Connect with us

BUSINESS

भक्तपुर नगरको विद्युतीय तार भूमिगत गरिने

Avatar

Published

on

भक्तपुर । नेपाल विद्युत प्राधिकरणले भक्तपुरको पुरानो नगर क्षेत्रको विद्युतीय तार पनि भूमिगत गर्ने भएको छ । एसियाली विकास बैंकको आर्थिक सहयोगमा पुरानो नगर क्षेत्रको सम्पूर्ण विद्युतीय तार भूमिगत गरिने भएको हो ।
यसको लागि भक्तपुर नगरपालिकासँगै मिलेर जीपीएस म्यापिङ भइरहेको प्राधिकरणको भक्तपुर वितरण केन्द्रका प्रमुख प्रज्ज्वलमान श्रेष्ठले जानकारी दिए ।
भक्तपुर नगरको ऐतिहासिक र पुरातात्विक सम्पदाहरुको अवलोकन गर्न दृश्य प्रदूषण हुन नदिन विद्युतीय तार भूमिगत गर्न लागेको उनले स्पष्ट पारे ।
उनका अनुसार विद्युतीय तारसँगै टेलिफोन, इन्टरनेट, केबल नेटवर्कलगायतका तारहरुसमेत भूमिगत गरिने छ ।
विद्युतीय प्रसारण लाइन भूमिगत भए पनि ट्रान्सफर्मर भने जमिनमाथि नै हुनेछन् । तर त्यसलाई सम्पदा क्षेत्रअनुसार मौलिक संरचनाले ढाकिने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले काठमाडौंका केही क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने कार्य अघि बढाइसकेको छ । सोही अनुसार जीपीएस म्यापिङ भइसकेपछि भक्तपुर नगरमा पनि भूमिगत गर्ने प्राधिकरणको योजना रहेको छ ।
‘भक्तपुर नगरमा विद्युतीय तार भूमिगत गर्न एसियाली विकास बैंक तयार भइसकेको छ’, भक्तपुर वितरण प्रमुख श्रेष्ठ भन्छन्, ‘यसमा भक्तपुर नगरपालिकाले पनि चासो राख्दै आएको छ ।’

१७ किलोमिटर तार फेरियो

यसैबीच केन्द्रले भक्तपुर नगरभित्रको करिब १७ किलोमिटर नांगो एवं पुरानो तार फेरेको छ । नांगा र पुराना तारले प्राविधि चुहावट बढेपछि नयाँ तार फेरिएको केन्द्र प्रमुख श्रेष्ठ बताउँछन् ।
‘भक्तपुर नगरभित्रको १७ किलोमिटर नांगो एवं पुरानो तार झिकेर नयाँ एबीसी तार हालेका छौं’, उनले भने, ‘यसले प्राविधिक चुहावटसमेत नियन्त्रण हुनेछ ।’
उनका अनुसार केन्द्रअन्तर्गतकै सबैभन्दा लामो नगरकोट फिडर टुक्राउने कामसमेत भइरहेको छ । भक्तपुरदेखि नगरकोटसम्म विद्युत प्रवाह भएको यो फिडरको मुख्य प्रसारणलाइन करिब ४६ किलोमिटर लामो छ । ‘मुख्य प्रसारणलाइन लामो हुँदा पनि प्राविधिक चुहावट बढी हुन्छ’, उनले भने, ‘त्यसैले यसलाई टुक्राउँदै छौं ।’
उनले ग्राहकतर्फको विद्युत चुहावट नियन्त्रणमा उल्लेखनीय उपलब्धि हात लागेकाले प्राविधिक चुहावट नियन्त्रणमा समेत केन्द्र लागिपरेको सुनाए । विद्युत प्रसारणमा करिब ८ प्रतिशत प्राविधिक चुहावट हुन्छ ।
भक्तपुरमा केन्द्रअन्तर्गत माघ महिनामा १३.७९ प्रतिशत विद्युत चुहावट भएको रेकर्ड भएको छ । यसमा प्राविधिक चुहावट ८ प्रतिशतलाई आधार मानिए ग्राहकतर्फ ५.७९ प्रतिशतमात्रै विद्युत चुहावट भए मान्न सकिन्छ ।
तैपनि प्राविधिक र अप्राविधिक चुहावट १० प्रतिशतमा झार्ने लक्ष्यसहित काम भइरहेको केन्द्र प्रमुख श्रेष्ठ बताउँछन् ।

