Connect with us

BUSINESS

भक्तपुर नपाको बजेट २ अर्ब १३ करोड

Avatar

Published

on

आर्थिक वर्ष २०७६/७७ को लागि नपाको बजेट प्रस्तुत गर्दै भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी । तस्बिर : इन डेप्थ

पूर्वाधार र सम्पदा संरक्षण प्राथमिकतामा

भक्तपुर । भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि २ अर्ब १३ करोड १० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
भक्तपुर नपाको पाँचौं नगरसभामा उपप्रमुख रजनी जोशीले कूल बजेटमध्ये चालूतर्फ ९९ करोड ८० लाख अर्थात ४६.८३ प्रतिशत र पँुजीगततर्फ १ अर्ब १३ करोड ३० लाख अर्थात ५३.१७ प्रतिशत विनियोजन गरिएको बजेट प्रस्तुत गरेकी हुन् ।
बजेटमा बाह्य स्रोतबाट एक अर्ब २२ करोड २४ लाख र आन्तरिक स्रोतबाट ६२ करोड आय हुने प्रक्षेपण गरिएको छ ।
उपप्रमुख जोशीले आ.व. २०७६/७७ का लागि बाह्य स्रोतअन्तर्गत संघीय सरकारबाट सःशर्त अनुदान, वित्तीय समानीकरण, समपूरक र विशेष अनुदानवापत कूल ४८ करोड ६५ लाख आय हुने अनुमान गरिएको बताइन् । त्यस्तै प्रदेश सरकारबाट ५ करोड आम्दानी हुने अनुमान रहेको उनले सुनाइन् ।
बजेटमा विभिन्न शीर्षकमा राजश्व बाँडफाँट र मालपोत कार्यालयबाट कूल १३ करोड ८० लाख, सामाजिक सुरक्षा भत्तावापत १७ करोड ६५ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । साथै पूर्वाधार साझेदारी कार्यक्रम तथा सडक बोर्डमार्फत २ करोड रुपैयाँ आम्दानी हुने उपप्रमुख जोशीले बताइन् ।
उनका अनुसार भक्तपुर नपा ९ च्याम्हासिंहमा निर्माणाधीन छाती पुनःस्थापना केन्द्रका लागि जापानी अन्तर्राष्ट्रिय चिकित्सक तथा प्राविधिक संस्था (जिम्टेफ) बाट १ करोड १४ लाख आम्दानी हुने अनुमान गरिएको छ । नगरपालिकाद्वारा सञ्चालित आवास योजना समयमै सम्पन्न गर्ने हेतुले नगरपालिकाले यस वर्ष ऋण सहयोगवापत २५ करोड आम्दानी गर्ने लक्ष्य लिइएको उनले बताइन् ।

पूर्वाधार र सम्पदा संरक्षणलाई बढी बजेट

पाँचौं नगरसभामा मंगलबार प्रस्तुत गरिएको बजेटमा विकास निर्माण र सम्पदा संरक्षणको लागि सबैभन्दा बढी बजेट विनियोजन गरिएको छ । प्रस्तुत बजेटको कूल रकमको ७२ करोड ९१ लाख १० हजार अर्थात २४.२१ प्रतिशत रकम विकास निर्माण र सम्पदा संरक्षणको लागि छुट्याइएको हो ।
भक्तपुर पर्यटकीय गन्तव्यस्थल हो । यहाँका संरक्षित सम्पदा अवलोकन गर्न बाह्य पर्यटकहरु भक्तपुर भ्रमण गर्छन् । र, भक्तपुर नपाले पर्यटन सेवा शुल्कबाटै सबैभन्दा बढी आन्तरिक आय गर्दै आएको छ । साथै २०७२ सालको भूकम्पले क्षति पुराएका सम्पदाहरुमध्ये अझै मुख्य मुख्य सम्पदाहरुको जीर्णोद्धार एवं पुनर्निर्माण गर्न बाँकी छ ।

शिक्षा दोस्रो प्राथमिकतामा

भक्तपुर नपाले विकास निर्माण र सम्पदा संरक्षणपछि शिक्षा क्षेत्रलाई दोस्रो प्राथमिकतामा राखेको छ । उसले कूल बजेटको १४.४२ प्रतिशत अर्थात ३० करोड ७३ लाख ९६ हजार रुपैयाँ शिक्षा क्षेत्रको लागि विनियोजन गरेको छ । नपा आफैले दुइटा इञ्जिनियरिंग कलेजसहित ६ वटा शैक्षिक संस्था सञ्चालन गर्दै आएको छ । त्यस्तै आगमी आ.व.मा नगरको कुनै एक सामुदायिक विद्यालयलाई नमुना विद्यालयको रुपमा सञ्चालन गर्ने उद्देश्यसहित बजेट विनियोजन गरिएको उपप्रमुख जोशीले स्पष्ट पारिन् ।

बाल विकास सहजकर्तालाई मासिक ४ हजार थप पारिश्रमिक

त्यस्तै सामुदायिक विद्यालयहरुमा कार्यरत वालविकास सहजकर्ता (ईसीडी शिक्षक)हरुलाई भक्तपुर नपाले आफ्नै स्रोतबाट व्यहोर्ने गरी प्रतिव्यक्ति मासिक चार हजार रुपैयाँ थप पारिश्रमिक दिने गरी बजेटमा व्यवस्था गरिएको छ ।
उसले स्वास्थ्य क्षेत्रका लागि २५ करोड ५४ लाख ६२ हजार रुपैयाँ विनियोजन गरेको छ ।
आर्थिक अवस्था कमजोर भएका तर शैक्षिक स्तर राम्रो भएका जेहेनदार एवं मेधावी विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न सहयोग गर्ने हिसावले नगरपालिकाले शैक्षिक ऋण कोषको व्यवस्था गरेको छ । नयाँ आ.व.का लागि नगरपालिकाले उक्त कोषमा ४ करोड ९९ लाख ९० हजार रकम विनियोजन गरेको छ ।

भक्तपुर महोत्सव हुने

भक्तपुर नगरलाई आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि उत्कृष्ट गन्तव्यस्थल बनाउने उद्देश्यसहित आगामी वर्ष भक्तपुर महोत्वस आयोजना गर्ने भएको छ । त्यसका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । भक्तपुर नपाले पहिलोपटक सन् १९९८ मा भक्तपुर महोत्सव आयोजना गरेको थियो ।
नगरबासीको खानेपानी समस्या न्यूनीकरण गर्न भक्तपुर नपाले नगरका ठाउँ ठाउँमा भूमिगत पानीको स्रोत पहिचान गरी खानेपानीको व्यवस्था एवं खानेपानीको पाइप सुधारको लागि ३ करोड ८१ लाख बजेट विनियोजन गरेको छ ।
त्यस्तै युवा तथा खेलकुदको लागि ५ करोड ५७ लाख रुपैयाँ विनियोजन गरेको भक्तपुर नगरले पर्यटन पूर्वाधार विकासका लागि ४ करोड ८६ लाख ९० हजार, फोहर मैला व्यवस्थापन तथा वातावरण सुधारका लागि १३ करोड ५७ लाख ५० हजार, साँस्कृतिक प्रवद्र्धनका लागि २ करोड ३० लाख, कृषि तथा पशु सेवाको लागि १ करोड ६४ लाख र नपाका कर्मचारीहरुलाई खाजा खर्चवापत प्रतिव्यक्ति प्रतिमहिना पाँच सय रुपैयाँ थप सुविधा दिने गरी बजेटमा व्यवस्था गरिएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com