भक्तपुर । नेपाल औषधि व्यवसायी संघ भक्तपुर जिल्ला शाखाको अध्यक्षमा नारायणप्रसाद भुसाल सर्वसम्मत भएका छन् ।
शाखाको शनिबार भएको प्रथम जिल्ला अधिवेशनले भुसालको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो ।
जसअनुसार समितिको उपाध्यक्षमा राजकुमार बुढाथोकी, महासचिवमा विनोदप्रसाद सापकोटा, कोषाध्यक्षमा दीपा बस्नेत, सचिवमा राम न्यौपाने र उपकोषाध्यक्षमा किरण माकजू श्रेष्ठ रहेका छन् ।
त्यस्तै सदस्यहरुमा कृष्णराज बुढाथोकी, सीताराम खाइतू र चेतन शाक्य सर्वसम्मत भएका छन् ।
नवनिर्वाचित अध्यक्षले जिल्लाका औषधि व्यवसायीहरुको हकहित संरक्षण गर्दै व्यवसायीहरुलाई एकजुट बनाई आइपर्ने समस्याहरु समाधान गर्न लागिपर्ने वचन दिए ।
-
-
उनले जिल्लाका सम्पूर्ण औषधि व्यवसायीहरुलाई गोलबद्ध गर्न लाग्नेसमेत बताए ।
उनका अनुसार जिल्लाका करिब चारसय औषधि व्यवसायीहरु छन् तर संघमा त्यसको आधामात्रै आवद्ध छन् ।
निर्वाचनअघि प्रदेश नं. ३ का सांसद शशिजंग थापाले शाखाको प्रथम जिल्ला अधिवेशन उद्घाटन गरेका थिए । औषधि व्यवसायीसमेत रहेका सांसद थापाले सर्वसाधारण उपभोक्ताहरुलाई गुणस्तरीय औषधिमात्रै बिक्री वितरण गर्न सुझाव दिए ।
‘अस्पताल टाढा रहेका तथा पहुँच बाहिर रहेका सर्वसाधारणको लागि घरआँगनमा खुलेका मेडिकल तथा फार्मेसी नै औषधोपचार पाउने पहिलो माध्यम हो’, सांसद थापाले भने, ‘त्यसैले हाम्रो सेवा विश्वसनीय, गुणस्तरीय हुनु आवश्यक छ ।’
कार्यक्रम प्रथम जिल्ला सम्मेलन तयारी समितिका संयोजक दिलकुमार दुवालको सभापतित्वमा भएको थियो ।