सबै फिडरको स्तरोन्नति

उनले केन्द्रअन्तर्गत रहेको चारवटै फिडरको स्तरोन्नति गर्ने कामसमेत भइरहेको छ । उनका अनुसार सम्पूर्ण फिडरको मुख्य प्रसारणलाइनमा बढी झमताको कभर कन्डक्टरसहितको तार फेर्ने कार्य भइरहेको हो । यी सबै कार्य गर्न प्राधिकरणको केन्द्रीय कार्यालयले पर्याप्त बजेट विनियोजन गरेको प्रमुख श्रेष्ठले जानकारी दिए ।
‘सम्पूर्ण फिडरको क्षमता बढाएसँगै कभर कन्डक्टरसहितको तार फेरिएपछि प्राविधिक चुहावट उल्लेख्य रुपमा न्यून हुने विश्वास लिएका छौं’, उनले भने ।

BUSINESS

नेपाल औषधि व्यवसायी संघ भक्तपुरको अध्यक्षमा भुसाल

Avatar

Published

on

By

नेपाल औषधि व्यवसायी संघ भक्तपुर जिल्ला शाखाका नवनिर्वाचित पदाधिकारीलगात । तस्बिरहरु : ईश्वरकाजी खाइजू/इन डेप्थ

भक्तपुर । नेपाल औषधि व्यवसायी संघ भक्तपुर जिल्ला शाखाको अध्यक्षमा नारायणप्रसाद भुसाल सर्वसम्मत भएका छन् ।
शाखाको शनिबार भएको प्रथम जिल्ला अधिवेशनले भुसालको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो ।
जसअनुसार समितिको उपाध्यक्षमा राजकुमार बुढाथोकी, महासचिवमा विनोदप्रसाद सापकोटा, कोषाध्यक्षमा दीपा बस्नेत, सचिवमा राम न्यौपाने र उपकोषाध्यक्षमा किरण माकजू श्रेष्ठ रहेका छन् ।
त्यस्तै सदस्यहरुमा कृष्णराज बुढाथोकी, सीताराम खाइतू र चेतन शाक्य सर्वसम्मत भएका छन् ।
नवनिर्वाचित अध्यक्षले जिल्लाका औषधि व्यवसायीहरुको हकहित संरक्षण गर्दै व्यवसायीहरुलाई एकजुट बनाई आइपर्ने समस्याहरु समाधान गर्न लागिपर्ने वचन दिए ।

उनले जिल्लाका सम्पूर्ण औषधि व्यवसायीहरुलाई गोलबद्ध गर्न लाग्नेसमेत बताए ।
उनका अनुसार जिल्लाका करिब चारसय औषधि व्यवसायीहरु छन् तर संघमा त्यसको आधामात्रै आवद्ध छन् ।
निर्वाचनअघि प्रदेश नं. ३ का सांसद शशिजंग थापाले शाखाको प्रथम जिल्ला अधिवेशन उद्घाटन गरेका थिए । औषधि व्यवसायीसमेत रहेका सांसद थापाले सर्वसाधारण उपभोक्ताहरुलाई गुणस्तरीय औषधिमात्रै बिक्री वितरण गर्न सुझाव दिए ।
‘अस्पताल टाढा रहेका तथा पहुँच बाहिर रहेका सर्वसाधारणको लागि घरआँगनमा खुलेका मेडिकल तथा फार्मेसी नै औषधोपचार पाउने पहिलो माध्यम हो’, सांसद थापाले भने, ‘त्यसैले हाम्रो सेवा विश्वसनीय, गुणस्तरीय हुनु आवश्यक छ ।’
कार्यक्रम प्रथम जिल्ला सम्मेलन तयारी समितिका संयोजक दिलकुमार दुवालको सभापतित्वमा भएको थियो ।

Continue Reading

BUSINESS

भक्तपुर नपाको बजेट २ अर्ब १३ करोड

Avatar

Published

on

By

आर्थिक वर्ष २०७६/७७ को लागि नपाको बजेट प्रस्तुत गर्दै भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी । तस्बिर : इन डेप्थ

