Connect with us

BUSINESS

भक्तपुरमै अन्तर्राष्ट्रियस्तरको स्वीमिङ पुल सञ्चालन

Avatar

Published

on

शनिबारदेखि सञ्चालनमा ल्याइएको भादगाउँ स्पोर्टस् एण्ड लिजरको स्वीमिङ पुल । तस्बिरहरु : ईश्वरकाजी खाइजू

भक्तपुर । भक्तपुरमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको स्वीमिङ पुल सञ्चालनमा ल्याइएको छ । अन्तर्राष्ट्रियस्तरको प्रतियोगितासमेत गर्न सकिने गरी भादगाउँ स्पोर्टस् एण्ड लिजरले उक्त स्वीमिङ पुल शनिबारदेखि सञ्चालनमा ल्याएको हो ।
उक्त पोखरी अन्तर्राष्ट्रिय मापदण्डअनुसार ५० फिट चौडाइ र ८० फिट लम्बाइ रहेको छ । भादगाउँले भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलमा एक करोड ८० लाख लगानीमा उक्त स्वीमिङ पुल निर्माण गरेको थियो ।
भादगाउँ स्पोर्टस् एण्ड लिजरका अध्यक्ष रविनारायण कायस्थले मनोरञ्जनसँगै प्रतियोगितासमेत गर्ने लक्ष्य लिएर स्वीमिङ पुल सञ्चालनमा ल्याइएको जानकारी दिए ।
‘एक हप्ताको परीक्षणपछि शनिबारदेखि स्वीमिङ पुल सर्वसाधारणको लागिसमेत खुला गरेका छौं’, उनले भने, ‘स्वीमिङ पुलको लागि पानी शुद्धीकरण प्रणाली जडान गरेका छौं । जसले गर्दा पौडी खेल्दा आँखा पोल्ने तथा एलर्जी हुनेछैन ।’
उनका अनुसार पौडी पोखरीमा एकैपटक दुईसय जनासम्मले मनारेञ्जन लिन सक्छन् । जहाँ तीन देखि आठ फिटसम्मको गहिराइ छ । त्यस्तै डेढ फुट गहिराइ भएको बच्चाहरुको छुट्टै पौडी पोखरीको व्यवस्था गरिएको छ ।
‘पौडी पोखरीसँगै ज्याकुजी, साउना बाथ र स्टीम बाथको व्यवस्था गरेका छौं’, भादगाउँका सञ्चालक उत्तम थुसाले थपे, ‘यहाँ पौडी खेल्ने आउनेहरुको सुविधाको लागि स्वीमिङ कस्टम, ट्युबलगायत सबै पाइने व्यवस्था गरेका छौं ।’
पौडी पोखरी सञ्चालनमा ल्याउनुअघि नै भादगाउँले लनटेनिस र ब्याडमिन्टनका दुईदुईवटा कोर्ट सञ्चालनमा ल्याइसकेको छ । दुवै कोर्ट रात्रीकालीन समयमा समेत सञ्चालनमा ल्याउन सकिने गरी बत्तीको व्यवस्था गरिएको अध्यक्ष कायस्थले जानकारी दिए ।


लन टेनिस वा ब्याडमिन्टनका खेलाडीहरुको मागअनुसार पौडी पोखरी सञ्चालनमा ल्याएको उनको भनाइ थियो ।
उसले सर्वसाधारणको लागि प्रतिदिन चार सय रुपैयाँ शुल्क राखेको छ । १२ वर्षमुनिका बालबालिकाको लागि भने तीनसय रुपैयाँ लाग्नेछ । त्यस्तै स्कुलका विद्यार्थीहरुको लागि एकसय पचास रुपैयाँमा पौडीको मज्जा लिन सकिने व्यवस्था गरिएको भादगाउँले जनाएको छ ।
करिब आठ रोपनी क्षेत्रफलमा फैलिएको भादगाउँ स्पोर्ट एण्ड लिजरमा बालबालिकाको लागि फनपार्कसँगै सेमिनार हलसहितको रेस्टुरेन्टसमेत सञ्चालनमा ल्याइएको छ । भादगाउँमा अध्यक्ष कायस्थका अनुसार करिब दुईसय जना क्षमताको सेमिनार हलसहितको रेस्टुरेन्ट सञ्चालनमा आइसकेको छ ।
उनले अबको ६ महिनाभित्र होटलसमेत सञ्चालनमा ल्याइने जानकारी दिए ।
‘भवनसहित थप नौ रोपनी क्षेत्रफल जग्गा भाडामा लिने सम्झौता भइसकेको छ’, उनले भने, ‘उक्त भवनमा ४० वटा कोठा व्यवस्था गर्दैछौं । जहाँ पार्किङको लागि प्रशस्त ठाउँ रहेको छ ।
सुरुमा दुई करोड रुपैयाँबाट लगानी सुरु गरिएको भादगाउँ स्पोर्ट एण्ड लिजर अहिलेसम्म नौ करोड पुगेको बताइएको छ ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com