Connect with us

BUSINESS

घरटहरा भत्काएकोविरुद्ध अनिश्चितकालीन नगरकोट बन्द

Avatar

Published

on

सडकमा टायर बालेर विरोध गर्दै स्थानीय वासिन्दा । तस्बिर : इन डेप्थ

नगरकोट (भक्तपुर) । विरोधका बीच आइतबार घरटहरामा जबरजस्ती डोजर लगाइएपछि स्थानीयले अनिश्चितकालीन नगरकोट बन्द आह्वान गरेका छन् । स्थानीय साना तथा मझौला व्यवसायी समूह नगरकोटको आह्वानमा अनिश्चितकालीन नगरकोट बन्द आह्वान गरिएको हो ।
यसअघि नगरकोट क्षेत्रको वन अतिक्रमण गरी बनाइएका घरटहरामा डोजर लगाएर भत्काउने क्रममा प्रहरी र स्थानीय वासिन्दाबीच झडप भएको छ । प्रतिकारमा उत्रिएका थिए । प्रतिकारमा उत्रिएका उनीहरूलाई प्रहरीले हटाएपछि प्रहरीमाथि नै ढुंगामुढा गरिएको छ ।
प्रहरीले बल प्रयोग गरेपछि स्थानीयले टायर बालेर नगरकोट बजार क्षेत्र बन्द गराएका छन् । व्यवसायीहरूसमेत आआफ्नो पसल व्यवसाय बन्द गरेर विरोधमा उत्रिएका हुन् ।
स्थानीयको विरोध चर्किएपछि नगरकोटमा सयौं जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
घरटहरामा डोजर चलाउने क्रममा स्थानीय र प्रहरीहरूबीच एक घन्टाभन्दा बढी समय झडप भएको जिल्ला वन कार्यालय भक्तपुरका प्रमुख प्रेमप्रसाद खनालले जानकारी दिए ।
स्थानीयले प्रहरी तथा घरटहरा भत्काउन पुगेको टोलीमाथि ढुंगामुढासँगै बियरलगायतका शिशी प्रहार गरेको उनको भनाइ थियो ।
उनले पटकपटक वन क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन सूचना दिँदा पनि स्थानीयले अटेर गरेकाले डोजर लगाइएको बताए ।
वन कार्यालयका अनुसार आइतबार नगरकोटको भट्टेडाँडादेखि ग्यालेक्सी चोकसम्मका करिब एकसय वटा सडक तथा वन क्षेत्र अतिक्रमति घरटहरा हटाइएको छ ।
वन कार्यालय प्रमुख खनालले स्थानीयले अवरोध नगरे आइतबार नगरकोट क्षेत्रका सम्पूर्ण अतिक्रमित घरटहरा भत्काएरै छाडिने बताए ।
‘भक्तपुर जिल्लाअन्तर्गत नगरकोट क्षेत्रमा वन अतिक्रमण गरेर एकसय ९६ वटा घरटहरा बनेका छन्’, उनले भने, ‘नगरकोटमा वन अतिक्रमण निमिट्यान्न पारेपछि अन्य क्षेत्रका अतिक्रमित संरचना पनि भत्काउँछौं ।’
उनका अनुसार भक्तपुरमा चारवटा रेञ्जपोस्टअन्तर्गतका वनहरूमध्ये तेलकोटअन्तर्गत पर्ने नगरकोटमा सबैभन्दा बढी वन क्षेत्र अतिक्रमण गरेर घरटहरा बनाइएका छन् ।
‘नगरकोटमा मात्रै वन अतिक्रमित घरटहरा एवं भौतिक संरचना भत्काउँदैनौं’, प्रमुख खनालले भने, ‘क्रमिक रूपमा जिल्लाभरका वन क्षेत्र अतिक्रमित संरचना हटाउँछौं ।’
जिल्ला वन कार्याल भक्तपुर र चाँगुनारायण नगरपालिकाले वन अतिक्रमण गरेर बनाइएका घरटहरा हटाउन दिनहुँ माइकिङ गरेपछि शनिबारमात्रै साना तथा मझौला व्यवसायीहरूले घरटहरा नभत्काउन चेतावनी दिँदै विरोध प्रदर्शन तथा कोणसभा गरेका थिए ।
उनीहरूले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै बेला आफूहरूले वर्षाैंदेखि व्यवसाय गर्दै आएको घरटहरा भत्काउनु अन्याय भएको बताएका थिए ।
सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै बेला जबरजस्ती घरटहरा भत्काउनु ज्यादती भएको आन्दोलनरत साना तथा मझौला व्यवसायी समूह नगरकोटका अध्यक्ष दिलीप तामाङले बताए ।
भक्तपुरको चाँगुनारायण र काभ्रेको मन्डन देउपुर नपामा पर्ने नगरकोट क्षेत्रमा करिब पाँचसय घर टहरा रहेका छन् । ती घर तथा टहरामा करिब एक हजार पाँच सय घरपरिवार आश्रित रहेका स्थानीय व्यवसायीहरूले बताएका छन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com