पूर्वाधार र सम्पदा संरक्षण प्राथमिकतामा

भक्तपुर । भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि २ अर्ब १३ करोड १० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
भक्तपुर नपाको पाँचौं नगरसभामा उपप्रमुख रजनी जोशीले कूल बजेटमध्ये चालूतर्फ ९९ करोड ८० लाख अर्थात ४६.८३ प्रतिशत र पँुजीगततर्फ १ अर्ब १३ करोड ३० लाख अर्थात ५३.१७ प्रतिशत विनियोजन गरिएको बजेट प्रस्तुत गरेकी हुन् ।
बजेटमा बाह्य स्रोतबाट एक अर्ब २२ करोड २४ लाख र आन्तरिक स्रोतबाट ६२ करोड आय हुने प्रक्षेपण गरिएको छ ।
उपप्रमुख जोशीले आ.व. २०७६/७७ का लागि बाह्य स्रोतअन्तर्गत संघीय सरकारबाट सःशर्त अनुदान, वित्तीय समानीकरण, समपूरक र विशेष अनुदानवापत कूल ४८ करोड ६५ लाख आय हुने अनुमान गरिएको बताइन् । त्यस्तै प्रदेश सरकारबाट ५ करोड आम्दानी हुने अनुमान रहेको उनले सुनाइन् ।
बजेटमा विभिन्न शीर्षकमा राजश्व बाँडफाँट र मालपोत कार्यालयबाट कूल १३ करोड ८० लाख, सामाजिक सुरक्षा भत्तावापत १७ करोड ६५ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । साथै पूर्वाधार साझेदारी कार्यक्रम तथा सडक बोर्डमार्फत २ करोड रुपैयाँ आम्दानी हुने उपप्रमुख जोशीले बताइन् ।
उनका अनुसार भक्तपुर नपा ९ च्याम्हासिंहमा निर्माणाधीन छाती पुनःस्थापना केन्द्रका लागि जापानी अन्तर्राष्ट्रिय चिकित्सक तथा प्राविधिक संस्था (जिम्टेफ) बाट १ करोड १४ लाख आम्दानी हुने अनुमान गरिएको छ । नगरपालिकाद्वारा सञ्चालित आवास योजना समयमै सम्पन्न गर्ने हेतुले नगरपालिकाले यस वर्ष ऋण सहयोगवापत २५ करोड आम्दानी गर्ने लक्ष्य लिइएको उनले बताइन् ।

पूर्वाधार र सम्पदा संरक्षणलाई बढी बजेट

पाँचौं नगरसभामा मंगलबार प्रस्तुत गरिएको बजेटमा विकास निर्माण र सम्पदा संरक्षणको लागि सबैभन्दा बढी बजेट विनियोजन गरिएको छ । प्रस्तुत बजेटको कूल रकमको ७२ करोड ९१ लाख १० हजार अर्थात २४.२१ प्रतिशत रकम विकास निर्माण र सम्पदा संरक्षणको लागि छुट्याइएको हो ।
भक्तपुर पर्यटकीय गन्तव्यस्थल हो । यहाँका संरक्षित सम्पदा अवलोकन गर्न बाह्य पर्यटकहरु भक्तपुर भ्रमण गर्छन् । र, भक्तपुर नपाले पर्यटन सेवा शुल्कबाटै सबैभन्दा बढी आन्तरिक आय गर्दै आएको छ । साथै २०७२ सालको भूकम्पले क्षति पुराएका सम्पदाहरुमध्ये अझै मुख्य मुख्य सम्पदाहरुको जीर्णोद्धार एवं पुनर्निर्माण गर्न बाँकी छ ।

शिक्षा दोस्रो प्राथमिकतामा

भक्तपुर नपाले विकास निर्माण र सम्पदा संरक्षणपछि शिक्षा क्षेत्रलाई दोस्रो प्राथमिकतामा राखेको छ । उसले कूल बजेटको १४.४२ प्रतिशत अर्थात ३० करोड ७३ लाख ९६ हजार रुपैयाँ शिक्षा क्षेत्रको लागि विनियोजन गरेको छ । नपा आफैले दुइटा इञ्जिनियरिंग कलेजसहित ६ वटा शैक्षिक संस्था सञ्चालन गर्दै आएको छ । त्यस्तै आगमी आ.व.मा नगरको कुनै एक सामुदायिक विद्यालयलाई नमुना विद्यालयको रुपमा सञ्चालन गर्ने उद्देश्यसहित बजेट विनियोजन गरिएको उपप्रमुख जोशीले स्पष्ट पारिन् ।

बाल विकास सहजकर्तालाई मासिक ४ हजार थप पारिश्रमिक

त्यस्तै सामुदायिक विद्यालयहरुमा कार्यरत वालविकास सहजकर्ता (ईसीडी शिक्षक)हरुलाई भक्तपुर नपाले आफ्नै स्रोतबाट व्यहोर्ने गरी प्रतिव्यक्ति मासिक चार हजार रुपैयाँ थप पारिश्रमिक दिने गरी बजेटमा व्यवस्था गरिएको छ ।
उसले स्वास्थ्य क्षेत्रका लागि २५ करोड ५४ लाख ६२ हजार रुपैयाँ विनियोजन गरेको छ ।
आर्थिक अवस्था कमजोर भएका तर शैक्षिक स्तर राम्रो भएका जेहेनदार एवं मेधावी विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न सहयोग गर्ने हिसावले नगरपालिकाले शैक्षिक ऋण कोषको व्यवस्था गरेको छ । नयाँ आ.व.का लागि नगरपालिकाले उक्त कोषमा ४ करोड ९९ लाख ९० हजार रकम विनियोजन गरेको छ ।

