञ्चालन गरिनेसमेत उनले सुनाए ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com