Connect with us

BUSINESS

नगरकोटमा चाँगुनारायण नपाको ‘दादागिरी’

Avatar

Published

on

नपाले एकतर्फी घरटहरा भत्काएको विरोधमा शनिबार भएको कोणसभामा सहभागी नगरकोटका साना तथा मझौला व्यवसायी । तस्बिरहरु : ईश्वरकाजी खाइजू

भक्तपुर । भक्तपुरको नगरकोट क्षेत्रका साना तथा मझौला व्यवसायीहरुले आफूहरु चाँगुनारायण नगरपालिकाले ‘दादागिरी’ को ज्यादतीमा परेको बताएका छन् ।
सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै बेला नगरपालिकाले आफूहरु वर्षाैंदेखि व्यवसाय गर्दै आएको घरटहरा भत्काएर दादागिरी देखाएको उनीहरुको भनाइ थियो ।
चाँगुनारायण नगरपालिकाले नगरकोट सडक तथा वन क्षेत्र अतिक्रमण गरेर बनाएका भन्दै सडक दायाँबायाँ रहेका घरटहरा हटाउन सूचना जारी गरेको थियो । पटकपटक लिखित सूचना जारी गर्दा पनि स्थानीय व्यवसायीहरुले अटेर गरेको भन्दै नपाले नगरकोटको बसपार्क क्षेत्रका केही घरटहरामा डोजर चलाएको हो ।
नपाले सूचना जारी गरेपछि नै व्यवसायीहरुले नपामा पुगेर आफूहरुलाई व्यवसाय गर्ने बैकल्पिक ठाउँ दिन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । त्यस्तै उनीहरु आफूहरुले वर्षौंदेखि सञ्चालन गर्दै आएको व्यवसाय र घरटहराबाट उठिबास लगाउन लागेपछि सर्वोच्च पुगेका थिए ।
उक्त मुद्दाको एक चरणमा सुनुवाइ भएर यहीं आउँदो भाद्र २० गते अर्को पेशी रहेको आन्दोलनरत साना तथा मझौला व्यवसायी समूह नगरकोटका अध्यक्ष दिलीप तामाङले जानकारी दिए ।
‘सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै बेला नपाले जबरजस्ती हाम्रा घरटहरामा डोजर चलाइयो’, अध्यक्ष तामाङले भने, ‘अदालतलाई नै नमान्ने यो नगरपालिका दादागिरी हो । यसको हामी विरोध गर्छौं ।’
उनका अनुसार अहिले पनि नगरपालिकाले सडक दायाँबायाँका घरटहरा भत्काउन भनी दैनिकसजो माइकिङ गराएको छ । स्थानीय साना तथा मझौला व्यवसायीहरुको रोजीरोटी खोसेर उठिबास लगाए आफूहरु मर्न र मार्न तयार रहेको समूहका उपाध्यक्ष लाउरे तामाङले चेतावनी दिए ।
उनले नपाले एकतर्फी डोजर चलाए आफूहरु प्रतिकारमा उत्रिने र त्यसपछि उत्पन्न हुने घटनाको दोषी नगरपालिका हुने सुनाए ।
अदालतमा मुद्दा विचाराधीन रहँदारहँदै नपाले पेलेर जाने उद्देश्यले दिनहुँ माइकिङ गरेर तर्साउन थालेपछि व्यवसायीहरुले शनिबार नगरकोट क्षेत्रमा विरोध प्रदर्शन र कोणसभासमेत गरेका छन् ।


उक्त विरोध प्रदर्शन र कोणसभामा सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाहेक अरु स्थानीय रुपमा सक्रिय पार्टीका नेताहरुले ऐक्यबद्धता जनाएका थिए । चाँगुनारायण नपामा सत्तासीन नेकपाको प्रमुख र उपप्रमुखसहित दुईतिहाइ बहुमत रहेको छ ।
कोणसभामा नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति कृष्णलाल भडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाह, नेमकिपाका कुमार थिङ, क्रान्तिकारी कम्युनिष्ट पार्टीका सुरेश तामाङले सम्बोधनसमेत गरेका थिए ।
उनीहरुले व्यवसायीहरु एकजुट भई आन्दोलनमा उत्रिए आफूहरु पनि साथमा रहेको आश्वासन दिए ।
उनीहरुले बैकल्पिक व्यवस्थाविना भइरहेको व्यापार व्यवसायबाट विस्थापित हुने गरी नपाले चालेको कदम दादागिरी र गुण्डागर्दी शैलीको भएको टिप्पणी गरे ।
त्यस्तै नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर तामाङ र चाँगुनारायण नपा वडा नं. २ का अध्यक्ष एवं नेपाली कांग्रेस चाँगु नगर समितिका सभापति शिवहरि केसीले नगरकोटको बाटोले नगरपालिकालाई गिज्याइरहेको र नगरकोट पुगेका पर्यटकहरुबाट उठाएको रकम नगरकोटकै विकास निर्माणमा खर्च गर्नुपर्ने बताए ।
नगरकोट क्षेत्रमा करिब पाँचसय घर टहरा रहेका छन् । ती घर तथा टहरामा करिब एक हजार पाँच सय घरपरिवार आश्रित रहेको समूहले जनाएको छ ।
उनीहरुले नपाले नपाभर सार्वजनिक जग्गा मिचिएर र सडक अतिक्रमण गरेर बनाइएका संरचना भत्काए नगरकोटमा डोजर पठाउनै नपर्ने उल्टै आफूहरुले नै घरटहरा भत्काएर नगरपालिकालाई सहयोग गर्ने बताएका छन् ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com