भक्तपुर महोत्सव हुने

भक्तपुर नगरलाई आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि उत्कृष्ट गन्तव्यस्थल बनाउने उद्देश्यसहित आगामी वर्ष भक्तपुर महोत्वस आयोजना गर्ने भएको छ । त्यसका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । भक्तपुर नपाले पहिलोपटक सन् १९९८ मा भक्तपुर महोत्सव आयोजना गरेको थियो ।
नगरबासीको खानेपानी समस्या न्यूनीकरण गर्न भक्तपुर नपाले नगरका ठाउँ ठाउँमा भूमिगत पानीको स्रोत पहिचान गरी खानेपानीको व्यवस्था एवं खानेपानीको पाइप सुधारको लागि ३ करोड ८१ लाख बजेट विनियोजन गरेको छ ।
त्यस्तै युवा तथा खेलकुदको लागि ५ करोड ५७ लाख रुपैयाँ विनियोजन गरेको भक्तपुर नगरले पर्यटन पूर्वाधार विकासका लागि ४ करोड ८६ लाख ९० हजार, फोहर मैला व्यवस्थापन तथा वातावरण सुधारका लागि १३ करोड ५७ लाख ५० हजार, साँस्कृतिक प्रवद्र्धनका लागि २ करोड ३० लाख, कृषि तथा पशु सेवाको लागि १ करोड ६४ लाख र नपाका कर्मचारीहरुलाई खाजा खर्चवापत प्रतिव्यक्ति प्रतिमहिना पाँच सय रुपैयाँ थप सुविधा दिने गरी बजेटमा व्यवस्था गरिएको छ ।

Continue Reading

BUSINESS

सूर्यविनायक नपाले ल्यायो १ अर्ब ३० करोडको बजेट

Avatar

Published

on

By

आर्थिक वर्ष २०७६/७७ को लागि नपाको बजेट प्रस्तुत गर्दै सूर्यविनायक नगरपालिकाकी उपप्रमुख जूना बस्नेत । तस्बिर : इन डेप्थ

