Connect with us

BUSINESS

कपडा तथा सिलाईमा भ्याट हटाउन ज्ञापन

Avatar

Published

on

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई ज्ञापनपत्र बुझाइँदै । तस्बिर : इनडेप्थ

भक्तपुर । भक्तपुरका व्यवसायीहरुले कपडा तथा सिलाईको क्षेत्रमा कार्यरत साना व्यवसायीहरुलाई अनिवार्य मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउन माग गरेका छन् ।
सानो लगानीमा गरिएको कपडा तथा सिलाई व्यवसायमा भ्याट लगाउँदा आफूहरु व्यवसायबाटै बिस्थापित हुनुपर्ने उनीहरुको भनाइ थियो ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ जिल्ला शाखा भक्तपुरले बिहीबार यहाँका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई ज्ञापनपत्र बुझाउँदै अनिवार्य भ्याट हटाउन माग गरेको हो ।
अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको भ्याटमार्फत कपडा तथा सिलाई व्यवसायमा पनि भ्याट लगाउने घोषणा गरेपछि कपडा तथा सिलाई क्षेत्रका साना व्यवसायीहरु आन्दोलित भएका हुन् ।
संघले बुझाएको ज्ञापनपत्रमा साना कपडा तथा सिलाई व्यवसायीहरुलाई अन्याय हुने गरी अनिवार्य भ्याटमा दर्ता गर्नुपर्ने प्रावधानलाई सच्याउन माग गरिएको छ । ५० लाखभन्दा बढी कारोबार गर्ने व्यवसायीहरुलाई मात्र भ्याटमा दर्ता गर्नुपर्ने नियम बनाउन ज्ञापनपत्रमा भनिएको छ ।
प्रमुख जिल्ला अधिकारी भट्टलाई ज्ञापनपत्र बुझाउँदै संघका अध्यक्ष लक्ष्मीबहादुर श्रेष्ठले आफूहरुको माग अर्थमन्त्रीसमक्ष पु¥याउन ध्यानाकर्षण गरे ।
‘हाम्रो माग अर्थमन्त्रीसम्म पुगोस्’, उनले भने, ‘कपडा तथा सिलाई व्यवसायमा भ्याट अनिवार्य गर्दा जिल्लाजिल्लाका साना व्यवसायीहरु मारमा पर्ने निश्चित छ ।’


साना व्यवसायीहरुले आफ्नो परिवारको सहयोगमा व्यवसाय सञ्चालन गर्दै आएकोमा भ्याटमा जानुपर्ने बाध्यताले नियमित हिसाब बुझाउन र लेखा राख्न छुट्टै कर्मचारी व्यवस्थापन गर्न आफूहरुले नसक्ने बताए ।
‘साना व्यवसायीहरुलाई सरकारले भ्याटमा जाऊ भन्नु व्यवसाय बन्द गर भन्नु बराबर हो’, व्यवसायीहरुले भने ।
ज्ञापन पत्र बुझिलिई प्रजिअ भट्टले कपडा तथा सिलाईका साना व्यवसायीहरुको मागलाई तुरुन्त सम्बोधन हुने गरी छिट्टै अर्थ मन्त्रालय पठाउने वचन दिए ।

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU Powered By : www.gobhaktapur.com