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को लागि एक अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
नगरपालिकाको पाँचौं नगरसभामा उपप्रमुख जूना बस्नेतले चालूतर्फ ११ करोड २८ लाख, सामाजिक सुरक्षातर्फ ८ करोड ९९ लाख, विषयगत शाखातर्फ ५ करोड १० लाख र ससर्त कार्यका लागि ३५ करोड ४३ लाख तथा पँुजीगततर्फ ६९ करोड २० लाख रुपैयाँ गरी कूल एक अर्ब ३० करोडको बजेट पेस गरेकी हुन् ।
उनले प्रस्तुत बजेटमा नगरपालिकाको आन्तरिक स्रोतबाट ४६ करोड ४६ लाख ७० हजार रुपैयाँ आम्दानी हुने अनुमान गरेकी छन् । त्यस्तै प्रदेश सरकारको समानीकरण अनुदानतर्फ एक करोड १३ लाख, प्रदेश सरकारको सशर्त अनुदानबाट १० करोड, नेपाल सरकारको समानीकरण अनुदानतर्फ २० करोड ३८ लाख र नेपाल सरकारको सशर्त अनुदानबाट २४ करोड ८३ लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।
नेपाल सरकार र प्रदेश सरकारको राजस्व बाँडफाँटको रकम १४ करोड १० लाख ३० हजार, सामाजिक सुरक्षा भत्ता रकम ८ करोड ९९ लाख र अन्य स्रोतबाट ४ करोड १० लाख रुपैयाँ आय हुने अनुमान गरिएको छ ।
प्रस्तुत बजेट चालू आर्थिक वर्षको तुलनामा १७० प्रतिशतले बढी भएको उपप्रमुख बस्नेतले जानकारी दिए ।
सूर्यविनायक नपाले चालू वर्षको लागि ७६ करोड ४५ लाख २७ हजार रुपैयाँको वार्षिक बजेट स्वीकृत गरेको थियो । जसमा चालू खर्चतर्फ ३९ करोड २४ लाख ४३ हजार र पूँजीगततर्फ ३७ करोड २० लाख २४ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।
आर्थिक वर्ष २०७६/७७ को पेस गरिएको बजेटमा वडातहको कूल बजेट १२ करोड ७० लाखमध्ये १२ करोड पुँजीगततर्फ र विषयगत शाखा लक्षित वर्गमा प्रत्येक वडाका लागि कम्तिमा ७ लाखका दरले ७० लाखको क्षमता विकास तथा विविध आयआर्जनका कार्यक्रमको लागि प्रस्ताव गरिएको छ ।
‘पूँजीगत बजेटको ठूलो हिस्सा पूर्वाधार विकासको क्षेत्रमा विनियोजन प्रस्ताव गरिएको छ’, उपप्रमुख बस्नेतले भनिन्, ‘आर्थिक वर्ष २०७६/०७७ मा समेत चालू आर्थिक वर्षमा जस्तै नगरपालिकाको स्रोतलाई ठूला पूर्वाधार विकासमा लगानी गर्ने नीतिअनुरुप प्रत्येक वडामा कम्तिमा १ वटा १ करोड रुपैयाँभन्दा माथिको योजना पर्ने गरी ११ करोड ५० लाख रकम विनियोजन गरेको छु ।’
नगरस्तरीय विभिन्न पूर्वाधार विकास आयोजनाहरुका लागि थप १० करोड ७० लाख रकम विनियोजन गरिएको छ ।
चालू आर्थिक वर्षको स्वीकृत बजेटअनुसार २०७६ को जेठ मसान्तसम्म चालूतर्फ २९ करोड ९१ लाख ५९ हजार ९ सय ८१ रुपैयाँ खर्च भएको उनले जानकारी दिइन् । पूँजीगततर्फ २८ करोड ३८ हजार १ सय ८० रुपैयाँ अर्थात ७६ प्रतिशत खर्च भएको उनले बताइन् ।
उनका अनुसार जेठभित्र वडास्तरीय पूँजीगत बजेटबाट जम्मा १४०, नगरस्तरीय ८ वटा ठूला पूर्वाधार, लागत साझेदारी ६०/४० का १३ वटा, अन्य ५० वटा गरी कूल जम्मा २११ वटा पूर्वाधार विकासका योजना सम्पन्न भएका छन् ।
उनका अनुसार जेठ महिनासम्म नपाले १२ करोड ८१ लाख ३ हजार ४ सय ५४ रुपैयाँ आन्तरिक आम्दानी गरेको छ । त्यस्तै घर जग्गा रजिस्ट्रेसन शुल्कवापत १५ करोड ४२ लाख १९ हजार २ सय ३२ रुपैयाँ संकलन भएको छ । चालू आवमा संघको राजस्व बाँडफाँटबाट ३ करोड १३ लाख ९९ हजार ५ सय ६७ रुपैयाँ, नगद लागत साझेदारीबाट एक करोड २० लाख, सामाजिक सुरक्षा भत्तावापत ६ करोड ५७ लाख ९० हजार, संघको समानीकरण अनुदानतर्फ १९ करोड ६१ हजार र प्रदेशको समानीकरण अनुदानतर्फ ९२ लाख ८२ हजार रुपैयाँ नपाले प्राप्त गरेको छ ।
त्यस्तै संघको सशर्त अनुदानवापत २१ करोड १ लाख २५ हजार, प्रदेश सरकारको सशर्त अनुदानबाट ८ करोड ११ लाख ८० हजार, सडक बोर्डबाट ३७ लाख ६२ हजार ६ सय सात, प्रधानमन्त्री रोजगार कार्यक्रमवापत ५४ लाख ८७ हजार, स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट एक करोड ५ लाख र अन्य आय २ करोड ४० लाख ९४ हजार गरी जम्मा रु. ९३ करोड २० लाख ४२ हजार आठ सय ६० रुपैयाँ नगरपालिकाको सञ्चित कोषमा आम्दानी दाखिला भएको उपप्रमुख बस्नेतले जानकारी दिइन् ।
उनले जेठ मसान्तसम्म नपाले गरेको आम्दानी स्वीकृत बजेटको १२२ प्रतिशत भएको दावी गरिन् ।
‘असार महिनामा थप १७ करोड ५४ लाख ३७ हजार सात सय २६ रुपैयाँ विभिन्न स्रोतबाट आम्दानी हुने अनुमान छ’, उनले भनिन्, ‘यस हिसाबले चालू आवमा नगरपालिकाको सञ्चित कोषमा एक अर्ब १० करोड ७४ लाख ८० हजार पाँच सय ८७ रुपैयाँ आय प्राप्त हुने अनुमान रहेको छ ।’

Continue Reading

BUSINESS

मासिक लाखौं बहाल उठाउने गुठी नै भाडाको घरमा

Avatar

Published

on

By

सूर्यविनायक नगरपालिका ६ सूर्यविनायकस्थित निजी घरमा रहेको भक्तपुर गुठी कार्यालय । तस्बिरहरु : ईश्वरकाजी खाइजू

भक्तपुर । गुठी संस्थान शाखा कार्यालय भक्तपुरले घरपसलको बहालमात्रै मासिक करिब ३६ लाख रुपैयाँ उठाउँछ । उसले भक्तपुर नगरभित्रका १४ वटा घर तथा पसल बहालमा लगाउँदै आएको छ ।
मासिक ३६ लाख रुपैयाँ बहाल आउने घर तथा पसल भएको भक्तपुर गुठीले आफ्नै कार्यालय भने बहालको घरमा सञ्चालन गर्दै आएको छ । वि.स. २०४८ सालदेखि भक्तपुर गुठीले निजी घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको हो । भक्तपुरका विभिन्न ठाउँमा सार्दै सार्दै आएको गुठी कार्यालय विगत पाँच वर्षदेखि सूर्यविनायक नगरपालिका ६ सूर्यविनायकस्थित एक निजी घरमा रहेको छ ।
मासिक २६ हजार रुपैयाँ तिरेर उक्त घरमा कार्यालय सञ्चालन गर्दै आएको कार्यालय प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए ।
उक्त घरको दुई तला गुठीले कार्यालयको रुपमा प्रयोग गर्दै आएको छ ।
भक्तपुर गुठीका अधिकांश घर तथा पसलमा पर्यटकीय रेस्टुरेन्ट तथा पसलहरु सञ्चालित छन् । दुइटा मठमा पुरातत्व विभागले राष्ट्रिय कला संग्रहालय सञ्चालन गर्दै आएको छ । दत्तात्रय क्षेत्रमा रहेको पुजारी मठमा काष्ठकला र चिकंफले मठमा धातुकलाको संग्रहालय सञ्चालन हुँदै आएको हो ।

पुरातत्वले दिएन बहाल

२०४१ सालमा पुरातत्व र गुठीबीच पाँच वर्षे सम्झौता भएर ती दुई मठमा संग्रहालय सञ्चालनमा ल्याइएको थियो । सम्झौतो सकिएको ३० वर्ष हुँदा पनि नवीकरण भने भएको छैन तर दुवै मठमा अहिलेसम्म संग्रहालय सञ्चालन हुँदै आएका छन् ।
त्यसबेलै मासिक ३२ हजार रुपैयाँ बहाल दिने गरी प्रयोग गरिएको दुई मठको हालसम्म एक रुपैयाँ पनि बहाल प्राप्त नभएको कार्यालय प्रमुख सुवेदीले जानकारी दिए ।
‘मासिक ३२ हजार रुपैयाँ घर बहाल तिर्ने गरी पुरातत्व विभागसँग २०४१ साल साउनदेखि २०४६ असार मसान्तसम्मको सम्झौता भएको देखिन्छ’, उनले भने, ‘त्यसपछि अहिलेसम्म सम्झौता नवीकरण केही भएको छैन । न सम्झौताबमोजिम बहाल पाइयो न त मठ नै प्रयोग गर्न छाडिएको छ ।’
उनले पुरातत्वसँग यस विषयमा धेरैपटक छलफल भए पनि केही समाधान हुन नसकेको सुनाए ।

एउटै मठको मासिक बहाल साढे २७ लाख

दत्तात्रय क्षेत्रस्थित जंगम मठ पाटीबाट भक्तपुर गुठीले बढी बहाल उठाउँछ । उक्त मठ पाटीमा सञ्चालित न्यू क्याफे डी पिककले महिनामा २७ लाख ५० हजार रुपैयाँ घरबहाल गुठीलाई बुझाउँछ । दुईतले जंगम मठ पाटी ६ आना २ दाम क्षेत्रफलमा बनेको छ ।


त्यस्तै टौमढी क्षेत्रस्थित ऐसामढी सत्तलमा सञ्चालित क्याफे न्यातापोलले मासिक पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ बहाल बुझाउँछ । दुई आना तीन पैसाको क्षेत्रफलमा तीनतले ऐसामढी सत्तल बनेको छ ।
भक्तपुर गुठीले पाँचतले मन्दिरको उत्तरपट्टि रहेको सिद्धि लक्ष्मी फूलबारीबाट मासिक ७७ हजार सात सय ७७ रुपैयाँ बहाल उठाउँछ । पाँचतले मन्दिरकी शक्ति देवी सिद्धिलक्ष्मीको दैनिक पूजाआजालगायतको लागि आवश्यक फूलको लागि ११ आना एक पैसा तीन दामको फूलबारी व्यवस्था गरिएको थियो ।
बिस्का जात्राको प्रमुख आकर्षण भैरवनाथ तथा भद्रकालीको रथका सामान राख्ने सत्तलसहितको उक्त फूलबारीमा हाल रेस्टुरेन्ट सञ्चालन हुँदै आएको छ । गुठीले टौमढी क्षेत्रकै भद्रकाली पाटी मासिक २३ हजार चार सय रुपैयाँमा बहालमा लगाउँदै आएको छ । त्यस्तै क्वाछें कुमारी द्योछें र आकाशभैरव नौबाजा भजन घर क्रमशः मासिक २१ हजार दुई सय चार रुपैयाँ र ३१ हजारमा बहालमा दिइँदै आएको छ ।
दत्तात्रयस्थित चिकंफले मठको भुई तला मासिक २२ हजार दुई सय २२ रुपैयाँमा बहालमा लगाइएको छ । मासिक ३० हजार एकसय ११ रुपैयाँमा दत्तात्रयकै गोदावरी मठ र मासिक २१ हजार दुई सय चार रुपैयाँमा भीमसेन पाटी बहालमा दिइएको छ ।

भवनको नक्सा तयार

प्रमुख सुवेदीले भक्तपुर गुठीको आफ्नै भवन बनाउन नक्सा तयार गरिसकेको जानकारी दिए । उनका अनुसार नक्सापासको लागि भक्तपुर नगरपालिकामा पेस गरिएको छ ।
२०४८ अगाडिसम्म भक्तपुर दरबार क्षेत्रमै गुठीको आफ्नै भवन थियो । आठ आना क्षेत्रफल रहेको उक्त जग्गामा बनेकै भवनमा गुठीको कार्यालय रहेको थियो । २०४५ सालको भूकम्पले भवनमा क्षति पु¥यायो । भूकम्पले क्षति पु¥याएको भवन २०४८ सालमा जगैसम्म भत्काइयो ।
‘भवन पुनर्निर्माण गर्ने उद्देश्यले त्यसबेला जगैसम्म भत्काइयो’, कार्यालय प्रमुख सुवेदीले भने, ‘तर भवन बनाउन सकिएन ।’
बहालमा लगाएको अधिकांश घर तथा पसल कार्यालय सञ्चालन गर्न अपुग रहेको प्रमुख सुवेदी जिकिर गर्छन् । त्यसैले कार्यालय निजी घरमा बहालमा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनको स्पष्टोक्ति थियो ।
उनले भक्तपुर नपाबाट नक्सापास भएलगत्तै भवन बनाउने तयारीमा कार्यालय रहेको जानकारी दिए । तर भक्तपुर नपाले सम्पदा क्षेत्रको मापदण्डविपरीत नक्सा बनाएकाले तत्काल पास गर्न नसकिने जनाएको छ । नपाको नक्सा शाखा प्रमुख इञ्जिनियर ओमहरि थाका अनुसार भक्तपुर दरबार क्षेत्रलगायत सम्पदा क्षेत्रमा ३५ फिटभन्दा अग्लो घर तथा भवन बनाउन पाइँदैन तर गुठीले त्यसभन्दा अग्लो घरको नक्सा पेस गरेको थियो ।
त्यसमाथि गुठी भवनसमेत ऐतिहासिक सम्पदा भएकाले पुरानै स्वरुपमा साविक बमोजिम भवन बनाउनुपर्ने नपाको जोड रहेको उनले सुनाए ।
गुठीले भवन नबनाउँदा २०७२ साल वैशाख १२ को भूकम्पअघिसँगै खाली रहेको जग्गामा अहिले स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले अस्थायी संरचना बनाएर सम्पदा पुनर्निर्माणका लागि आवश्यक निर्माण सामग्री भण्डारण गर्दै आएको छ ।

Continue Reading

BUSINESS

भक्तपुरमै अन्तर्राष्ट्रियस्तरको स्वीमिङ पुल सञ्चालन

Avatar

Published

on

By

शनिबारदेखि सञ्चालनमा ल्याइएको भादगाउँ स्पोर्टस् एण्ड लिजरको स्वीमिङ पुल । तस्बिरहरु : ईश्वरकाजी खाइजू

भक्तपुर । भक्तपुरमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको स्वीमिङ पुल सञ्चालनमा ल्याइएको छ । अन्तर्राष्ट्रियस्तरको प्रतियोगितासमेत गर्न सकिने गरी भादगाउँ स्पोर्टस् एण्ड लिजरले उक्त स्वीमिङ पुल शनिबारदेखि सञ्चालनमा ल्याएको हो ।
उक्त पोखरी अन्तर्राष्ट्रिय मापदण्डअनुसार ५० फिट चौडाइ र ८० फिट लम्बाइ रहेको छ । भादगाउँले भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलमा एक करोड ८० लाख लगानीमा उक्त स्वीमिङ पुल निर्माण गरेको थियो ।
भादगाउँ स्पोर्टस् एण्ड लिजरका अध्यक्ष रविनारायण कायस्थले मनोरञ्जनसँगै प्रतियोगितासमेत गर्ने लक्ष्य लिएर स्वीमिङ पुल सञ्चालनमा ल्याइएको जानकारी दिए ।
‘एक हप्ताको परीक्षणपछि शनिबारदेखि स्वीमिङ पुल सर्वसाधारणको लागिसमेत खुला गरेका छौं’, उनले भने, ‘स्वीमिङ पुलको लागि पानी शुद्धीकरण प्रणाली जडान गरेका छौं । जसले गर्दा पौडी खेल्दा आँखा पोल्ने तथा एलर्जी हुनेछैन ।’
उनका अनुसार पौडी पोखरीमा एकैपटक दुईसय जनासम्मले मनारेञ्जन लिन सक्छन् । जहाँ तीन देखि आठ फिटसम्मको गहिराइ छ । त्यस्तै डेढ फुट गहिराइ भएको बच्चाहरुको छुट्टै पौडी पोखरीको व्यवस्था गरिएको छ ।
‘पौडी पोखरीसँगै ज्याकुजी, साउना बाथ र स्टीम बाथको व्यवस्था गरेका छौं’, भादगाउँका सञ्चालक उत्तम थुसाले थपे, ‘यहाँ पौडी खेल्ने आउनेहरुको सुविधाको लागि स्वीमिङ कस्टम, ट्युबलगायत सबै पाइने व्यवस्था गरेका छौं ।’
पौडी पोखरी सञ्चालनमा ल्याउनुअघि नै भादगाउँले लनटेनिस र ब्याडमिन्टनका दुईदुईवटा कोर्ट सञ्चालनमा ल्याइसकेको छ । दुवै कोर्ट रात्रीकालीन समयमा समेत सञ्चालनमा ल्याउन सकिने गरी बत्तीको व्यवस्था गरिएको अध्यक्ष कायस्थले जानकारी दिए ।


लन टेनिस वा ब्याडमिन्टनका खेलाडीहरुको मागअनुसार पौडी पोखरी सञ्चालनमा ल्याएको उनको भनाइ थियो ।
उसले सर्वसाधारणको लागि प्रतिदिन चार सय रुपैयाँ शुल्क राखेको छ । १२ वर्षमुनिका बालबालिकाको लागि भने तीनसय रुपैयाँ लाग्नेछ । त्यस्तै स्कुलका विद्यार्थीहरुको लागि एकसय पचास रुपैयाँमा पौडीको मज्जा लिन सकिने व्यवस्था गरिएको भादगाउँले जनाएको छ ।
करिब आठ रोपनी क्षेत्रफलमा फैलिएको भादगाउँ स्पोर्ट एण्ड लिजरमा बालबालिकाको लागि फनपार्कसँगै सेमिनार हलसहितको रेस्टुरेन्टसमेत सञ्चालनमा ल्याइएको छ । भादगाउँमा अध्यक्ष कायस्थका अनुसार करिब दुईसय जना क्षमताको सेमिनार हलसहितको रेस्टुरेन्ट सञ्चालनमा आइसकेको छ ।
उनले अबको ६ महिनाभित्र होटलसमेत सञ्चालनमा ल्याइने जानकारी दिए ।
‘भवनसहित थप नौ रोपनी क्षेत्रफल जग्गा भाडामा लिने सम्झौता भइसकेको छ’, उनले भने, ‘उक्त भवनमा ४० वटा कोठा व्यवस्था गर्दैछौं । जहाँ पार्किङको लागि प्रशस्त ठाउँ रहेको छ ।
सुरुमा दुई करोड रुपैयाँबाट लगानी सुरु गरिएको भादगाउँ स्पोर्ट एण्ड लिजर अहिलेसम्म नौ करोड पुगेको बताइएको छ ।

Continue Reading

Trending

Copyright © 2018 www.indepth.com.np. सर्वाधिकार सुरक्षित | E-mail: eindepth@gmail.com | Contact : 9841273000 | Regd. No. : 143065-072/073 | Design & Host By SITEMANDU